म गर्मिलो अनुहार लिएर
साँसारिक कल्पनाको अनुग्रहमा
प्रियजनहरूको प्रतिक्षारत
आफ्नै ढोका बाहिर
गुलावका फुलहरू विदछ्याउँदै
आँखा भरि–भरि तरङ्गित सपना सजाएर
सुन्दरताको आयातित किरणहरूसँगै
मान्छे, मान्छेको स्वागतमा छटपटाउँछु
तर मान्छे
मेरो पर्खाई निचोरेर
अन्त, कतै भूलभुलैयामा
हराईरहन्छन/ बिलाईरहन्छन् ।
अथाह सगरको गहिर्याईमा
क्षितिजबाट मेरो सपना उडाउन
एक झुप्पा हावा बादलसँग पैठोजोरी खेल्छ
एकैछिनमा,
मेरै आँखा अगाडि अदृश्य हुन्छ
अनि
मेरो सपनाहरूको परिवर्तनसँगै
उज्ववल सपना प्रस्फुटिट गराउन
आँखै अगाडि
सुन्दर यौवना फूलहरू
हरेक अपरिभाषित रङगहरूमा तैरिन्छन्
अगाडि मात्रै विलाएको
स्पर्शविहिन हावाको त्यो चिसो झोँक्का
पूर्ण यौवनमा लहराईरहेका फूलहरूमा
सजिलै चुप्पा म्वाईँ खाएर जान्छ
तर मान्छे
उहि लज्जा लिएर
आफ्नै कल्पनामा हराईरहन्छ/विलाईरहन्छ ।
कस्ले भन्छ म म होइन
कस्ले भन्छ म मान्छे होइन
तर यो बकवास सँसारको विकल्पमा
म धर्ती कोपरेर हिरा निकाल्छु
म सागरमा डुबेर मोती निकाल्छु
तैपनि
मेरो मानसपटलमा
ढुङ्गा र माटोको यो धरातल
हावा र पानीको अक्सिजन
सबै सबै परीक्षण जस्तो लाग्छ
म किनार छामेर गहिर्याई निकाल्छु
बालुवामै धर्तीको वजन देख्छु
र त मान्छे
समयसिद्ध विज्ञानमै हराउँछन्
अभौतिक कल्पनामा बिलाउँछन् ।
आकाशीय सूर्य समयसिद्ध तापमान हो,
पारदर्शी प्रकाशले पृथ्वी जगमगाउँछ…
यो भन्दा अर्को कुन प्रवाह छ त्यस्तो
जस्ले यो सँसार बेरिरहेको हुन्छ?
भौतिकवादी पर्खाल भित्र बसेर
निर्माणधिन शहरको कल्पना गर्दै
समय समाप्तिको ग्यालरीमा उर्जा भर्न
मन्त्रमुग्ध सँगीतको लहरमा लहराउँछु
समयको दायराबाट माथि उठेर
सँसार जित्ने अघोषित कल्पना गर्छु
तर मान्छे
पुस्तकका जेलहरूमा
इतिहाँस र विज्ञानको पुस्तकालय पल्ट्याएर
अदभूत भौँतारिईरहन्छन् ।
शुद्ध शान्तिसिद्ध विश्वासमा
मानवियताको वकालत गर्ने हो भने
मृत्यु त एक अहँकारको समाप्ति मात्रै हो
यहि समाप्तिको पश्चाताप बोकेर
सधैभरि मान्छे तर्सिरहन्छ
तर म साँसारिक मुक्तिको प्राप्तिमा
हावा खान्छु, हावा निल्छु
हो, म हावा खान्छु, निल्छु/ओकल्छु
हावामै हाम्फाल्छु, उचालिन्छु/पछारिन्छु
र त भन्छु
एकपटक आफ्नै विश्वासमा त हेर
आफैमा ओतप्रोत यो सँसारमा
कुनै प्राणको बलिदान छैन
जीवन कहिल्यै समाप्त हुदैन ।
जीवनको कहिल्यै समाप्ति छैन ।
धेरै भो कविता नकोरेको, आज कविता दिवस परेकाले पनि यहाँहरूलार्इ यहि कविता मार्फत कविता दिवसको शुभकामना भन्न चहान्छु ।
sabhaar from FB
हरि माननधर “विवश”
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल ।