काठमाडौँ । विगतका वर्षमा जस्तै यो वर्ष पनि नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६२औँ वार्षिकोत्सवका अवसरमा वार्षिकोत्सव समारोहसँगसँगै राष्ट्रिय कविता महोत्सव–२०७६ को आयोजना सम्पन्न ग¥यो ।
पानसमा दीप प्रज्वलन गर्दै प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री माननीय ईश्वर पोखरेलले महोत्सवको समुद्घाटन गर्नुभएको थियो । महोत्सवलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली वाङ्मयको समग्र विकासका सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रको समृद्धिमा साहित्यको अहम् भूमिका रहने धारणा व्यक्त गर्नुका साथसाथै ‘जीवन’ र ‘मृत्यु’ शीर्षकका कविता समेत वाचन गर्नुभएको थियो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै साहित्यको सुरुवात काव्यबाटै भएको उललेख गर्दै साहित्यिक समृद्धिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भाषा, साहित्य, कला र संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न सक्दैन । तसर्थ, राज्यले यस क्षेत्रका लागि विशेष ध्यान दिनुपर्दछ ।”
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि वैरागी काइँलाले राष्ट्रिय कविता महोत्सवलाई सरकारले उचित महत्व दिँदैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविता प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई राष्ट्र प्रमुखबाट पुरस्कृत गरिनु राज्यले कविताप्रतिको प्रकट गरेको ठूलो सम्मान हो ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रिय कविता महोत्सवको महत्वबारे प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठानले सातवटै प्रदेशका भूगोल, साहित्य, कला, संस्कृति, दर्शन जस्ता विषयलाई समेटेर ‘नेपाल दर्पण’ नामक महाग्रन्थ तयार पार्न लागेको बताउनुभयो । उहाँले काठमाडौँमा आगामी अक्टोबरमा चीन–दक्षिण एसियाका सबै राष्ट्रलाई समेटेर साहित्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले साहित्यको प्रवद्र्धनका लागि प्रतिष्ठानले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपालका विविध भाषा, संस्कृति तथा सम्पदाका बारेमा प्रतिष्ठानले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने दाबी गर्नुभयो ।
राष्ट्रिय कविता महोत्सवका संयोजक काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविता महोत्सवको प्रतिवेदन प्रस्तुत गर्दै कविप्रतिभाको प्रस्फुटन र काव्यिक उन्नयनका लागि प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव सदैव आकर्षणको केन्द्र बन्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस वर्षको कविता महोत्सवमा देश तथा विदेशमा रहेका कविहरूबाट ३ सय ४० वटा कविता प्राप्त भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यसबाट निर्णायक समितिले ३१ वटा कविता वाचनका लागि छनौट गरेको हो । र, वाचित कवितामध्येबाट प्रथम एक, द्वितीय एक र तृतीय तीन गरी पाँच वटा कवितालाई पुरस्कृत गरिने छ ।” काव्य विभाग प्रमुख प्रा.डा. पौडेलले यस वर्षबा वाचनकलाका लागि समेत नम्बर जोडिने प्रस्ट पार्नुभयो ।
समुद्घाटन समारोह कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा प्रतियोगी कविहरू कल्पना काफ्ले, प्रकाश सिलवाल, अश्विन समीप, कविता राई, उषा आचार्य, छविलाल आचार्य, कुवेर खड्का, गरिमा शाह, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, तीर्थराज जोशी, तीर्थराज भट्ट, दीपक यात्री, देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, रमेश पौडेल, रेजिना आपागाईं, भुवन शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा र हीरा भट्ट, प्रकाश बस्नेत ‘गफाडी’, प्रज्वल अधिकारी, बालकृष्ण लम्साल, शान्ति शर्मा, हेम प्रभास, सुभाषचन्द्र भण्डारीले कविता वाचन गर्नुभएको थियो ।
महोत्सवमा वाचित ३१ कविहरूमध्येबाट यस वर्षको राष्ट्रिय कविता महोत्सवमा धादिङका हेम प्रभासको ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रथम भयो । त्यसैगरी, डोटीका सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरू’ शीर्षकको कविता द्वितीय भयो । त्यस्तै, लमजुङका प्रज्वल अधिकारीको ‘पाठशाला’, काठमाडौँका प्रकाश बस्नेत गफाडीको ‘इन्द्रधनुष’ र सोलुखुम्बुका शान्ति शर्माको ‘उज्यालोको गीत’ शीर्षक कविता तृतीय भए ।
यस वर्ष काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल संयोजक तथा प्राज्ञ सभा सदस्य डा. गीता त्रिपाठी र कवि प्रह्लाद पोखरेल सदस्य रहेको तीन सदस्यीय कविता मूल्याङ्कन समिति गठन गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीबाट आरम्भ भएको कविता वाचन कार्यक्रममा अतिथि कविहरू अशेष मल्ल, मित्रलाल पंगेनी, सरल सहयात्री, शम्भुकुमार मिलन, बाबा बस्नेत, नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, अनिता लामा, विधान आचार्य र केशव सिलवालले अप्रतियोगी कविता सुनाउनुभएको थियो ।
कविता वाचन सत्रको सभापतित्व वरिष्ठ कवि प्रा. घनश्याम कँडेलले गर्नुभएको थियो भने कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।
२०२२ सालदेखि सुरुभएको राष्ट्रिय कविता महोत्सव २०७६ सालसम्म आइपुग्दा ५० औँ संस्करण सम्पन्न भएको छ भने ५० जना कवि प्रथम, ५० जना कवि द्वितीय १५० जना कवि तृतीय हुनुभएको छ । यसरी जम्मा २ सय ५० जना कवि प्रज्ञा–प्रतिष्ठानबाट पुरस्कृत भइसक्नुभएको छ ।
कविता महोत्सवको समापनमा प्रतियोगितामा सहभागी कविहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कविता महोत्सवको अघिल्लो दिन असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ विषयक काव्य विमर्श आयोजना गरिएको थियो । डा. विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा. हेमचन्द्र नेपाल, सुरेश किरण र ज्योति जङ्गलले परिपूण समीक्षा गर्नुभएको थियो । प्राज्ञ सभा सदस्य रमा शर्माको अध्यक्षतामा सम्पन्न विमर्श कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला, उपकुलपति डा। जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले समकाीलन नेपाली कवितामा समावेशी स्वरबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम राधा कार्कीले सञ्चालन गर्नुभएको थियो ।
तर यसवर्ष पनि प्रतियोगिता भने विवादरहित हुनसकेन । धेरै कविहरुले छनौटप्रति असन्तुष्टि व्यक्त गरे । तर नेपाल प्रज्ञा प्रतिष्ठानका काब्य विभाग प्रमुख हेमनाथ पौडेलले एक युट्युब च्यानाललाई अन्तर्वाता दिँदै कविहरुको आरोपको अस्वीकार गर्नुभयो, “विवाद आएको मात्रै हो । यस पटकको प्रतियोगिता वैज्ञानिक तरिकाले गरेको हो । कविता राम्रै हो । छनौटमा नपरेकाहरु र पुरस्कृत नहुनेहरुले आरोप लगाउँछन्।”
Photo Credit : Nepal Academy