लघुकथा ” फुच्चे चाऊ चाऊ “

शारिरिक शिक्षा शिक्षकले सिटी बजाए । दौड सुरु भयो । बिद्यालयको खेल मैदानमा साना साना ५० बाल बालिका दौडिए । नियमानुसार मैदानको पल्लो छेऊमा पुगेर पुन: दौड सुरु गरेको बिन्दुमा आऊनु पर्ने थियो । प्रतिष्पर्धी मध्य पहिलो , दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेलाई पुरस्कारको ब्यवस्था गरिएको थियो । सबैको एउटै लक्ष्य तिन स्थान मध्य एक स्थान जसरी भएपनि प्राप्त गर्ने ।

सबैका अभिभावक पनि उपस्थित भएकाले दौड अत्यन्तै उत्साहपूर्ण माहोलमा भएको थियो । आफ्ना बच्चा खेल मैदानको पल्लो छेऊमा पुगेर पुन: फिर्ता हुदाँ ” खिच बाबु खिच ( नाम पुकार्दै )….. हिप हिप … हुर्रे … अभिभावकबाट पनि हिटीङ भैइरहेको थियो । कोही कोही औलाले सिटी बजाउन जानेका अभिभावकले सिटी पनि बजाएका थिए । ……….
पहिलो , दोश्रो र तेश्रो स्थान प्राप्त गर्नेले गर्वका साथ बिजयी हात हल्लाए । एकदमै उल्लासमय वातावरण थियो त्याहाँ । मानौ ओलम्पिक खेल नै भएको थियो ।

पाँचौ र चौथो स्थानमा आउने एकदमै दु:खीत देखिन्थे ।कसै कसैका अभिभावक आफ्नो बच्चाको दौड देखेर निराशाजनक अवस्थामा चिन्तित थिए । कोही कोही बच्चाहरुले त पुरस्कार पाउने आशा मारेर बिचमै दौड छोडेर साइड लागेका थिए ।

दौड सकियो । पाँचौ स्थानमा आएकी एउटी बालिका मलिन अनुहार लगाउदै आफ्ना बाबाका नजिक आइन । बाबाले छोरीलाई उठाएर काखमा लिए र भने ” वेल डन छोरी . वेल डन …. हिड पसलमा गएर तिमीले रोजेको खाने है । के खाने ल भन ?! चाउचाउ , क्रिम बिस्कुट , कुरकुरे , आइसक्रिम के खाने भन , म त्यही किन्दिन्छु”
” … तर बाबा मेरो नम्बर कहाँ आएको छ र ?” छोरीले आश्चर्य मान्दै भनिन ।
” आएको छ छोरी आएको छ मेरो छोरीको पहिलो नम्बर आएको छ ।”
” हैन बाबा ! मेरो पाँचौ नम्बर आएको हो ।” छोरीले भनिन ।

” तिमी भन्दा पछाडी कति जना थिए ? भन त”
छोरीले जोड घटाऊ गर्दै भनिन ” ४५ जना “
” यसको मतलब तिमी ४५ जना मध्य फस्ट ” त्यसैले मेरो तर्फबाट तिमीलाई पुरस्कार ।”

” अनि म भन्दा अगाडीका चार जना नि ?” छोरीले रुन्चे स्वरमा सोधिन ।
” एकछिन मानौ ति चार जनासंग हाम्रो कम्पिटिसन भएकै थिएन ।”

” किन बाबा !?” मलिन हुदै छोरीले सोधिन ।

“किनभने उनिहरुले हामी भन्दा धेरै तयारी गरेका थिए । अब हामी फेरि प्रेक्क्टिस गर्ने छौ । फेरी ४८ जनामा फस्ट । अनि फेरी अझै धेरै मेहनत गर्ने छौ फे… फेरी ५० मध्य कै श्रर्बाधिक उत्कृष्ट पहिलो स्थान प्राप्त गर्ने “

” यस्तो पनि हुन्छ र बाबा ?”
” हुन्छ छोरी यस्तै हुन्छ ।”

” यस पटक जे भयो २ , अर्को कम्पिटिसनमा खुब प्राक्टिस गरेर पहिलो स्थान ल्याउने छु बाबा ” उत्साहित हुदै छोरीले भनिन

” यति हतार किन छोरी ? पहिला दौडिने खुट्टा बलिया हुन देऊ । अनि हामीले आफुभन्दा अगाडी बढ्नु छ ,बुझ्यौ , अरुभन्दा होइन ।” बाबाले भनेको सानी बच्चीले राम्रोसंग बुझ्न त बुझिनन तर विश्वासका साथ भनिन ।

” ओ के ! बाबा ! हजुरको इच्छा …!”

” अरे अब के खाने त्यो त भन ।” बाबाले मुस्कुराउदै भने ।
त्यसपछि एक नयाँ आनन्द , उमङ्गका साथ ४५ बालबालिका मध्य प्रथम भएको खुशीमा आत्मबिश्वासको अंकुर फुटाउँदै , बाबाको काखमा सुरक्षित महसुस गर्दै मिठो हाँसो प्रस्फुटन गर्दै शानका साथ भनिन ” #मलाई_फुच्चे_चाउचाउ चाहियो बाबा ! “

के आफ्ना नानीबाबुको रिजल्ट हेरेर सबै आमाबाबाको ब्यबहार पनि यस्तै हुन जरुरी छ ? प्रतिक्रिया अवश्य लेख्नुहोस् ।

सधै सुखी रहनुहोस् , खुशी रहनुहोस्

शेर र्सिह
बि.न.न.पा.-९ , सुर्खेत

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *