सुरेन्द्र लिम्बू परदेशी
हिँडेर तिमीले खनेको बाटो
आदिम छेकबारहरू भत्काउँदै
बोकेर समग्र सपनाहरू
पुग्नुु छ पारदर्शि बस्तीहरुमा
अल्मलिए मथिङ्गलको कम्पास
पर्खनु छैन अन्योलमा समयलाई
बरु पहिल्याउदै नयाँ गोरेटोहरु
पछ्याउनु छ उही गन्तव्य ।
अँध्यारोमा अल्मलिएकाहरुलाई
उज्यालोको भानु बनेर आयौ
भाषिक एकताको कसीमा
मौरीको रानो बनेर आयौ
र बसायौ एउटा मूल घर
नेपाली भाषा(साहित्यको ।
तर अब ,
सायद हामी पुग्नै लागेका छौं
आयमिक चिन्तन र चेतनाको सैर गर्न
समययात्राको यान्त्रिक एयरपोर्ट छेउ
मानवीय संवेदनालाई स्क्यानिङ गर्ने
नवीन प्रविधिको प्रयोगशाला छेउ
रोबर्टहरूले वकालत गर्ने
अल्गोरिदम युगको अदालतनिर ।
प्रकृतिको नियमलाई शल्यक्रिया गरेर
हाम्रै शरीरिक अवयवहरुको क्वान्टमभित्र
कृतिम चेतनाको चिप प्रत्यारोपण गरेपछि
आइन्सटाइन गिदीहरू पनि एक्स्पायर हुनेछन्
र हुने छन्
हाम्रा वौद्धिक आवागार्दसरू निकम्मा
मजदुर, डाक्टर, इन्जिनियर र पाइलटहरू
ड्राईभर, शिक्षक, प्राध्यापक र पालेहरू
सबैलाई बनाउनेछ अल्गोरिदमले बेरोजगार ।
समयको आयामसँग ठोक्किएर
देशको सिमाना भत्किएपछि
यो ब्रम्हाण्डनै मेरो देश हो भन्ने प्लेकार्ड बोकेर
ग्लोडल वार्मिङको विरुद्धमा निस्किएको
एउटा विशाल मसाल जुलुसमा
हेर्दाहेर्दै म पनि मिसिएपछि
आर्टिफिसियल इन्टेलिजेन्सले फैसला गर्ने
ग्लोबल पार्लियामेन्टको घुम्ने मेचमा
मेरो भानु र घाँसीले न्याय पाउलान् नपाउलान्
आजकल
म संकोचको चौघेरामा छु ।
अध्यक्ष विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रिय समिति