–शोभ सुनुवार ‘जुलियट’
तल्ला घरे बकाइँलाकहाँ बोलावट आयो–
‘कान्छी !
एक छिन गफ लाउन आउ है,
एक मुठ्ठी तरन अनि एक फाँको छोप खाउँला ।’
हौ !
के होला त नि तरन ?
मनमनै गुनेर
मनभरि अटेसमटेस कौतुहल बोकेर
दुई कान्ला फड्केर
बकाइँलाकहाँ पुगी गएँ–
‘आएँ है, बकाइँला आमाकाइँली ।’
‘आइजा कान्छी आइजा
यहाँ बस ’
अगुल्टो झोस्दै अगेना छेउ बकाइँलाले पिरा सार्नु भो
रिब्दो पार्दै गरेकी आमाकाइँली
भटाभट कोइँशि खलमा पिन्दै आग्राह गर्छिन–
‘एकै छिन बस है कान्छी ।’
हेर्दै छु एकोहोरो
बकाइँला, आमाकाइँलीको धन्दापात
तरन पो के होला ?
ग्लोलोबाट बिच्केको सोलोल निल्दै
नानीभित्रको रिब्दो
एक चम्चाजति केवामा लिएर
आगोलाई झिस्क्याउँछिन आमाकाइँली,
होर्र आगो बहुलाउँछ निलो लप्का ओकालेर
र हौसिन्छिन्–
‘लो ब्लोत एँ ब्लोत,
रिङने, ला ब्लोशो दुम्मात ।’
सोलोल नसुकी एक डबका रिब्दो
आमाकाइँलीले अगाडि सार्छिन
‘ल कान्छी एक मुट्ठी तरन पिउनु
पदमचाल, ठुलोओक्तो र मसला राखेको छु
एक फाँको काइशि छोपसँग
स्वाट्टै पार्नु त ल,
सर्दी जान्छ, दुःखेको जीउ बाँध्छ ।’
मेरै लागि यत्रो दुःख !
बिलिखबन्दमा परेँ–
‘पिउ त तरन
जाने भो प्राण
(रगतको चाप नुम्बुरको चुचुरो टेक्न उकालो चढीरहेछ ।)
नपिउ त तरन
आमाकाँइली बकाइँलाको हुने भो अपमान ।’
जे जे पर्ला पर्ला
च्वास्स चुच्चो पार्दै थुतुनो
डबकामा डुबाइ पठाएँ–
ओहो … !
घाँटी नै चरर कोर्दै
चर्चराउँदै तल तल गयो
रिब्दोको राग चढ्यो उँभो
उखुम … उखुम …
चढ्यो उकालो खाँसी
बढ्यो उँभो सास
अनि त
कठैबरी पम्फाको फूल
उखुम उखुमको तालमा
तरनको चर्चराउँदो उधुमको रागमा
छोपको चस्स झस्काउने स्वादमा
स्वैर–कल्पनाको सन्सार उधिनेर
नुम्बुरको असिम यादले
गम्लङ्ग अँगालो हाल्न आइपुग्यो
एक किसिमको उर्जा
एक किसिमको आँट
जोश जाँगर र नायकी नेतृत्वपन
र,
फ्याट्ट बोली दिएँ
वर्षौदेखि थाँतिरहेको
कहिल्यै व्यक्त गर्न नसकेको
मनभित्र गुम्सिएर बसेको एउटा जिज्ञासा–
‘आमाकाइँली बकाइँला !
घिटिक्क घिटिक्क गर्दै
कोमामा कालसँग पैंठेजोरी खेलीरहेको
हाम्रा तरन सौन्दर्य र गुह्यज्ञानहरुले
कहिलेसम्म बेसहरा बाँचीरहनु पर्ने ?
अनि
लावालस्कर लागेर बसाइँ सारिएकाहरुले
कहिलेसम्म तरनको तिर्खामा छट्पटाइरहनु पर्ने हँ !
…………………………
कुपिण्डे, लिखुतामाकोशी १, रामेछाप
हाल : काठमाडौं ।