– आविष्कार कला

घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य लाग्दछ । मलाई घुमाई बालपनदेखि नै रमाइलो लाग्दथ्यो । जुन दिन देखि मैले श्रम बेच्न शुरु गरे ती कार्य नहिडेसम्म पुरा नहुने थिए । देशका बिभिन्न ठाउँमा गई अध्ययन गर्नु पर्ने भएकोले पेशाप्रतिको जिम्मेवारी र मायाले गर्दा आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दागर्दै अर्को उपहार रुपमा आउछ देशको हरेक भूगोलको संस्कृति, भाषा ,रहनसहन र प्रकृति आदिका बारेको जानकारी यसरी मेरो पेशा “एक पन्थ अनेक काम” भईरहेको छ ।

इतिहासमा राज्य विस्तारको अवस्थाका लागि एकअर्को राज्य विचमा लडाइँ भई जुन पक्षले युद्धमा जित हासिल गर्दछ ,उसले उक्त ठाउँमा आफ्नो शासन गरेको पाईन्छ , नेपाल निर्माणको समयमा पनि त्यस्ता अनेकन युद्धबाट विजयी भएपछि मात्र नेपाल, आजको राजनैतिक सिमाभित्र रहन गएको हो । नेपालका महत्वपूर्ण गढीमध्ये ऐतिहासिक रसुवागढी एक महत्वपूर्ण गढी हो नेपाल–तिब्बत युद्धका समयमा चलेको युद्धमा चीनीया पक्षलाई हराउन सफल यो गढी इतिहासको पानामा सुनौलो अक्षरमा नाम लेखिएको गढी हो ।

समय केही पहिले २०७४ फागुनको हो । रसुवागढी जाने भने पछि मन केही चन्चल भैरहेको थियो । यस भन्दा पहिला पनि रसुवाको एक दुई पटक यात्रा गरीसकेको थिएँ तर रसुवागढी जाने अवसर चाँही जुरेको थिएन , यसपटक रसुवागढी जाने अवसर मात्र होईन एउटा पेशागत जिम्मेवारी पनि उत्तिकै ठूलो थियो ,त्यो थियो रातमाटे –रसुवागढी –केरूङ्ग (अन्र्तरदेशिय) ४०० के.भि प्रसारण लाईन आयोजनाको पूर्वेक्षण सर्भेको काम जब पेशा र आफ्नो ईच्छाको मेल हुन्छ त्यहाँ भन्दा ठुलो खुशी अरू लाग्दैन , मतलव सर्भेको पेशा नै देशको हरेक भूगोलमा उपस्थित भई त्यहाँको वास्तविक भौगोलिक जानकारी लिनु हो भने आफ्नो रुचि पनि नयाँ नयाँ प्रकृति र संकृति सँग घुलमिल भई त्यसको रसपान गर्नमा आन्नदित भैसकेपछि पेशा प्रति बफादार काम प्रति ईमान्दारिता मात्र होईन आफ्नो रुचिको विषयमा अध्ययन गर्न कुनै नयाँ समय तालिका र छुट्टै कार्ययोजना बनाई रहन नपर्ने हुँदा त्यो भन्दा अरू खुशी के नै हुन्छ र ।

२०७४ फागुन ११ मा रसुवागढीका जानका लागि हामी पहिलो दिन गाडीको रुट तय गर्‍यौं गाडी बिहान ५ बजे ईन्जिनियर विवेक कार्की महोदयलाई लिन भक्तपुर नलिनचोक जाने त्यसपछि मलाई लिन कोटेश्वर आउने त्यसपछि ईन्जिनियर ऋषिकेश न्यौपाने महोदयलाई लिन चापागाऊ जाने त्यस पछि अर्को सर्भेयर साथी राजन लिम्बु महोदयलाई लिन जाने र सात बजे चक्रपथ बाट बाहिर निस्कने योजना अनुसार हामी सबैलाई एकीकृत गर्ने काम चालक श्रीलाल सुवाल महोदयले गर्नु भयो ।

पूर्व निर्धारित समय अनुसार हामी एक आपसमा भेट भै सकेपछि सातबजे नै चक्रपथबाट बाहिर निस्केर टोखाको बाटो हुदैं जानका लागि हामो गाडी अघि बढ्यो । गाडी मात्र अगाडी बढेको थिएन हामी पनि अगाडी बढ्दै थियौं । हामी भन्दा कैयौं अघि कुदिरहेको थियो हाम्रो मन जुन मनको गति अहिलेसम्मका वैज्ञानिक आविष्कारहरूले पनि मापन गर्न सकेका छैनन् । काठमाण्डौंको धुलोधँुवा अस्तव्यस्तलाई छाडेर प्रकृतिको अर्गानिक काखमा जान पाउँदा धुलोधँुवा अस्तव्यस्तबाट मात्र बचिदैन आफ्नो आयु नै बढेको भान हुन्छ ।

यात्रामा जाँदाजाँदै जब टोखा पार गरेर झोर हुँदै अगाडी बढियो मन आन्नदित हुदै गयो मनका कौतुहलता पनि जाग्दै आउन थाले जब गुर्जे भञ्ज्याङ्ग पुगेर चारै तर्फ नजर लगाउन थालियो तब फागुनको जाडोलाई शरीरले प्रवाह गर्न छाड्यो ।

त्यहाँ प्रकृतिको काखमा सामिप्यता हुँदाको अनुभव वेग्लै थियो । काठमाण्डौको बसाँई यस भन्दा पहिला धेरै समय नभएको हुँदा एक महिना बस्न पनि हम्मेहम्मे लाग्ने अवस्थामा प्रकृतिको काखमा रमाउन पाउदाको क्षण कति प्यारो कति जहाँबाट चारैतिर मनोरम दृश्यावलोकन गर्न सकिथ्यो । काडमाडौं उपत्यका बसोबासको लागि अस्वस्थ्यकर भए पनि गुर्जे भञ्ज्याङ्गबाट नजर लगाउदा चाहीँ मनोरम नै देखिदो रहेछ त्यही दायाँबायाँको चौघेराका दृश्यहरूलाई भविष्यमा समेत पुर्नताजगी दिने मनसायले हामीहरूले अलि अलि क्यामरालाई पनि यात्रामा सक्रिय बनाउ भनेर केही फोटा खिचियो ,अनि हाम्रो यात्रा निरन्तर अगाडी बढ्यो गाडी रफ्तार सँग गाडीको भित्रबाट देखिने बाहिरी दृश्यहरू पनि त्यही रफ्तार मै कैद गर्दै हामी अगाडी वढ्यौं , केही छिनमै नुवाकोट जिल्लाको लिखु नदीले बनाएको ठूलो फाँट थानसिंह छहरे पुगियो ।

लिखुले बनाएको ठूलो फाँट सिचाई बाह्रैमास व्यवस्था देख्दा मनमा देश बिकासमा भावना उब्जीरहे , यही लिखुजस्तै खोलको पानी र यस्तै फाँटहरूको महत्तम उपयोग गरेमा देशले अवश्य नै काँचुली फेर्ने थियो । गाडीलाई आफ्नो गतिबाट चालक श्रीलाल सुवालले कम गर्नु भएको छैन , देशका चालकहरूले पनि आफ्नो गति कम नगरेको भए सायद आज हामी बिकास र प्रविधिमा हामी संसारमा अग्रणी हुन्थ्यौं की भन्ने सोच्दा गाडीले लिखु नदी पार गरीसकेपछि हामी ढिकुरे फाँटमा आँखा लगाउँदै यात्रा अघि बढ्यो । दृश्याबलोकन मनमा कौतुहलता सोच–विचार गर्दा गर्दै हामी नुवाकोटको सदरमुकाम विदुर पुग्यौं । विदुर बजारको बाहिरी स्वरूप केही मात्रामा हेरिसकेपछि मन आन्नदित भयो । यस पहिला जाँदा बजार त्यति घुमिएको थिएन । यस पाली पहिला भन्दा केही बढि चाही अबश्य घुमियो तर पूरा पूर चाहीं होईन वाँकी क्षेत्र अर्को पटक नुवाकोट घुमाइलाई बाँकी राखियो ।

समय ,गाडी र मानिसको गतिमा कुनै फरक थिएन । पहिलोलाई प्रकृतिले नै ऊर्जा दिने हुदाँ उ कसैलाई विन्ती भाउ गर्दैन । हामी दोस्रो र तेस्रोहरू दुबैलाई ऊर्जाको आवश्यकता परेको महशुस हुन थाल्यो अनी हामी हाम्रो उर्जाको लागि ढुगेंमा थकाली होटलतिर लाग्यौं । खाना खाई सकेपछि अब हाम्रो यात्रा पासाङ्गल्हामु राजमार्गसँग हुने कुरा मनमा गुन्दै अगाडी बढ्यौं । त्रिशूलिको दायाँवायाँ नुवाकोटको आकाशमा आँखा र मन डुलाउँदै जाँदा यात्रा अघि बढ्दै थियो । जव हामी ऐतिहासिक स्थल बेत्रावति नजिक पुग्यौं वीरताको इतिहास बोकेको स्थलमा पुग्दा कुन नेपालीको छाति गर्वले नफुल्ला र ? बेत्रावतिमा जब फँलाखु खोला पार गर्‍यौं हामी रसुवा जिल्लाको भू–भागमा पाइला टेक्यौं । वीरताको इतिहास सम्झदै र साथीहरूलाई यहाँको ऐतिहासिक जानकारी दिंदै गाडी रोकी त्रिशूलि नदीलाई हेर्‍यौं । रसुवालाई अन्तिम ठाउँमा जहाँनिर त्रिशूलिले छाड्यो त्यहाँबाट अब हाम्रो यात्रा त्रिशूलिको महत्वपूर्ण सहायक नदी जहाँ भोटेकोशी नामाकरण हुन्छ, अर्थात नेपाल चीन सिमाना रसुवागढी पुग्नु छ । ऐतिहासिक ठाउँ राष्ट्रिय महत्वको आयोजनाको लागि जादै गर्दा मनमा उत्साह र कौतुहलता उत्तिकै बढीरहेको थियो। फागुनको महिनामा प्रकृतिले आफ्नो सौन्दर्यको जवानी त देखाउन सक्तैन तर पनि रसुवाको परिवेशका दायाँबायाँ को वाताबरण हेर्दैै हामी अगाडी बढ्यौ ,केही छिनमा हामी कालिकास्थान पुग्यौं त्यहाँ नेपाली सेनाको चेकजाँच पछि वारीपारी देखिने नेपाली स्वाभीमानका पहाडहरू नियाल्दै निरन्तर अगाडी बढ्यौ, ती ठूला ठूला पहाड देख्दा लाग्यो यी अजङ्ग पहाडहरूले नै हामीलाई आफ्नो स्वाभिमान डगमग नगर भनेर संकेत गरे जस्तो लाग्यो।

इतिहासदेखि आजसम्म हजारौं प्राकृतिक विपत्तिहरूसँग सामना गर्दैै आजसम्म पहाड नै भएर नेपाली पहाडले स्वाभिमानी मात्र देखाएका छैनन् यिनै पहाडहरूले बेसिका फाँटहरू र मैदानी भूभाग बनाउन आफ्नो शरिर दान पनि निरन्तर गरेको देख्दा लाग्छ नेपाली पहाड स्वाभिमान मात्र होईन आम मानवजातिको प्राण धान्ने अनाज उत्पादन गर्ने फाँट बनाउने माटो , जडिबुटि को भण्डार गर्ने पहाडहरू मानब जातिकै निमित्त उभिएको लाग्छ । रफ्तारको यात्रामा हामी थियौ रसुवागढी पुग्ने ध्येय थियो । सधैभरी चर्चामा आउने राम्चेको पहिरोनिर जव पुगियो एकछिन गाडी रोक्यौ । पासाङ्गल्हामु राजमार्गमा लामो गाडी चलाउनु भएका हाम्रा गाडी चालक श्रीलाल सुवाल पहिरोको पुरानो विबरण सुनाउनु भयो । तल त्रिशूली हेर्‍यौं । पारी रसुवाको पहाड मात्र हेरेनौ ती दृश्यहरू इतिहासका लागि क्यमरामा कैद गर्दै अगाडि बढ्यौ । नेपालको पहाडी भूगोलमा प्राय साँघुरो बाटो यहाँ पनि बाटोको अबस्था उस्तै नै थियो । सडकको दायाँबायाँका चट्टानहरू अजङ्ग ढुङ्गाहरू हेर्दै रमाइलो परिबेशका ती ढुङ्गामा आत्मीयता किन बढ्यो थाहा भएन । तर प्राय ठूला ढुङ्गाहरूको सामिप्यतामा फोटाहरू लिई हामी अधि बढ्यौं । सामान्यतया कठोर मानिसलाई ढुङ्गाको मन भन्छन तर पनि किन किन ति ढुङ्गाहरू सँगै फोटा लिन मन लाग्छ , कि आजकल ढुङ्गाहरू नरम र मानिसहरू कठोर त भएका छैनन् ?

पासाङ्गल्हामु राजमार्ग रसुवा रसुवागढी ,गोसाईकुण्ड आदिको बारेमा चर्चा परिचर्चा गर्दा गर्दै ती पारी हेर्नुत कस्तो है भन्दै हामी आपसमा जानकारी लिंदालिंदै रसुवाको सदरमुकाम धुन्चे पुग्यौ । फागुनको महिना मौसमको नियममै चिसो हुने मौसम धुन्चेमा जव ओर्लियौ चिसो महसुस गरियो । खाजाको लागि एक होटलमा बसियो । होटलबालासँग केही जानकारी लिन खोजेको उनी रहेछन् भारत सीतामडिका स्थायी वासिन्दा करिब दुई दशकदेखि धुन्चेमा पसल व्यवसाय गरेका व्यापारी , त्यस पछि उनको खाजा खाई हामी अगाडी लाग्यौं । अब यो आयोजनाको विस्तृत सर्भेको लागि करिब दुई महिना रसुवा नै बसिन्छ । त्यस बारेमा जानकारी पछि लिंदै गरांैला भनेर हामी अगाडी बढ्यौ । आम हिन्दुहरूको तीर्थस्थल र नेपालको महत्वपूर्ण पर्यटकीय स्थल गोसाईकुण्ड जाने बाटो यहीं धुन्चेबाट छुट्टिनु पर्छ । हाम्रो सर्भे समुहका सबै साथीहरू सबैले एक पटक गोसाईकुण्डको यात्रा गरेका रहेछौ । सबैले आ–आफ्नो रोचक अनुभव सुनाउनु भयो । यस गोसाईकुण्ड बारमा फेरी कुनै अर्को यात्रा विवरणमा पेश गरौला । धुन्चेबाट थोरै अगाडी रसुवागढी जाने बाटोमा एउटा सानो खोला आउँछ जुन गोसाईकुण्डबाट बगेर आउने पानी आउँछ जसलाई भनिन्छ , त्रिशूली खोला , जुन केही तल भोटोकोशीमा मिसिन्छ । पानीको बहाव हिसावले त्रिशूलीको तुलनामा भोटेकोशीको ठूलो छ तर पनि नदीको नाम त्रिशूली नै भनिन्छ । सामान्यता दुई खोला,नदी आपसमा मिसिएमा कि ठूलो नदीको नाम लिईन्छ कि नयाँ नामाकरण गरिन्छ । तर यहाँ वहाब सानो भएको नदीले नाममा नेतृत्व गरेको छ । नेपालका नदी नामाकरणमा पाईने केही विरलै दृष्टान्त मध्ये यो एक हो जसरी भूगोलमा सानो भएपनि नेपाल विश्वभरमा चर्चित छ । त्यसैले पानीको बहाब सानो भएर पनि त्रिशूली अग्रणि छ । यो ज्वालन्त उदाहरण आम मानिसलाई प्रकृतिले दिएको ठूलो उदाहरण हो । भौतिक रूपमा सानो ठूलो हुँदैमा नै सबैमा सानो ठुलो मापन यही नै हुन्छ भन्ने होईन । गाडीको गति निरन्तर बढिरहेको छ । हामी ठूलो भार्खु हँुदै अगाडी बढ्यौं , केही पर घुम्तीबाट त्रिशूलीको मनमोहक दृश्य मात्र देखिदैन, पटक पटक यात्रा गर्नेहरूलाई समेत मोहीत र फोटा खिचांै खिचौं बनाउने बाह्र घुम्ती देखिंदा मन लोभित हुन्छ । हामी पनि प्रकृति माथिको मानविय संरचनालाई कैद गर्‍यौं । यात्रा नेपाल चीन सिमा सम्म पुग्नु छ । हामी अगाडी बढ्यौं । बाह्र घुम्ती सकिदा हामी भोटेकोशीको किनारा तर्फ पुग्यौं । भोटोकोशीको किनारामा भोटेकोशीले गाईरहेको देशभक्ति पूर्ण गीत संगीत सुन्दै अगाडी बढ्यौ । भोटेकोशीको किनारामा स्र्याफुबेसीको मुखमा नेपालको गौरब चिलिमे जलविद्युत आयोजनाको पावर हाउस देखिन्छ । जुन देख्दा हामीहरू लाई पनि गर्व लाग्छ , अझ हामीहरू पनि नेपाल विद्युत प्राधिकरणकै कर्मचारी भएको हुँदा गर्वको छाती झन् ठूलो भयो । यो आयोजनाको बारेमा ईन्जिनियर ऋषिकेश न्यौपाने महोदयले शुरूवाति चरण देखिको कुरा प्रकाश पार्नु भयो । हामी चिलिमेको पावरहाउसमा फेरी घुम्ने बाचा सहित अगाडी बढ्यौं । नजिकैको सानो तर महत्वपुर्ण र पुरानो बजार स्र्याफुबेसी बजारमा हामी पुग्यौ । नजर डुलाई अघि बढ्नुको विकल्प हामीमा थिएन ।

स्र्याफुबेसीमा भोटोकोशी र लाङ्गटाङ्ग खोला एक आपसमा मिसिएर अघि बढ्छन् भने यही स्र्याफुबेसीको बायाँबाट पहाडको घुमाउरो बाटो बाहुनडाँडाहुदै ऐतिहासीक घलेददरवार ,पर्यटकीय र धार्मिस्थल पार्वतीकुण्ड त्यसैगरी गोल्जुङ्ग र चिलिमे जान सकिन्छ । चिलिमे जलविद्युत आयोजना बनाउदा पनि यही बाटो प्रयोग गरीएको थियो । हामी भने भोटेकोशीको किनारैकिनार अघि लाग्यौ । स्र्याफुबेसी भन्दा केही पर चिलिमे खोला र भोटेकोशी मिसिन्छ । जहाँबाट एउटा बाटो चिलिमे, पाजुङ्ग तातोपानी लगायतका गाऊ तर्फ जान्छ भने अर्काे बाटो थुमन हुँदै पर्यटकिय स्थल नागथलीतिर जान्छ । हामी भने ती दुवै बाटो नगई आफ्नो जिम्मेवारी बहन गर्ने बाटो भोटोकोशीको किनारै किनार लाग्यौं । भोटोकोशीको सुसाई सुन्दै रमाउदै हामी बढीरह्यौ । केही छिनको यात्रा पछि हामी भोटेकोशीको किनारमा बन्दै गरेको ठूलो संरचना देख्यौ के रहेछ भने हेर्दा १११ मेगावाटको निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको पावरहाउस क्षेत्र रहेछ । देशको पानी यसरी नै सदुपयोग गरेमा देश मात्र उज्जालो हुने होईन , देशको आर्थिक बिकास र पसिना पोख्न विदेशिने नेपाली दाजुभाई हरूले स्वदेशमा नै पसिना पोखी आफ्नो मातृभूमिलाई हँसाउने थिए भन्दै केही फोटाहरू क्यमरामा कैद गर्‍यांै । बाटोको किनारा भन्दा केही तल तातोपानीको कुण्ड रहेछ, त्यहाँ अवलोकन गरियो भतभत उमालेको पानी जस्तो तातो पानी प्रकृतिको गर्भबाट आएको देख्दा अचम्म मानियो । त्यहाँ नुहाउन पर्दा चिसो पानी मिसाए पछि मात्र नुहाउन सकिने अवस्थाको तातो पानी देख्दा हेरेको हेर्‍यौ भइयो । यस ठाउँमा मासुको लागि काटिने खसी बोका कुखुरा आदी त्यही नजिक काटेर त्यही तातो पानीको प्रयोगले छाला बाहिरको फोहर सफा गरिंदो रहेछ । त्यति मात्र होईन त्यहाँ स्थानीयको भनाई अनुसार तातोपानी भन्दा माथि खसी बोका कुखुरा काट्नु हँुदैन भन्ने धार्मिक मान्यता पनि रहेछ ।

रसुवागढीको नजिक नजिक हामीहरू पुग्दै थियौं मनमा नयाँ नयाँ कौतुहलता उत्तिकै थिए । तातोपानीबाट नजिकै सानो टिमुरे बजार पुगियो प्रहरी चौकी भन्सार कार्यालय आदिमा गाडी दर्ता गरी हामी अगाडी बढ्यौ । पर सिमानामा चीनिया भवन देखिन शुरू भयो मनमा उत्साह सँगै केही पर गर्‍यौ । अर्को सानो बजार जसको नामाकरण त्यही बहने खोलाको आधारमा घट्टेखोला भनिदो रहेछ । त्यहाँ एकछिन नजर लगाईयो बायाँतिर भोटेकोशीको सुसाई भने दायाँ तिर सानो बजार प्राय पसलहरू बन्द थिए , हामीले अनुमान गर्‍यौ फागुनको चिसोले गर्दा बन्द भएको होला हामी अघि बढ्ने दुरी धेरै लामो थिएन चीनीया सिमानामा चीनको ठूलो भवन प्रष्ट देखिन्छ भने भोटेकोशीको बायाँ किनारामा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको ड्यामसाईटमा निरन्तर काम भई रहेको देखिन्छ । हाम्रो मुख्य काम चाही रातमाटे– रसुवागढी –केरूङ्ग ४०० के.भि अन्र्तरदेशिय प्रसारण लाईन आयोजनाको पूर्वेक्षण सर्भेको काम थियो । त्यसको लागि हामीसंग भएको HAND GPS अन गर्‍यौ , र टोपो नक्सा फुकाई अध्ययन गर्न थाल्यौ , GPS मा निर्देसाङ्क (co-ordinate) र टोपो नक्सा हेर्दै नेपाल चीन सिमासम्म पुग्यौ ,सिमानाको चट्टाने भिरको माथी हामीले खोजेको निर्देसाङ्क (co-ordinate)देखाउँछ , फागुनकोे महिना साँझपख चिसोचिसो भैसकेको बासको लागि होटल पनि व्यवस्था गर्नुपर्ने भएकोले भोली बिहान विस्तृत रूपमा हेर्ने सल्लाहका साथमा हामी बासको लागि घट्टेखोलातिर लाग्यौ । प्राय होटल बन्द नै थिए । चिसोले नै होकी भनेर अघि बढियो । टिमुरेमा पनि होटल नपाएमा स्र्याफुबेसी जानु पर्छ भन्ने सल्लाह गर्दै हामी अगाडी लाग्यौ टिमुरेमा पनि प्राय होटल बन्द देखियो , पुलिस चौकीनिर केही सोध्यौ होटलको बारेमा ड्युटिमा रहेका प्रहरीले यो माथीको होटलमा बुझ्नु त भन्दा माथीको होटल टासी ढेलेकको साहुनीले छ, छ बास बस्न मिल्छ भने पछि हामी बासको लागि टिमुरेमा रहेको होटल टासी ढेलेकमा गयौ । होटलमा गई कोठा हेरि सकेपछि हामीहरूको पहिलो प्रश्न थियो यहाँका होटलहरू पसलहरू चिसोले होकि अन्य कारणले बन्द भएको ? तर कारण चाहीँ अर्को रहेछ चीनीया नयाँ वर्ष वसन्त पर्वका कारण चीनमा विदा हुँदोरहेछ व्यापारिक नाका भएका कारण एकातर्फ विदा हुदाँ अर्को तर्फ नेपालतिर पनि नेपाली पसलहरू बन्द भएका रहेछन । घाम क्षितीज पारी गई सकेका थिए । चिसो बेसरी थियो ,भोलि बिहान काम गर्ने कुरा गर्दै हामी होटलमा बस्यौं ।

फागुन १२ गते बिहान फिल्डको लागि तयारी भई हामी गढीतिर लाग्यौ , जुन स्थानमा हामी पुग्नु पर्ने थियो त्यहाँनिर एकदम चट्टाने भिर माथी पहाडको टुप्पोमा हेर्दा टोपी खस्लाजस्तो ठाडो भिर त्यस माथी भूकम्पले हल्लाएको र झारेको ढुङ्गा हेर्‍यौं । जान सक्ने र प्रसारण लाईनको टावर राख्न सकिने ठाउँसम्म गई त्यहाको निर्देसाङ्क (co-ordinate) ल्यायांै । त्यसपछि त्यहाँ एक जना बुढो मानिस भेटिनु भयो । केही कुरा गर्‍यौं । पहिला यहाँ कस्तो थियो आदि आदि अनी उहाँलाई सोध्यौ गढी कता पर्छ ? उहाँले बताउनु भयो–जहाँ हामी हिजो र आज पुगेका थियौं , सिमा नजिक त्यहाँ नै रहेछ हामी सबै उत्साहकासाथ गढी हेर्न गयौं । त्यहाँ लडाइँको बेलाको केही संरचना पनि देख्न पाईन्छ भने वि.स १९१२ को सिलापत्र र ऐतिहासिक स्थल रसुवा गढी भनी नेपाली र अंग्रेजीमा लेखिएको सूचना पाटी पनि देख्न सकिन्छ जहाँको सूचना पाटीमा निम्न सूचना प्राप्त गर्न सकिन्छ ।

  • रसुवा गढी प्राचीनकालदेखि नेपाल र भोट बीच चल्ने व्यापारको प्रमुख मार्गको रुपमा रही आएको थियो । यो मध्यकालको उत्तरार्धसम्म पनि प्रमुख व्यापारिक मार्ग र केन्द्रको रूपमा कायम रहेको देखिन्छ ।
  • उत्तरबाट लिङदे र पश्चिमबाट केरूङ खोला मिलेर भोटेकोशी बनेको छ । यी दुई खोलाको संगम नजिक रसुवागढी निर्माण भएको छ ।
  • बहादुर शाहको समयमा भएको नेपाल–भोट युद्धमा भोटको सहायतको लागि यही बाटो हुँदै आएका चीनिया फौजले नेपालीहरूलाई हराउदै बेत्रावतीसम्म पुगेका थिए भनिन्छ ।
  • त्यसैगरी पछि जङ्गबहादुरका पालामा भएको नेपाल–भोट युद्धमा तिब्वतीलाई हराएपछि नेपाली फौज गढीको बाटो हँुदै केरूङ र दिवर्गसम्म पुगेको थिए ।
  • त्यसै युद्धको समयमा (वि.स. १९१२साल) मा यस गढी निर्माण भएको थियो ।
  • रसुवा गढीको नाम बाट नै रसुवा जिल्लाको नाम रहन गएको हो । यो गढी हाल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ ।

सूचना र गढीको संरचना हेर्दा पुर्खाले मातृभूमिका लागि पोखेको रगत र पसिनाप्रति गर्व लाग्छ । इतिहासको कुनै कालखण्डमा भोटका धेरै सामान र भोटका लागि पैसा समेत यतै नेपाली टक्सारबाट बनाएर पठाउने देश आज हरेक देशहरूसंग सहयोगको याचना माग गर्दै छ । इतिहास पढ्दा र बर्तमानको अबस्था देख्दा कुन देशभक्त सपुतको मन नदुख्ला र सिमानामा चीनिया पक्षको ठूलो आधुनिक सुविधा सम्पन्न भवन यता नेपालतिर निर्वाहमुखि कार्यालय देख्दा नाकाबाट यात्रा गर्ने चिनिया र विदेशीहरूले के मूल्याङकन गर्छन् होला वीरताको इतिहास बोकेको नाकाबाट वर्षमा हजारौ पर्यटक आवतजावत गर्छन् तर जीवन्त इतिहास बोकेको यस गढीबारे धेरैमा अनभिज्ञता पाईयो । समयले ती पर्यटकहरू जसले गढीको महान ऐतिहासिकता नबुझि गए फेरी बुझ्न कुनै दिन त्यहाँ ल्याउनेछ ।

गढी वरपर घुमियो । युद्धको समयमा सायद यहीं राखेर बन्दुक पड्काए होलान् भनी कल्पना गर्दै दिमागमा चित्र सुरक्षित मात्र गरिएन त्यसको अलवा क्यामरामा चित्र कैदगरी हामी आफ्नो कामतिर लाग्यौ । नेपालको जीवन्त इतिहास सम्झाउने बुझाउने यस गढी ओझेलमा परेको देख्दा मन दुख्छ , नेपाल भ्रमण वर्ष २०२० र आगामी दिनमा आन्तरीक पर्यटकहरू कम्तीमा पनि विद्यालय विश्वविद्यालय हरूले गर्ने शैक्षिक भ्रमणको स्थल भए पनि यो स्थान बनोस , जसले गर्दा कलिला ति नयाँ मुनाहरूले देशको माटोप्रति पुर्खाले देखाएको सर्मपण थाहा पाउन सकुन् । यदी तपाई हामी अन्य उमेर समुहका भएपनि नेपाली वीरताका चिनो भएका ठाउँमा एक पटक जान पायौं भने साच्चिकै नेपाली वीरताको छाती फेरी फैलिन सक्छ । अन्तमा –

अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्चस्वर्गादपी गरीयसी ।।

– मल्लरानी ३, प्यूठान

श्रोत : साहित्य संग्रह

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *