-दुर्गाप्रसाद पोख्रेल
————————————
राजनीतिका विवादहरूमा छ कविता
जनताका आर्तनादहरूमा छ कविता
कतै कोदालीको चपरीमुनि गाडिएको छ
कतै खैनी सूर्ती तमाखु भै माडिएको छ
कतै अपहरण गरेर छाडिएको छ
जता हेरेपनि
वस्तीभर कवितै कविता देखिन्छन्
शव्दविम्वहरूमा उत्रने कविताभन्दा
जीउँदा जाग्दा कविताहरू बाटामा हिडिरहेछन्
कतै टायर बनेर बलिरहेछन् कविताहरू
कतै कायर बनेर ढलिरहेछन् कविताहरू
पधेंरामा ती पानी थाप्न लाइन बस्छन्
अधेंरामा ती लोडसेडिङ्को तार कस्छन्
यत्रा कविता झैं दुनियाँमा अरू केही पाइन्न
मात्र उभिएर हेरे पुग्छ, कविता लेख्न अब कलम चाहिन्न ।
कविता नै मन्दिरमा देउता बनेको छ
कविताले मस्जिद् मा प्रार्थना भनेको छ
कविता चर्च र सिनेगगहरूमा कनफेसन गरिरहेछ
कविता नै सभा समारोह उत्सवमा फेसन गरिरहेछ
कविता अब मात्र साहित्यको विधा रहेन
कविता अब मात्र सिर्जनाको सिदा रहेन
कविता कतै खोरमा बोका बनेको छ
कविता कतै स्वाभिमानको धोका बनेको छ
चिया पसलेको चियापत्तीमा छ कविता
न्यायालयको नियमापत्तिमा छ कविता
शायद कविता झैं सर्वव्यापी अरू कुरा पाइन्न
अब कविता भोगे हुन्छ, लेख्न कलम चाहिन्न ॥
५ मार्च २०१३ लण्डन