– कोइँचबु काःतिच (उत्तम)
अस्ति नै अर्थात् असोज १३ गते फाचेको यात्रा गरेको १५ दिन पछाडि, सुनुवार सेवा समाजका एक सक्रिय सदस्य, आम युवा पुस्ताका उदाहरणीय कोइँच युवा, फाचे फेअ क्युप्शा अलि पर झाँक्रेखोलको किनारमा आड लागेर उभिएको रेब–ख्लुम्जका दुर्बिच जीवनको शुभ विवाहको निम्तो मान्न विहान ४ बजे नै २०७५ असोज २७ गतेका दिन हुइँकिएँ । हुइँकिएँ भन्नु मात्र पैतो सारियो । विहानै मोटरसाइकाल हाँक्नुपर्दा मात्र थाहा भयो, काठमाडौंमा अब जाडो पसे छ ।
सर्ट, स्वीटार, चेस्टगार्ड, ज्याकेटले छेकेन जाडोलाई । कोटेश्वर, सुनुवार सेवा समाजको भवनमा पुगेर छातीमा कपीको गाःता लगाएपछि मात्र प्रति घण्टा २५, ३० कि.मि.को दरले भट्भटेको कान निमोठ्न सकेँ । भकुण्डे बेँसी पुग्दा छ्याङ्ङ आकाश खुल्यो र हामीले खाजा खायौं । दशैंको मौका वीपी राजमार्ग पनि पृथ्वी राजमार्गभन्दा फरक लागेन । मच्चिएर कान बटा¥यो बाक्लै गाडी उछिन्न डर लाग्छ । घ¥याप्पै पारे भने ? उर्वरक रोशीको नागबेली घुम्ती, चिसो सिरेटोमा विस्तारै गुड्नु रहर नहुँदा नहुँदै पनि यात्रा एक तमासले नापीरहेको थिएँ । नेपालथोक पुगेर सुनकोशीमा सम्मिलित रोशीले आफ्नो उर्वर वैंश र गुणलाई निस्तेज पारीसकेको थियो मानौं रोशीले पनि आदिवासी कोइँच भोगाई भोगीरहेछ । रोशीको पहिचान यहीबाट सकियो जतिसुकै उर्वरशक्ति र विविधताको सौन्दर्य भए पनि ।
सुनकोशी अर्थात् विहारको दुःखको मतियार, पच्छाउँदै सेलेघाट छलेर खुर्कोटबाट पारी रामेछाप फड्कीएँ । उहिले हो भने माझीको सहारा नलिइ मैले रामेछाप जानु कल्पना बाहिरको कुरा थियो । फेरि सेलेघाट सुनकोशी तामाकोशी दोभानबाट मन्थली हानिएँ । बल्ल मन्थली पाँच घन्टा लगाएर पुगेँ । अघि विहान चिसो थुर्थुरी कमाएको ज्यान गर्मीले हाप्हप्ती गर्मीले पसिना चुह्यो । मन्थलीमा अल्मलिने कुरै भएन । नौ बजे छ, खिम्तीमा खाना खाएँ । अब भने ज्यान भारि भयो । यसो भनौं ब्लिःताङ । अनि खिम्ती १ जलविद्युतको पावर हाउसको छेवैबाट उकालो, भोर्लेनेतिर लागेँ । कच्ची बाटो । १४ दिन अगाडि फाचेबाट फर्किँदा यही बाटोमा डराइ डराइ पाम र अमृतले मोटरसाइकल ओरालेका थिए । यसैले फाचे जाने छोटो भोर्लेनीको बाटोप्रति मेरो शंका थियो– मलाई उकालो जान यो बाटोले छेक्ने पो हो कि । तर, भक्तापुर सुसेस सचिव लेखबहादुरले, ल भेना फिलिलि छ, रिम्शो । गो मेलान् पिशो १२ बजे जाअशो भनेपछि यतै उकालो लाग्ने आँट गरेँ । यो दुइ सय मिटर अप्ठ्यारो कटाएँ भने त माथि सजिलै उकाल्छु खटेरोलाई मनमनै सोचेँ । अनि दुईटा मनलाई ग्याअ–फ्लिाप्शा उकालो लागेको अस्तिको बाटो त डोजर लगाएर सम्माएको रहेछ । शायद दशैंको लागि होला । धन्य उपभोक्त समिति ! मन मनै धन्यवाद टक्राएको मात्र के थिएँ, घुम्तीमा कमेरे पानी रसाएको रहेछ । बङ्लाङ्गै उत्तानो परेँ । र, बल्ल बल्ल ठस्ठस कनीकनी भट्भटे उठाएँ र सकी नसकी खेटेटे आवाजसहित उकालो उकालिएँ । मनमा कम्त त डर छैन । १२ बजे पुगिन्छ त भनेको छन् लेखबहादुरले । के गर्ने होला ? मन मनै कुरा खेलीरहेको छ । शायद आपत पर्दा आमा र पितृ सम्झिने र यदि कतै भगवान् छन् भने उनैलाई सम्झिने रहेछ मान्छेले । मैले पनि भित्रभित्र पुकार गरेँ । यो बाटो रमिता हेर्दै हाइकिङ जाने हो भने कम्त त आनन्दको ठाउँ होइन, उता देविटार फाँट तामाकोशी लमतन्न उँधै उधो आएकी छिन् । यता दक्षिणतिर खिम्तीबेँशी मज्जाले छाती टाँगेर घाममा सेकाएकी छिन् । विसाएर रमिता हेर्नु त मन छ नि । के गर्नु म जिरी ९ रेब–ख्लुम्ज पुग्नु छ । मनको पिरालोसँग सँगै भोर्लेनी टुप्पामा पुगेर भिरकोटबाट भगाँलो फाटेको बस हिड्ने बाटो भेटेपछि भने मन ढुक्क भो । इनर्जी ड्रिंक रेडबुल एक घुट्को मै घुट्काएँ । र हाँकिएँ गोगनटार माथिबाट च्यामा हाँबातिर । उहिले शहरे, गोगनटार जिउँदो मयुर समात्ने शिकार क्षेत्र थियो बेतालीका हाल्वाली क्याःब मुखियाहरुको । त्यसरी समातेको मयुर राणाहरुलाई बुझाउनु पर्ने बताउनुहुन्छ तत्कालिन मुखियाका नाति देवीबहादुर सुनुवार हल्वाली । अहिले उक्त गाउँ टारमा सुनुवारको स पनि पाइन्न ।

जे होस् बाटोको दुःखभन्दा पनि फाचे, जिम्जापका कोइँचमा जागेको साँस्कृतिक तथा राजनीतिक चेतलाई सलाम ठोकियो । दुर्विच जीवन र जाङमु शेर्पाको शुभ–विवाहको वहाना एउटा थियो तर छलफल भने कोइँच मानवाधिकारको भयो । जल, जमीन, जंगलमा आदिवासी जनजातिको मानवाधिकार हनन् भइरहेको छ, कसरी मानवाधिकारको रक्षा गर्ने ?

जेसुकै होस् अन्धधुन्दा कच्ची बाटो । बल्ल धुलोमा लुट्पुटिँदै देउराली पुगेँ । सुनुवार सेवा समाजका अध्यक्ष भवनी सुनुवारको दाई, लाहुरे जुँगे बाजेलाई रेब–ख्लुम्ज जाँदा भट्भटे कहाँ राख्ने भन्ने परामर्श लिएँ । उहाँकै सल्लाहमा यातोलिमा फुयाँल बाजेको घर माथि फापार बारी नै बारि जताभावि गुडाउँदै कोदो बारीमा राखेँ र नेपाली सेना फुयाँल बाजेलाई छोपछाप गर्ने र बेलुकी हेरचाह गर्ने जिम्मा दिँदै धुलै धुलो कपडा फेरेर पारि रेब–ख्लुम्ज लागियो । दिउँसोको ठ्याक्कै १२ बजेको रहेछ । लेखबहादुरले ढाँटेन छन् । यातोलीबाट झाँक्रेखोला तरेर रेब–ख्लुम्ज दुर्विच जीवनको घर पुग्न १० मिनेट लाग्ने रहेछ त्यहीँका गाउँलेहरुलाई । तर हामीलाई २५ मिनेट लाग्यो ।
हामीलाई सबैले क्वार्तिक्वार्ति हेरे छक्क परेर । काठमाडौंदेखि विहे खाना दोलखा जिरी नगरपालिका ९, रेब–ख्लुम्ज आइपुगेको देख्दा सबै छक्क पर्नु स्वभाविक थियो । विहेमा आफन्त घरगाउँलेको भीड बारीभरि छरपस्ट थिए । तीनचार घरमा रातम्मे कोइँचहरु । सबै आफ्नो साँस्कृतिक पोशाकमा सजिएका । सानो नानीदेखि बृद्धबृद्धाहरुसम्ममा आफ्नो भेषभूषा र भाषाप्रति अचाक्ली चेत देखिन्छ, कोइँच कुम्सो तापेन यो ।
वास्तवमा हामी संस्थागत प्रतिनिधित्वको लागि गएका थियौं । २६ गते बेलुकी स्वयम् बेहुला दुर्विच जीवन सुसेस संघीय समितिको एउटा न एउटा प्रतिनिधि त आउनु प¥यो नि भनेपछि हामी बाध्येता भयो । हामी पुग्यौं । राम्रै ग¥यौं भन्ने लाग्यो । सबैसँग चिनजान भो । त्यति मात्र कहाँ हो र, २०४८ सालमा एसएलसी दिने साथीहरु मध्येका गोपाल सुनुवार त दुर्विच जीवनकै लोखन्दे बनेर सेतो फेटा बाँधेर बसेका रहेछन् । दुर्विच जीवनको विवाह भन्नु मात्रै, उहिलेका एसएलसी दिने साथीहरु निरा सुनुवार, नविन (टंक) सुनुवार, थलेन्द्रराज सुनुवार (थरासु) र गोपाल सुनुवारसँग भेटघाट भो । जीवनको विहेमा धुलो उडाएर नाच्छु भन्ने साथीहरु काठमाडौंबाट गएका हामी (लेखबहादुर, लालबहादुर, दिपक तुनिच, सारा तुनिच, शोभा जुलियट, अरुण कोर्मोच, सागर जिजिच र म) साथै पाँचथरबाट आएका रोमन लास्पाच सहित छरछिमेकी आफन्तहरु दिनमा त नाच्यौं नाच्यौं, रात छिप्पिँदासम्म मच्ची मच्ची नाच्यौं– इर इर ताँबे चुइँचिमि सेरेम फु बोइत्त होर्होर पा…।
हिजो रातीसम्म नाचगीतले होला म निद्रैमा रहेछु । मसँग सुत्ने अरुण कोर्मोच उठेर हिडीसकेछन् । लेखबहादुर, लालबहादुर आएर को सुतेको हो भनेर कम्बल हटाउँदा पो विहान भएको थाहा पाएँ । विहान उठेर रमिता हेर्दा त वरिपरि हरियो जंगलले घेरेको रेब–ख्लुम्जको आफ्नै दुनियाँ रहेछ । हिजो बिहेको रन्कोमा खासै यताउता रमिता हेर्ने फुर्सदै भएन । यसैले सुर्योदयसँगै रमितामा रमाएँ । घरबारीमा हरिया कल्कलाउँदो साग बनेको तोरी बारी रहेछ । फापर फुलेर सेतम्मे । गरा गरा रेब–ख्लुम्जको पुच्छारमा छाङ–छाङ झाँक्रे खोला बगीरहेको थियो । चराहरुको चिर्विरको प्राकृतिक संगीतको रसास्वदन लिँदै हेर्दा पारि राशनाइलु सुन्दर देखिन्थ्यो । ताँबेडाँडाबाट अरुणोदयको कलिलो किरण आँखा आँखामा परावर्तन गर्दा साँच्चिकै स्वैर–कल्पनाको स्वर्गमा विचरण गरे झैं लाग्यो । तै हामी काठमाडौं फर्किनु थियो । अरुण, रोमन, दिपक विहानै म उठ्दा नउठ्दै देउराली हिँडीसकेका थिए । लालबहादुर छिटो हिडौं भन्न लाग्नुभयो । तै पनि गौथले जिम्जाप राजेन्द्र, जिजिच सागर, शोभा जुलियटसँग साँस्कृतिक तथा सामाजिक विचलनको कारण र समाधानको कुरा भए । बेलुकी बेहुलाको दिदी सुसेस तामाकोसी अध्यक्ष, दोलखाका कोषाध्यक्ष गोपाल सुनुवारका जीवनसंगिनीसँग पनि फाचे, जिम्जापको कोइँच संस्कृतिमा आएको विचलन वारे गहन छलफल भएको थियो ।
हिजो छोरीचेली कोसेली र दाजुभाइले ल्याएको सरियो शोब्ले खाजा खाएपछि मन नमानी नमानी हामी बाटो लाग्यौं । यातोलीमा थन्काएको मोटरसाइकल अर्थात भट्भटे निकाल्दा विहान विहानकै साइतमा चिप्लेर लडीपठाएँ । ज्याकेट नै च्यातियो । मान्छेको मन न हो शंका उपशंका भित्रभित्रै उकुसमुकुस उब्जियो । कसरी काठमाडौं पुग्ने ?
देउरालीमा दोलखाको शाँदार ग्योर र कोइँच सुनुवार संग्रहालय अवलोकन गरेर । शिव (केदारराज) याअ्ता भन्दै हुनुहुन्थ्यो पोहर साल पाँच लाख बजेट छुटेको थियो । यो वर्ष १० लाख बजेट परेको छ । त्यतिले त पुग्दैन अलि थप्ने कुरा छ । उता जुँगे बाजे भन्दै हुनुहुन्थ्यो खिम्ती २ जलविद्युतले त हामीलाई धेरै क्षति पुराउने भयो । कहिले आउने ? आइएलओ महासन्धि १६९ अनुसार हाम्रो मानवाधिकार सुनिस्चित हुनुप¥यो । एफपिक भएको छैन । खिम्ती १ ले पनि मेरो खानेपानीको मुहान मास्यो । अहिले अर्काको मुहान किनेर पानी खाइरहेको छु ।
उहाँहरुको हार्दिकतासँगै हिजो आएको भोर्लेनीको ओरालो सम्झिँदै नेपाल खाल्डोतिर बाटो सोझायौं । जे होस् बाटोको दुःखभन्दा पनि फाचे, जिम्जापका कोइँचमा जागेको साँस्कृतिक तथा राजनीतिक चेतलाई सलाम ठोकियो । दुर्विच जीवन र जाङमु शेर्पाको शुभ–विवाहको वहाना एउटा थियो तर छलफल भने कोइँच मानवाधिकारको भयो । जल, जमीन, जंगलमा आदिवासी जनजातिको मानवाधिकार हनन् भइरहेको छ, कसरी मानवाधिकारको रक्षा गर्ने ?

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *