– धीरकुमार श्रेष्ठ

दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर उहाँको भेट बुबासँग हुन सकेन । निराश भएर मेरी आमा फर्केकी खबर पाएर बुबाले पनि आमालाई खोज्न थाल्नुभयो । अन्ततः “सानैमा बुबाले बिहे गरिदिएकी रोगी र मरन्च्याँसे, अहिलेसम्म त सिद्धिसकी होली ।” भनिएकी मेरी आमा र दोस्री माताको भेट भयो । उहाँहरूको भेट भएको मधेसको सोनराको धूलोमा दोस्रो सन्तानका रूपमा मैले आँखा खोलेँ ।

सोनराका शब्दकोशमा हाम्रालागि “हजुरआमा, ठूलोबा, ठूलीआमा, काका, काकी” जस्ता शब्द थिएनन् । त्यसको क्षतिपूर्ति हामी छिमेकीसँग नाता गाँसेर गथ्यौँ तर कहिलेकाहीँ अचानक कसैले हामीलाई भनिदिन्थ्यो, “तिमरुका कोइ छैनन् ।” त्यस्ता वचनवाण हाम्रा मुटुमा तीखा सुइरासरह रोपिन्थे । हामी हाम्री आमालाई “हाम्रा नातागोता काँ छन् ?” भनी सताउँथ्यौँ । हाम्रा बालजिज्ञासालाई शान्त पार्नाका लागि हाम्री आमा भन्नुहुन्थ्यो, “तिमरुका सबैजना पहाडमा छन् । ठूलो भएपछि तिमरु त्यहाँ जानू र सबैलाई भेटेर आउनू । अनि मलाई पनि एकपटक त्याँ पु¥याइदिनू ।” आमाका कुरा सुनेपछि हामी भुइँफुट्टा होइनौँ । हाम्रा पनि नातागोता छन् भनी बालसखाका अगाडि लेग्रो तानीतानी फूर्ति लगाउँथ्यौँ । हाम्रा फूर्ति त्यति बेला आकाश चढ्थे जति बेला पहाडघरबाट काका अथवा ठूलाबा आइपुग्थे । त्यस्ता अवसर हाम्रा लागि उत्सवमय हुन्थे तर हाम्रा उत्सव राम्ररी सुरु हुन नपाउँदै उहाँहरू फर्किने तरखरमा लाग्नुहुन्थ्यो । हामी उहाँहरूसँगै पहाडघर जाने जिद्दी गथ्यौँ । हाम्रा असम्भव जिद्दीलाई शान्त पार्न हाम्री आमा माथिकै पङ्क्ति दोहो¥याउनुहुन्थ्यो । त्यसबाट हाम्रा आँखामा पहाडघरको सपना रोपिन्थ्यो । हामी त्यहाँ जान पाउनका लागि व्यग्रतापूर्वक आफू ठूलो दिनलाई पर्खन्थ्यौँ ।

हाम्रो त्यो बालसपनाको पहाड, दोलखा थियो । दोलखा, मेरालागि बहुप्रतीक्षित सपनाको नगरी थियो । संभवतः मअगाडि र मभन्दा पछाडि आँखा खोलेका मेरा दिदीबहिनी र भाइहरूका लागि समेत दोलखा सपनाको नगरी थियो ।

सोनराको धूलौटे माटोबाट हाइस्कुलशिक्षाका लागि पहिलोपटक काठमाडौँ बस्ता पनि बुबाले दोलखा लानुभएन । मलाई डुलाउन उहाँले साथीहरूसँग मितेरी पुलसम्म पु¥याउनुभयो तर दोलखा जाने बाटातिर फर्केर हेर्नुभएन । त्यतिमात्र नभई हाम्री आमा बाँचुञ्जेल उहाँले दोलखा सम्झनुभएन । उहाँभित्र दबेर बसेको आफन्तपीडाले उहाँको स्मरणबाटै दोलखालाई मेटिसकेको थियो । त्यति हुँदाहुँदै पनि प्रत्येक दसैँका टीकाका दिन सबैलाई टीका लगाइसकेपछि केही क्षण उहाँलाई गृहपीडाले सताउँथ्यो । हाम्रा आँखा छलेर उहाँ आफ्ना रित्ता निधार छाम्दै बिना बादल बर्सिनुहुन्थ्यो र तुरुन्तै सामान्य अवस्थामा फर्किनुहुन्थ्यो । त्यस्ता बेला उहाँका संवेदनाका हामी तटस्थ दर्शक हुन्थ्यौँ । हामीलाई उहाँका पीडाभन्दा दसैँका रमाइला महत्त्वपूर्ण हुन्थे । आज म उहाँलाई अनुभव गरिरहेको छु । उहाँका अटल स्वाभिमानलाई सलाम गरिरहेको छु ।

२०३६ सालको विजयादशमीले मलाई बहुप्रतीक्षित सपनाको नगरीमा जानाका लागि अवसर जुटायो । त्यस वर्ष धननारायण र अमृतदाइले दोलखा जाने प्रस्ताव राख्ता हाम्री आमाले भन्नुभएजस्तै किशोरवय पार गरी म ठूलो भइसकेको थिएँ । त्यहाँको माटो टेक्ने हाम्री आमाको इच्छा पूरा गर्न नपाए पनि मेरालागि त्यो अवसर उपस्थित थियो ।

प्रस्तावबाट म पुलकित थिएँ । दोलखाको जमिन नटेकिकनै म त्यहाँ पुग्न थालेँ । दोलखा, जहाँ मलाई जन्म दिने मेरा बुबा र आमा दुवैले पहिलोपटक आँखा खोल्नुभएको थियो । त्यहीँका माटामा उहाँहरूका बालवय र किशोरवय बितेका थिए । त्यहाँ पुगेर म उहाँहरूका दशकौँअगाडिका सुवासका सुगन्ध अनुभव गर्न चाहन्थेँ । त्यहाँ पुग्न पाए असीम आनन्द प्राप्त हुन्छ भन्ने सोचाइ थियो । त्यहीँ मेरो वर्षौंको इच्छा पूरा हुने साइत दाइहरूका दोलखा जाने प्रस्तावले जुटाउँदै थियो जुन मेरालागि अविष्मरणीय थियो ।

मेरा बुबाले दोलखालाई चटक्कै बिर्से पनि मैले बिर्सन सकेको थिइनँ । पहिलोपटक काठमाडौँ बस्ता पूरा हुन नसकेको इच्छा दोस्रो पटक तालिमका लागि काठमाडौँ बस्ता पूरा हुने क्रममा थियो । दुवै दाइका प्रस्तावलाई मैले बुबाकै अनुमति लिएर स्वीकृति जनाएँ । मलाई यो कहिले थाहा भएन, आफूले टेक्न नचाहेको भूमिमा जान उहाँले कसरी अनुमति दिनुभयो ।

जेहोस् दोलखा जाने सम्झनामात्रले मेरा आँखामा दिउँसै सपना रोपिएका थिए ।

हाम्रो दोलखायात्रा दसैँको पूर्वसन्ध्यामा काठमाडौँबाट सुरु भयो । बाह्रबिसेका लागि काठमाडौँमा बस चढ्दा हामीलाई जूनले “शुभयात्रा” भनेको थियो तर हाम्रो यात्रा सुरक्षित भयो भएन भनेर ऊ हाम्रा पछिपछि साँगा भञ्ज्याङसम्म पुग्यो । त्यहाँबाट उसले दिनकरको जिम्मा लगाएर पुनः भेट्ने वाचा गर्दै बिदा लिएको थियो । हाम्रा सम्मुख बेहुलीले निधारमा लगाएकी रातो टीकाजस्तो भएर दिनकर चम्किँदै थियो । बाह्रबिसेसम्म पुग्दा उसले हामीलाई न्यानो दिइरह्यो । त्यही न्यानोमा कति बेला बाह्रबिसे पुगियो पत्तै भएन ।

बाह्रबिसेसम्म पुग्दा दोलखाको कल्पनाले म रोमाञ्चित थिएँ । मेरो कल्पनाको दोलखा, डाँडाको टुप्पोमा थियो जहाँबाट चारैतिरका दृश्यहरू छर्लङ्ग देखिन्थे । डाँडाको फेदमा ‘कुलकुल’ गर्दै मन्द गतिमा कम्मर मर्काउँदै सङ्गलो बगेकी खोला आँखै लोभ्याउने थिई । त्यहाँ चुर्लुम्म डुबेर म पौडी खेल्थेँ र आफ्ना सम्पूर्ण विषादहरूलाई बिर्सदै मेरो सपनाको नगरीमा फर्किन्थेँ । घरमा मेरा लागि सबैजना अँगालो खोलेर बसेका हुन्थे । मलाई देख्नेबित्तिकै सबैले पालैपालो अँगालोमा बेर्दै माया गर्थे । त्यसबाट उकालो चढ्दा गलेको शरीरमा नयाँ स्फुर्ति सञ्चार हुन्थ्यो । म गाउँभरि रमाउँदैरमाउँदै उफ्रदै कुदिरहेको हुन्थेँ । मसँगै मेरा आफन्तहरू रमाइरहेका हुन्थे । सिङ्गै दोलखा मेरो आगमनमा उत्सव मनाइरहेको हुन्थ्यो । उत्सवको केन्द्र म आफैँ भएकाले मेरो खुट्टाले भुइँ टेकिरहेको थिएन ।

अपूर्व सुखको कल्पनाले कति बेला बसले बाह्रबिसे पु¥यायो, थाहै भएन । त्यहाँ पुग्दा हाम्रो भेट थाकेको दिनकरसँग भयो । उसले चाँडै हामीसँग बिदा लिएपछि हाम्रा आँखाहरू हामीले गुमाउन पुग्यौँ । ज्योतिका अभावमा हाम्रा आँखाले काम गर्न नसक्ने भएपछि दाइहरूले आआफ्ना टर्चलाइट निकाल्नुभयो । म पहाडको बाटो त्यति नहिँडेको भन्ने ठानेर होला मेरा झोलासमेत उहाँहरूमध्ये कसैले खापेर बोक्नुभयो । यद्यपि उहाँहरू दुवैलाई थाहा थियो, मैले सानैमा बुबासँग काठमाडौँ–रामेछाप, रामेछाप–सिन्धुली र सिन्धुली–काठमाडौँको यात्रा गरिसकेको थिएँ । सानै उमेरमा ती यात्राहरू मैले आफ्नै पदचिह्न छाड्दै पूरा गरेको भए पनि त्यस बेला यात्रा गर्न नसक्ताका अवस्थामा भरियाको व्यवस्था थियो । त्यसैले उहाँहरूले मउपर विश्वास गर्न नसकेको हुनुपर्छ । अथवा यो पनि हुनुपर्छ म उहाँहरूको प्यारो भाइ थिएँ र उहाँहरू मलाई यात्रामा कुनै कष्ट नपुगोस् भन्नेमा सचेत हुनुहुन्थ्यो । जेहोस् मौका परे मलाई नै बोकूँलाजस्ता उहाँहरूका उत्साहका अगाडि झोला बोक्नुले त्यति महत्त्व राख्तैनथ्यो ।

उहाँहरूलाई मलाई दोलखा पु¥याउनुमा ठूलो गौरवबोध भइरहेको थियो । दोलखा पुगिसकेपछि “भरत मामाको छोरा, भरत काकाको छोरा” जस्ता उहाँहरूका उत्तरमा विजयको शङ्खनाद थियो । उहाँहरूले मलाई दोलखा पु¥याएर मेरा बुबाले सुरु गर्नुभएको स्वाभिमानको युद्धमा विजय प्राप्त गर्नुभएको थियो । उहाँहरूका फराकिला छाती र उत्तीसझैँ अग्लिएका निधार देख्ता मैले त्यस्तै अनुभव गरेको थिएँ । म भने उहाँहरूका विजययात्राका प्रमुख पात्र भएर भीडको अघिअघि हिँडिरहेको थिएँ ।

उडीउडी पुगिरहेको कल्पनाको दोलखाबाट बाह्रबिसेको अन्धकारमा फर्कें । दाइहरूले हातहातमा टर्च बोक्नुभएको रहस्य थाहा नपाउँदै उहाँहरूका बीचमा दोलखाली नेपालभाषामा के कुरा भयो कुन्नि, त्यो थाहा भएन तर त्यति बेला म चकित भएँ जति बेला उहाँहरूमध्ये कसैले “कसो, तिमी हिँड्न सक्छौ ?” भनी सोध्नुभयो । उहाँहरूका प्रश्न सुनेर म मधेसको गाउँमा पुगेँ । त्यहाँ, गाउँबाट टाढा पुगेका बयलगाडाका गोरु जतिसुकै थाकेर भोकाएका भए पनि बेलुका घर फर्किदा उत्साहका साथ फर्केको देखेको थिएँ तर बाह्रबिसेको अन्धकारमा रातभरि हिँड्नाका लागि हामी मधेसका गोरु थिएनौँ । त्यसमाथि बाह्रबिसेको फेदमा भयङ्कर गर्जनका साथ बगिरहेको भोटेकोसीको एकनासको आवाजले जस्तोसुकै आँटिलो मान्छेको मुटु थर्काइदिन्थ्यो । मैले आफूभित्र लुकेको डरलाई दाइहरूका अगाडि देखाउन चाहिनँ । मैले डराउनपर्ने कुनै कारण पनि देखिनँ किनभने मेरा सहाराका रूपमा उहाँहरू सग्लै दुई थान हुनुहुन्थ्यो । ममाथि आइपर्ने आपतविपतलाई सहर्ष छाती थाप्न उहाँहरू तयार हुनुहुन्थ्यो । तसर्थ प्रथमतः उहाँहरूको उपस्थितिमा मैले डराउनुपर्ने कारण थिएन भने रात्रियात्राको अनुमति नदिएर म उहाँहरूको विश्वासलाई भत्काउन चाहन्नथेँ । फेरि जीवनमा त्यस किसिमको अनुभूति बटुल्ने अवसर प्राप्त हुने हो वा होइन, निश्चित थिएन । त्यसकारण आफ्नाअगाडि आएको अवसरलाई मैले गुमाउन चाहिनँ । पुनः सम्झेँ, के ठेगान ! अघि साँगा आइपुग्दा दिनकरलाई जिम्मा लगाएर हिँडेको जून फेरि आइपुग्ने पो हो कि ! त्यसकारण त्यस रात्रिलाई जूनका नाममा यात्रा गर्ने निधो गरेर मैले उहाँहरूलाई अनुमति दिएँ । रात्रियात्राको अनुमति दिनुमा उडीउडी पुगिरहेको दोलखालाई रातको अन्धकारमै भेट्न सकिन्छ कि भन्ने लुकेको इच्छाको प्रभाव पनि थियो । मेरो सहमतिमा किशोरजोशको प्रभाव छ अथवा साँच्चै हिँड्न सक्ने हो भनेर उहाँहरूले मेरा आँखामा हेर्नुभयो । त्यहाँ दोलखाको तस्बिर नाचिरहेको देखेर उहाँहरू विश्वस्त भएपछि हाम्रो रात्रिपैदलयात्रा बाह्रबिसेबाट दोलखाका लागि सुरु भयो ।

उहाँहरू दुईजना अघि र पछि म बीचमा थियौँ । उहाँहरूले अगाडि र पछाडि बालेका टर्चलाइटको प्रकाश मेरा लागि उज्यालो प्रदान गर्न पर्याप्त थिए । रातको चकमन्नताका बीचमा हामी तीनजनाको छोटो क्याराभान पहाडको उकालोओरालो उक्लँदैझर्दै थियो । वरिपरि कतै नहेरी सिधा नाकअगाडिको बाटोमा आँखा लाउँदै हिँड्नुपर्ने बाध्यता हामीसँग थियो तरपनि वरिपरिको प्रकृतिलाई नछामी चूप लागेर हिँड्न नसक्ने मेरो बानीका कारण रातको कालो अन्धकारमा पनि आकृति खोजिरहेको थिएँ । आकृतिसँगको सान्निध्यका सट्टा मेरो खुट्टा कतै ठोक्किन्थ्यो र मलाई लड्नबाट बचाउनाका लागि एकैपटक दुई जोर हातहरू अघि बढ्थे । हाइसञ्चो थियो मलाई दुईजना दाइका दुई जोर हातका कारण । त्यसकारण कहिलेकाहीँ लड्नु नपर्ने ठाउँमा पनि लडिदिऊँ कि जस्तो लाग्थ्यो तर मैले उहाँहरूको सहृदयताको शोषण गरिनँ ।

काठमाडौँदेखि साँगा भञ्ज्याङसम्म हामीलाई पु¥याउन आएको जूनसँग आधा राततिर कता पुग्दा हो, भेट भयो । संभवतः हाम्रो यात्रा सुरक्षित छ छैन भनेर हेर्न आइपुगेको थियो ऊ । हामी रातको घनघोर अन्धकारमा जुनकीरीको सहारामा हिँडिरहेको देखेर हुनुपर्छ, ऊ पनि हामीसँगसँगै अगाडि बढ्न थाल्यो ।

हामीसँग हिँडिरहेको जूनका कारण बाटाहरू झलमल्ल थिए । केही टाढाका दृश्यहरू आँखाले छाम्न सकिने थिए । कहिलेकाहीँ गौँडागल्छेडामा जूनले हामीसँग लुकामारी खेल्थ्यो तर तुरुन्तै हाम्राअगाडि हाजिरी दिइहाल्थ्यो । डाँडामाथि टुप्लुक्क देखापरेका जून, हातले टिप्न सकिने दूरीमा थियो । झाङको बीचबाट ऊ हामीलाई चियाएर हेरिरहेको थियो । उसको नाकमा समातेर आफूतिर तान्नाका लागि मैले आफ्नो हात झाङको बीचबाट छिराएँ । “अइøया” जूनलाई समाउँछु भनेर बढाएको हातले घँगारुका काँढालाई समाउन पुगेछु । हत्केलाबाट रगत बग्न थाल्यो । खल्तीबाट रुमाल झिकेर टम्म बाँधेँ । मलाई छल्न सकेकोमा जून मेरै टाउको माथि पुगेर हाँस्तै थियो । रिसले म उसको खुट्टामा झुण्डिन खोजेँ । “अइøया” जूनको खुट्टामा झुण्डिनाका लागि उफ्रिएको भनेको त एक कान्ला तल पो झर्न पुगेछु । दुवै दाइले मलाई बाटामा ताने । म सामान्य घाइते भए पनि हिँड्न सक्थेँ । मृगमरिचिकाका पछि लाग्नेको दशा मेरैजस्तो हुने रहेछ । त्यसपछि जूनसँग जिस्कन छाडेँ ।

हामी कहिले गोरेटो कहिले स्विस सरकारले खन्दै गरेको मोटरबाटो हुँदै अगाडि बढिरहेका थियौँ । कताकति रातको भयङ्कर नीरवताका बीचमा मानवबस्ती चकमन्नता ओढेर मस्त सुतेको भेटिन्थ्यो । कतैकतै ठूलो स्वरमा भुकेका भोटे कुकुरले पाखापखेरा थर्काइरहेका थिए । त्यसले रातको अन्धकार झन् त्रासद बन्थ्यो । हामी निशाचरसमान हिँडिरहेका थियौँ । जङ्गल, खोला, भीर, पहरा हुँदै हाम्रो यात्रा जूनसँगै अगाडि बढिरहेको थियो ।

संभवतः खरिढुङ्गातिर पुग्दा हुनुपर्छ पूर्वले सिँउदोमा सिँदुर लगायो । हामीसँग बिदा हुने तरखरमा रहेको जून र पूर्वकी बेहुलीको सङ्गमले अनौठो दृश्य उपस्थित थियो । सिरसिर मन्द गतिमा चलेका बतासले हाम्रा निधारका पसिना हल्कासँग पुछिदिदै थियो । रातभरि हिँडेको शरीरलाई थाक्न नदिन उसले हामीलाई स्फूर्ति प्रदान गरिरहेको थियो । त्यसैले रातभरि हिँडेर पनि हाम्रो शरीरमा थकान थिएन । हामी सोनराका धूलौटे बाटामा घर फर्किरहेका बयलगाडाका गोरु थियौँ ।

पूर्वतिर देखाउँदै दाजुहरूले डाँडापारिको चरिकोट देखाउनुभयो । चरिघ्याङ र सातदोबाटोमात्र देखिने चरिकोटको मुख्य बजार कोल्टे परेर सुतेको थियो । हामीले देख्ता चरिकोट आँखा मिच्तै आङ तानेर उठ्तै थियो । दिनभरि परिश्रम गरेर हिजो सुतेको चरिकोटलाई रातभरिको निद्रा अपर्याप्त भएजस्तो थियो । हामी भने ननिदाएरै फूर्तिला थियौँ । चारिकोटकै सिरानमा उत्तरतिर देखाएर उहाँहरूले मेरो परिचय कालिञ्चोकसँग गराउनुभयो । सिङ्गै दोलखाको स्वाभिमानी शिर भएर कालिञ्चोक उभिएको थियो । उसको ननिहुरिएको शिरलाई बुबाको शिरसँग दाँजेर अभिवादन गरेँ । त्यसपछि दक्षिणतिर देखाएर उहाँहरूले मेरो परिचय शैलुङसँग गराइदिनुभयो । मैले हात बढाएर ऊसँग अङ्कमाल गर्न खोजेँ तर लाजले रातो भएर ऊ खुम्चिएको पाएँ । मेरो स्वागतमा झुकेर अभिवादन गरेको रहेछ उसले । एकै छिनमा शिर ठाडो पारेर उसले छातीमा मलाई टाँस्यो र मेरा निधार र गालामा बिहानको कलिलो किरणमा टिल्पिलाइरहेका पसिनाका ढिकाहरू पुछिने गरी म्वाइ खायो । झण्डैझण्डै म निसासिने गरी उसले प्रदर्शन गरेको आत्मीयताका कारण मेरो शरीर हावामा उडिरहेको रुवासमान थियो ।

शैलुङबाट उडाउँदै पूर्वतिर खित्का छाडेर हाँसिरहेकी कञ्चनजङ्घासँग मेरो परिचय गराउनुभयो दाइहरूले । त्यहाँ पहिलोपटक दर्शन पाउन लागेकी मेरी हजुरआमाको प्रतिबिम्ब थियो । मेरो आगमनलाई सेता दन्तपङ्क्ति देखाउँदै उहाँ पर्खिरहनुभएको थियो । उहाँ निर्निमेष मलाई हेरिरहनुभएको थियो । उहाँका ओठ बोलिरहेका थिएनन्, आँखा बोलिरहेका थिए । ओठकाभन्दा आँखाका भाषा कैयौँ गुना शक्तिशाली हुने रहेछन् । तिनमा प्रत्यक्षीकृत हुन नसकेका व्यापक संसार अँटाएका हुने रहेछन्् । यो तथ्य मैले त्यहीँ बेला थाहा पाएँ । उहाँका सेतै फुलेका केशराशी कञ्चनजङ्घाका निधारवरिपरि यत्रतत्र छरिएका थिए । तिनलाई विस्तारै आँखाअगाडिबाट हटाउँदै उहाँ मेरा अनुहारमा दशकौँअगाडि हराएको छोरा खोजिरहनुभएको थियो । उहाँका चाउरी परेका गालामा छहरा भई झरेका मोतीका दाना टपटप झर्दै थिए । ती बहुमूल्य मोतीका दानालाई भुइँमा झर्न नदिन हत्तरपत्तर मैले आफ्ना हत्केला फैलाएँ । मेरा हत्केलामा दुई थोपा टल्किरहेका थिए । “शित पर्न अझै छाडेको छैन । जाऊ अब ।” दाइहरूले भनेपछि हत्केलाका बहुमूल्य दानालाई मेरी हजुरआमाकी उपहार सम्झेर छातीमा लगाएँ र दाइहरूसँगै हिँड्न थालेँ ।

जूनले फेरि हामीलाई दिनकरको जिम्मा लगायो । दिनकरको उज्यालोमा प्रकृति रातभरि पानी परेपछिको बिहानजस्तो छ्याङ्ग थियो । ऊसँग क्लेशको दाग थिएन । राग, द्वेष सबैलाई उसले बिर्सिसकेको थियो । नीलो कञ्चन आकाशको छातामुनि हाम्रो क्याराभान खरायोगतिमा अगाडि बढ्दै थियो ।

चरिकोट पुगेपछि जीवनमा पहिलोपटक मेरो सपनाको नगरी दोलखा टुप्लुक्क देखाप¥यो । काखमा नीलो तामाकोसीलाई थपथपाउँदै दक्षिण फर्केर दोलखा, बाटाभरि आँखा ओछ्याएर बसेको थियो । उसको आँखा मेरी बुढी हजुरआमाको जस्तै निर्निमेष थियो । दुवै हात टाढाटाढासम्म फैलाएर ऊ चौतारीमा पर्खिरहेको थियो । म हतारिदै बुर्कुसी मारेर कान्लाकान्ला नाघ्दै उसलाई भेट्न कुदेँ । मेरा पछिपछि म कतै ठोक्किएर–चिप्लिएर लड्ला कि भनी मेरा जून र दिनकरहरू पनि कुद्न थाले ।

श्रोत : साहित्य संग्रह

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *