– प्रकाश सिलवाल

कैलालीको अत्तरियाबाट गाडी उकालो लागेपछि काठमाडौँका व्यस्त यादहरू पातलिँदै गएको अनुभूति हुन्छ। बेग्लै स्वाद लाग्न थाल्छ, सुन्दर सुदूरपश्चिमको। हरियाली। सफा। मीठो हावा। शान्त। बाटो पनि बलियो। सडकमा जति धेरै गाडी गुडे पनि दुई-चार वर्ष पिच उप्किने डर छैन। यहाँ कुनै ढल खनेर वा बिजुलीका तार मिल्किएर अवरोध हुँदैन। हत्तपत्त चक्काजाम पनि हुँदैन। किन बन्दैनन् राजधानीतिर यस्ता चिल्ला र गतिशील बाटाहरू?

यस बाटोमा गाडीको ओहोरदोहोर पनि त्यति हुने रहेनछ। अन्य क्षेत्रको तुलनामा न्यून। हामी गफिँदै गुडिरहेका थियौँ। मेरो प्रश्न थियो, यो बाटो कसको पालामा बनेको होला? शेरबहादुर देउवा वा लोकेन्द्रबहादुर चन्दको? सहयात्री बाबुरामसिंह थापाले भने, “चन्दले ट्रयाक खोलेका हुन् र देउवाले विस्तार गरेका हुन्।” यी दुवै जना यस क्षेत्रका नेता र पूर्वप्रधानमन्त्री भएकाले बाटो मात्र होइन, सुदूरपश्चिमका अधिकांश विकासमा अगुवा ठानिन्छन् तर

हरेक विकासमा नेताको मात्र होइन, जनसहभागिता र त्यसका नाममा उनीहरूले गरेका संघर्षका पनि इतिहास बन्नुपर्ने हो। नागरकिको इतिहास नेता वा अगुवासँग मिसिएर कहिलेकाहीँ विलीन पनि हुन पुग्छ।

सडक चिल्ला, सफा भए पनि यहाँका समस्या अनगिन्ती छन्। डडेलधुरालगायत सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायम छ। छाउपडी तत्कालीन कर्णाली (खसान) राज्यदेखि चलेको शब्दावली हो। महिनावारी हुँदा घरनजिकैको गोठ वा छाप्रोमा बसाइन्छ। सानो नानीकी आमा भए पनि नानीसहित गोठमा बस्नुपर्छ। जाडो महिनामा पनि गाई-भैँसीसरह चिसो सहनुपर्छ। यहाँका महिलाहरू अपहेलित छन्। उनीहरूलाई अरूले प्रयोग गर्ने शौचालय वा धारामा पनि जान दिइन्नँ। तर, भान्छाबाहेक अरू सबै काममा हाड घोटिने गरी खट्नुपर्छ। यद्यपि, परम्परागत संस्कारका परविारमा महिलामा यो भेदभाव कायमै छ। सामान्यतः महिनावारी नभएका बेलामा पनि महिलाहरू भुइँमै सुत्नुपर्छ। लोग्नेहरूचाहिँ खाटमा सुत्छन्। प्राचीनकाल सम्झने हो भने यहाँ नरबलि र देउकी प्रथासहित देवी भगवतीको पूजाआराधना हुन्थ्यो भनिन्छ। त्यसबाट पनि महिलाहरूले नै धेरै दुःख पाए होलान्।

कुराले मात्रै भोक नमार्ने भएकाले हामीले खाजा खाने ठाउँका बारेमा पनि निधो गर्नु थियो। गाडीले पहिलो बिसौनी कैलालीको सानो बजार बुढीतोलामा भनेजस्तो खाजा भेटिएन। तर पनि दाना खोजिरहेका पेटमा केही त हाल्नैपर्छ। अनि, पोखरेली जोडिएर लेखिएको होटेलमा पस्यौँ। मिक्स अचार पनि बिक्रीमा राखिएको रहेछ। सफा सिसामा राखिएका अचार देखेर मुख रसाउनु स्वाभाविक हो। ‘सिर्जनशील अचार समूह’को काम रहेछ यो। साहूजी मिजासिला रहेछन्, भन्दै थिए, “चाउमिन मीठो भएन कि? र्फकेर आउँदा पनि पस्नुहोला, दाउराको आगोमा पकाएको खाना खुवाउँला।” उनले बोनसका रूपमा एक-एकवटा चकलेट पनि दिए। सायद ग्राहक तान्ने काइदा।

दिउँसोको चार बजिसकेको छ। उकालो निकै काट्नु छ। यहाँबाट खानीडाँडा, सहजपुर, फल्टुडेँ, बुडर, डोटीका केही भाग हुँदै डडेलधुरा पुग्नुछ। चिसो मौसम। राजधानीले चिसो हावा खाइरहेको थियो। डडेलधुरामा हुने फरकफरक शैक्षिक संवाद कार्यक्रमका लागि हामी बाटो तताइरहेका थियौँ। यो यात्रा संयोग मेरा लागि पहिलो हो। निश्चित जिम्मेवारी लिएर हिँडेकाले समयमा पुगेर तयारीका काममा लाग्न नपाइएला भन्ने चिन्ता। यात्रा हो, तारानाथ शर्माको निबन्ध ‘घनघस्याको उकालो काट्दा’का यादहरू पनि छुन थालेका छन्। शर्माले बैतडीबाट डडेलधुरा पैदल आउँदा ०२४ सालमा देखेका ती अघोरी गाउँ र शाहीलेक त्यस उकालोमा अहिले पुल र मोटरबाटो पुगेको छ। प्रवेशिका परीक्षा गराउन गएका उनले त्यसबेला त्यस उकालोमा भरियासमेत नपाएको पीडा लेखेका थिए।

संवादैसंवादबीच साँझ तूफानडाँडा पुगियो। गाडीबाट झरेर बास बस्ने घरमा छिरेपछि पनि तूफानी हावाले मित्रता गाँस्न छाडेन। हामीले पनि टोपी, फेटा र ज्याकेट उपहार दिएर जाडोको ऋण तिर्ने प्रयास गररिह्यौँ।

यहाँ पनि लोडसेडिङ् रहेछ। त्यसैले टेलिभिजन र इन्टरनेट हेर्न नमिल्ने। स्थानीय केही पत्रिका भने हात परे। मात्र पाँचवटा दैनिक पत्रिका रहेछन्, यो एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा। तीनवटा एफएम पनि चलेका छन्। जेहोस् चौथो अंगको फैलावट सन्तोषजनक नै मान्नुपर्छ।

यात्राको मुख्य जिम्मेवारी ९ पुसमा विद्यालय शान्ति क्षेत्रबारे सार्वजनिक सुनुवाइ र भोलिपल्ट ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानमा सघाउने। त्यसैले ८ पुसका दिन घुमफिर र तयारीलाई दिइयो। शिक्षाकर्मीहरूको यो दौडाहा प्रायः यस्तै रहन्छ। यति दौडाहाका बीच डडेलधुराका सामुदायिक सुधारका लागि प्रतिबद्धता र घोषणापत्र जारी गराउने क्रम रोकिएको छैन। जिल्लामा एसएलसी उत्तीर्ण प्रतिशत २३ नाघ्न नसकेबाट माध्यमिक शिक्षाको स्तर झल्काउँछ। उच्च शिक्षाका लागि तराई र्झनेहरू बढी भएकाले जिल्लाले उच्च शिक्षाका लागि थप मार्ग कोर्न बाँकी छ। जिल्लाको साक्षरता भने ६५ प्रतिशतमा टेकेको छ। विद्यालय जाने उमेरका बालबालिकाको खुद भर्नादर ९६ प्रतिशत। अन्य जिल्लाको तुलनामा विद्यालयमा राजनीतिक हस्तक्षेप कम रहनु सुखद लाग्यो। घुमफिरमा हामी यहाँका बागबजार, कीर्तिपुर, पोखरा र टिमरोड सकेपछि ऐतिहासिक अमरगढी किल्लाभित्र प्रवेश गर्न भ्यायौँ। ६ हजार ५ सय फिटको उचाइमा रहेको यो ढुंगेकिल्ला विसं १८४७ ताका यहाँका तत्कालीन प्रथम प्रशासक अमरसिंहले बनाउन लगाएको इतिहास छ। कलात्मक छ। कति गाह्रो भयो होला त्यस बेलाका जनता र कालिगढलाई यो बनाउन? जनताका दुःखका इतिहासका आफ्नै कथा छन्। किल्लाभित्र लडाइँ गर्न सैनिकका लागि गुफाहरू छन्। शत्रु पक्षका युद्धशस्त्रनिरोध गर्ने मार्गहरू छन्। किल्लाको बीच भागमा उग्रभैरवको मूर्ति प्रतिस्थापन गरएिको छ।

यही गढीबाट राजा रणबहादुर शाहको पालामा खटिएका प्रशासक अमरसिंह थापाको नेतृत्वमा महाकालीपारिका पश्चिम काँगडासम्मका अंग्रेज फौजमाथिको विजय अभियानलाई जारी राखिएको थियो। अंगे्रज शासकले अमरसिंहलाई थामथुम पारेर वा कुनै सम्मानित उपहार दिएर फकाउने प्रकारको पत्र पठाए पनि उनले त्यो पत्रलाई चपाएर निलिदिएको र ‘यसको जवाफ म तोपले फर्काउँछु’ भनेका थिए रे ! यो विसं १८६० तिरको कुरा हो। सानो सुरङजस्तो बाटो पनि रहेछ। त्यस बेलाका भारदारहरू नुहाउन जाने बाटो त्यही हो रे ! अलि तल रानीधारा छ।

अमरसिंह थापाको शालिकमा ‘यस्तै प्रसिद्ध हुन सके पो…!’ भन्दै फोटो खिचाइयो। शालिकसँगै अमरसिंहको एक चर्चित उद्गार पनि लेखिएको थियो, ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ !’

अमरगढीको आसपासमा उस बेलामा केही प्राचीन घरहरू देखिए। ढुंगाले बनाइएका ती घरहरू बाहिरबाट हेर्दा बलिया र सानदार देखिन्थे। तर, कतिपय घरमा मानिस बस्न छाडेका रहेछन्। मानिसहरू यस सुन्दर डडेलधुरालाई छाडेर अमेरिकासम्म बसाइँ सरेको सुनियो। के नपुगेर होला? यी जीर्ण भवनहरूले उत्तर दिएनन्। अनि, हामी आफैँले जवाफ दियौँ, ‘सन्तुष्टिका पनि अनेक रूप हुँदा रहेछन्। यहाँभन्दा राम्रो धनगढी, त्यसभन्दा सुविधासम्पन्न काठमाडौँ, त्यहाँभन्दा झन् राम्रो अमेरिका…।’

टुँडिखेल पुगियो। तलतल फाँटवरपिरिका रमणीय गाउँको मनमोहकताले तान्यो। त्यहाँका मानिसलाई पर्ने दुःखबारे हामीले अनुमान गरेर केहीबेर घाम पनि ताप्यौँ। दुःखको तह कति कति? यसभन्दा दुःख र विकटमा बस्ने मानिस पनि त छँदै छन् नेपालमा। धेरै ठूलो कुरा के गर्नु, डडेलधुराको अमरगढी नगरपालिकामा केही दिन पहिले सरकारी प्रयासमा ‘खुला दिसामुक्त नगरपालिका’ घोषणा गरएिको रहेछ तर न कुनै सार्वजनिक शौचालय छ, न अन्य अवस्थामा सुधार नै आएको छ, यो घोषणा कागजी रहर र लहड मात्र।

त्यसपछि हामी उग्रतारा माईको मन्दिरतिर लाग्यौँ, जुन सुदूरपश्चिमका नौ जिल्लाकै ऐतिहासिक र धार्मिक आस्थाको केन्द्र हो। यहाँ कात्तिक शुक्ल पक्षमा मेला लाग्दा भारतबाट पनि मेला भर्न मानिस आउँछन्। प्राचीन कथन अनुसार एक साँकी जातिका किसानले हलो जोत्दै गर्दा त्यसको फालीले कुनै देवलको गाथ फुटाउन पुग्छ अनि रगतको भेल बग्न थाल्छ। त्यसपछि ती किसानले खिचडीले पोतेर रगत थामेका थिए रे !

बैतडी र भारतको सीमावर्ती पिथौरागढ जिल्लाका सीमा बैठकमा बढी कुरा उठ्ने गरेको सीमा बजार झुलाघाटमा महाकालीमाथि पक्की पुलको महान् सपना छ, सुदूरका नेपालीहरूको। तरकारी खेतीको क्रम बढाएर यसको बजार स्थापित हुने कहिले हो? गाउँतिर बस्ती विस्थापितसमेत गर्ने वनमारा घारीलाई प्रविधिको सहायताबाट बि्रकेट बनाउने कहिले होला? किसानलाई आफ्नो खेतीबाट खान पुग्ने वातावरण कसरी होला? सल्लाका खोस्टा कसले कतिसम्म निकाल्ने भन्ने विधि बनाउने कसले होला? ५ दशमलव ९१ हेक्टर क्षेत्रफलमा फैलिएको घटाल धार्मिक वन क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकीय र धार्मिक रूपमा परििचत गराउन बाँकी नै छ। रोचक कुरा, यस क्षेत्रमा सरकारले ०१४ सालदेखि दैनिक एक रुपियाँका दरले पूजाआजा खर्च दिँदै आएको छ।

‘रोटी खाना चिल्ला मीठा, कुरा खाना खस्रा मीठा’ भनेझैँ सुदूरपश्चिमेली जनताका आवाज क्रमशः राष्ट्रिय रूपमा उठ्दै आएका छन्। निर्वाचनमा देउवा वा अरू नेताले बाँडेका सपना पूरा हुन सकून्। देउवाले चुनावी भाषणमा भनेका रहेछन्, ‘डडेलधुरा, रूपाल हुँदै भारतको चम्फावत जोड्ने सडक बनाउने। जोगबुढा र कञ्चनपुर जोड्ने बाटो ल्याउने…।’ ठीकै हो। सपना बाँड्नुपर्छ र विपनामा बाँच्न पनि दिनुपर्छ, सपनालाई बेचेर आफू माथि पुग्ने मात्रै जाल बुन्नु सायद घातक हुन सक्छ। सुदूरपश्चिमका केही विमानस्थल गौचरनमा परिणत भइरहेको पनि धेरै भइसक्यो। डोटीको डोटी विमानस्थल, अछामको साँफे, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर विमानस्थलमा हवाईजहाज होइन, गाईबस्तु, बटुवा र खेलाडीहरूलाई देख्न सकिन्छ।

काठमाडौँमा ठूला नेताहरू अबको प्रधानमन्त्री को बन्ने? दोस्रो संविधानसभामा संसद्मा कसरी आफ्नो वर्चस्व स्थापित गर्ने? संविधान बनाउन देशी/विदेशी अवरोध भए के गर्ने भन्ने बहसमा छन्। यस बेला, संघीयतामा जाँदा अखण्ड सुदूरपश्चिम बनाउने या विभाजित सुदूरपश्चिम घोषणा गर्ने जस्ता प्रश्न अलि ओझेल पार्न थालेका छन्। थाहा छैन, सुन्दर सुदूरपश्चिमका असरल्ल सपनाहरू तूफानडाँडा र अमरगढीतिरका आकाशका बादलमा कहिलेसम्म यसरी नै रूमल्लिरहने हुन् ?

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *