– युवराज नयाँघरे
उडुसका खानिमा परिएछ !
हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान । उडुस आतङ्कले म भएँ महा दिक्क ! वाल्कर बस्न थालेको धेरै भएकै छन् । सुरुकै दिनदेखि एक खालको डाबर देखियो शरीरमा । एक जना बूढा रातभरि ग्यासमा काम गर्थे र उज्यालो खसिनसक्तै अपार्टमेन्टमा आइसक्थे । म लगभग कामविहीन थिएँ । वरपरका चिनारुहरुकाँ जान्थेँ र इमेल चेक गर्थें । ६१२ नम्बरको अपार्टमेन्ट । मैले त्यहाँ प्रवेश गरेको दुई दिनपछि नै यो ठाउँ नबिर्सने वरिपरिका बाटा, आँगन, पूर्वपश्चिमका दृश्य र उत्तरदक्षिणका कुइनेटा राखेँ मनमा । त्यति भएपछि हत्तपत्त भुलिहालिदैँन । हो, काम नभएपछि घर कुरुवा हुने नै भइयो ! मूल कोठाको दक्षिणी भित्तोमा लामो कालो सोफा थियो । एक मध्यान्ह त्यसमै ढल्केको थिएँ निदाएँछु । ब्यँुझदा त कुइनामा
डाबरैडाबर !
‘निदाएको मौका पारी केले चिलेछ !’
कुरा खेले मनमा । चिलाउन रोकिएन । हातले माडमुड पारेँ, ठ्याम्मै रोकिएन चिलाउन । यसो यताउता हेरेँ, डाबर त देखिए झन् बडेमानका । नुहाइधुवाइले ठीक होला कि भनेर खल्ल पखालेँ, तातो पानीले , अँहँ त्यसले टेर पुच्छरै लाएन । जिउमा अन्त पनि सरेजस्तो भयो चिलचिलाइ । म बसेको अपार्टमेन्टलाई हेडक्वाटर भन्थे मेरील्याण्डका नेपालीहरु । कारण, जो आए पनि सुरुताका उसको थातथलो र खानपिन त्यहीँ हुँदो रैछ । एक–दुई जना गफाष्टकहरुले बूढालाई एकदुई बोरा चामल, आठदस किलो प्याजआलु र पाँचसात किलो कुखुराका फोक्से मासु पठाइदिँदा रैछन् । अनि त्यसलाई सितन भनेर दुई लिटर जतिको एउटा बोतल नि भित्रिँदो रै छ । अब भइगो नि हेडक्वाटरको मेजमानी ! नेपालबाट पुगेका नेता, विद्यार्थी, समाजसेवी र कलाकारको सुरुताकाको अड्डै त्यै । त्यो उडुसे गँुडमा म पुग्दा एक जना सरल मनुवा थिए, चिकित्सक । अनि त्यहाँ फुच्चे नेता, भगुवा खेलाडी र पुङमाङे कलाकारको धुइरो लागिरहन्थ्यो एकोहोरो । ती मन लागी भान्सामा पसेर बोतल घुट्क्याउँथे, फिजका अन्नपात खान्थे र लापत्ता हुन्थे । लगभग धर्मशालै थियो अपार्टमेन्ट नम्बर ६१२ । अनि सबै हिँड्ने बेलामा भन्थे—‘उडुस त सल्केछ यहाँ पनि !’ तिनले भनेको ‘यहाँ पनि’ बाट लाग्थ्यो—अमेरिकाका अरु राज्यमा पनि छ उडुसको बिगबिगी । त्यो सलह यो राज्य हुँदै यस घरमा समेत आएको ज्ञात सहजै आएको तिनका बोलीको अर्थ हुन्थ्यो । खुबै भयो उडुस आतङ्क ।
म त दिनभरि उडुस मार्दै बस्न थालेँ लगभग । एक जना साथी म गए लगत्तै अन्यत्रै सर्नुपर्ने भयो । उनी सर्नुपर्ने कारण उडुस पनि हो भन्ने चर्चा त्यहाँ चल्यो । बूढाको कोठा अरुका निम्ति निषेध थियो । उनी रातिको निन्द्रा दिउँसो पु¥याउँथे घुरी–घुरी । एक गिलास ह्विस्की, एक कचौरा मकै र गेडागुडीको परिकार, एक डबका भुटेको मासु र एक कप कडा कफी बुत्याएर बूढा निदाइहाल्थे भसभसी । साँझ गएर बिहान आउने नित्य क्रमै थियो उनको । एक दिन तिनी घुँडा मुसार्दै बसेका थिए दिउँसो । म एक्कासि पुग्दा उनलाई त सोधखोज गर्न सजिलो भएछ । बास्तबमा टाउसन प्लाजामा भेटिएको काम सिकेर त्यो दिन रमाएर फर्केको थिएँ म ।
‘रक लेभनतिरका कीरा सरे कि क्या हो याँ नि ?’
‘कस्ता कीरा ?’
‘टोक्ने कीरा नि !’
‘उडुस भन्नुभा को ?’
बूढा किन हो उडुसलाई कीरा मात्र भन्थे ।
उनी जिउमा समेत डाबर उठेको देखाउन थाले । रातभरिको निन्द्रा नपुगेको रिस र हैरानी उनको अनुहार र बोलीमा ओर्लिन थाल्यो ।बास्तबमा खुब परेका थिए उडुस । उनले त आज मात्र थाहा पाए, तर उडुस आतङ्कले म निकै हैरान भइसकेको थिएँ । मलाई उडुसले साहृै सताएका थिए ।बैठक कोठा बाहेक भान्सा, शौचालय, दुई सुत्ने कोठा थिए । ढोकाको पश्चिमी चेपमा जुत्ता र अरु खिच्रिङमिच्रिङ थन्काउन मिल्ने सानो खण्डे आलमारीजस्तो कोठा नि थियो । बूढाको कोठा साहृै सुग्घर, सफा र तनक्क तन्ना कसिएको हुन्थ्यो । म दक्षिणपट्टिको कोठामा घरी, घरी बैठक कोठामा पसारिन्थेँ । यी दुबै कोठामा उडुसको सलह लगभग फैलिइसकेको थियो । एक साँझ बूढा र म सिनेमा हेरिरहेका थियौँ । डिसेम्बरको जाडोले हिउँ ल्याउन बाँकी नै थियो । वरपरका रुख नाङ्गै थिए । अझै भयानक चिसो खेप्नै बाँकी रहेको सूचना टेलिभिजनको वेदर ब्रोडकास्टबाट थाहा हुन्थ्यो । ‘म सब सहन्छु तर कीराको टोकाइ सहन सक्तिनँ । कति पटक कीरा ल्याउने विद्यार्थीलाई मैले याँबाट धपाएको छु । बरु अपार्टमेन्टको महँगो भाडा आँफै तिर्छु । कीरा ल्याउनेसँग चैँ बस्न सकिन्न !’ बूढा बम्किए । यो कुराले मेरो मन हल्लियो थरर्र । एकातिर काम नहुनु, अर्कातिर पराश्रित । अब मैले कसरी भन्नु, उडुस लागिरहेको कुरा ! म चुपचाप दिउँसो सोफाका चेप, सिरानीमुनिका उडुसका ढिल र खाटमुनिका उडुसका सेता फुल कपडाले पुछ्दै बस्थेँ । उडुस मारेका ठाउँमो बस्थ्यो रातो टाटा । सिरानीमुनि छपक्कै हुन्थे उडुसका बगाल । तिनलाई हातैले माडमुड पाथे र् ं म । अनि देखिन्थ्यो रगतको गाढा टाटो । तै त्यो कोठामा त्यत्तिको आउँदैनथे बूढा ।
‘यो विद्यार्थीको कोठा !’
उनले मलाई सुरुमै भनेथे ।
‘विद्यार्थी भनेका लापर्वाही हुन्छन् र ?’
बूढाले नै सोधे ।
‘किन र ?’
उल्टै सोधेँ मैले ।
‘हेर्नुस् न सबथोक छ, सबथोक छैन पनि !’
उनी आफ्नै कोठा पुगेर बोले । मोजाको रास, कपाल काट्ने मेसिन, रित्ता ह्याङ्गर, कोट हाल्ने धुलाम्मे खोल, फोहोरले भरिएको प्लास्टिकको भाँडो र असरल्ल बिजुलीको तार छ कोठामा । मैला खोल र तन्ना छन् गद्दे ओछ्यानमा । टेबुलमा छ पुरानो कम्प्युटर । तुर्लुङ्ग झुण्डिएका फलामे पाताका झ्याल । त्यसमाथि घुमैर्लो रङको पर्दा । मलाई के थाहा, यी सबै रै छन् उडुसका दरबार ! डरलाग्दो थियो उडुसको आतङ्क । भर्जिनियाबाट आएका साथीहरु नि उडुस–पीडा सुनाउँथे । रातभरिको काम, दिउँसो उडुसले निन्द्रा खल्बलाइदिएपछि पाएको सास्ती सुनाउँथे भाका फेरी–फेरी । एक साँझ बडवाइजर खाएर भावुक थिएँ म । काम भएन कि दक्ष भइएन ! हृदय रमाएन कि डलरको मोहमा परिएन ! सहज भइएन कि लगाव दिन सकिएन ! छड्किरहेको थिएँ यस्तै कुरामा । बूढा आए । केही अघि मात्र काममा गएका उनी एक्कासि घर फिर्दा चकित भएँ म । उनी सिनेमा लगाएर फेरि बसिहाले झमझमे झोलका साथ ।
‘दाइ, चाँडै फिर्नु भो त ?’
‘भोलि सिनेटर ल्याउने कि भनेको । याँ कीरा पसेजस्तो छ । कीरा भएको घरमा सिनेटर कसरी ल्याउनु ? साथीहरु भन्छन्, यहाँ आएर बस्यो कि घर नपुग्दै जीउ चिलाउँछ रे ! तपाईंलाई चिलेको छैन ?’
मेरो प्रश्नलाई उनले दिएको उत्तर थियो यो । अब उडुस आतङ्कबारे मैले के र कति मात्रै भन्ने ? मेरो रातभरिको निन्द्रा सारा चौपट भएको थियो । मलाई उडुसले पारेको आपत कसलाई भन्ने ? मेरो जिउमा उडुसले टोकेर पारेको राता–राता चिलचिलाउँदा डाबर कसले हेर्ने ? वास्तबमै ओछ्यान फेरी–फेरी सुत्थेँ म । सोफामा सुतिनसक्दै सेता उडुस छिनभरमै रगत चुसेर राताम्मे भई कुनाकाप्चातिर लापत्ता हुन्थे । साना बच्चा उडुस नि पुटुस्स भएर मेरो रगत पिएर चेपतिर पस्थे । अनि हुन्थ्यो औडाहा । चिलाएर जीउमा काउछो दलेको पीडा हुन्थ्यो । चिलाएको ठाउँमा कन्याउँदा–कन्याउँदा टट्याउँथ्यो । अनि बिस्तारै पोल्थ्यो ।
छँदाखाँदाको जिउ घाइते हुन्थ्यो । ‘हत्तेरिका, उडुसलाई रगत चुसाउन अमेरिका आइएछ !’ निन्द्रा खल्बलिएको झोँकमा भन्थेँ म । सोफापछि म दक्षिणपट्टिको गद्दे ओछ्यानमा पस्थेँ । सुरुको एकैछिन त झकाउँथेँ म । तर मेरो निन्द्रा कुरेर बसेका उडुसका सलह जब मेरो शरीर डस्न थाल्थे अनि भङग हुन्थ्यो निन्द्रा ! अब के हुन्थ्यो मध्य रातमा ? उही तकियाका चेपमा बसेका उडुस मा¥यो । तिनका फुल किचिपिची पा¥यो । भित्तामा दगुरिरहेका ढिल उडुस स्वात्तै दल्यो । खाटका कुनामा कुँडुलिएर थुप्रेका उडुसका बथान थिचथाच पा¥यो । त्यसपछि भुत्भुतायो—‘हत्तेरिका, उडुसलाई रगत चुसाउन अमेरिका
आइएछ !’ अनि म आफ्नै रातो च्यादर बोकेर बैठक कोठाको मध्य भुँइमा गएर सुत्थेँ मज्जाले । कुनाकानी कम भएको हुनाले त्यहाँ उत्तिको उडुस
लाग्दैनथे । उसलाई समेत लुक्ने ठाउँको अभाव हुँदो हो नि त ! एक रातमा तीन ठाउँ हुन्थ्यो मेरो ओछ्यान ! उडुसले गर्दा अपार्टमेन्ट नष्ट गरिएका कथा निकै सुनेथेँ मैले । उडुस आतङ्कले अपार्टमेन्ट खाली–खाली रहेर कम्पनी घाटामा गएका थुपै्र चर्चा मैले अरुहरुका मुखबाट नि सुनेथेँ । एक रात बिर्सेर मध्य बैठक कोठाको भुवादार गद्दामा सुतिरहेको थिएँ, ढोकाको सिक्री बज्यो खिर्लिङ्खिर्लिङ् । उठेर ढोका खोलेँ, बूढा रहेछन् । बैठक कोठामा पातलो तन्ना र तकिया देखेर उनले सोधिहाले—
‘आफ्नो ओछ्यानमा नसुती किन नि भुँइमा ? कीरा सल्के कि क्या हो
?’
‘जस्तै–जस्तै छ !’
म बोल्दै शौचालय पसेँ । अब के होला ? बूढासँग बस्नुपर्ने यत्ति हो कि ? भरेदेखि काँ होला डेराडन्डा ? बूढा कति झ्वाँक्किएलान् ? म पाकिनँ थालेँ ।
‘आज सिनेटर नआउने भए । हिलारीलाई श्रद्घाञ्जली दिन मकहाँ कार्यक्रम नराखी भएन । नेपाल चिनाउने एडमण्ड हिलारीबारे अब अरुले बोलेनन्, म मेरै कोठामा भए नि श्रद्घाञ्जली समारोहको आयोजना गर्छु । अब भ्याकुम लगाउँ, ओखती छरौँ हामी दाजुभाइ !’मैले शौचालयको ढोका खोल्दा सुनेँ यो कुरा । अनि सुरु भएथ्यो त्यो दिनको उडुस सफाया अभियान । सफासुग्घर र बढारकुँढार अनि पुछपाछ गर्दागर्दा लोथ भइयो । पासँुला बटारुन्जेल भ्याकुम चलाइयो । कुनाकाप्चा कपडाले झारझुर पारियो । सोफा उल्ट्याएर छरियो ओखती । अनेक बास्नादार औषधीले सारा अपार्टमेन्ट सुवासित पारियो । अनि हामी गयौँ ढोका लगाई, अल्मेडातिर ।‘धेरै ओखती छरेको ठाउँमा खान, बस्न र सुत्न हुँदैन । आज तीनै काम बाहिरै गर्नु !’ विजय दाइले भनेपछि हामी गएथ्यौँ । रातको बाहृबजेतिर सुत्नका लागि मात्रै आएथ्यौँ । खानेपिउने सबै काम एउटा परिवारको जन्मदिनमा सामेल भई सम्पन्न भएथ्यो ।
‘नबोलाएको ठाउँमा म कसरी जानु ?’
मैले भनेथेँ ।
‘होइन बोलाएका छन् । तपाईंलाई नबोलाएका हैनन्, मलाई भनेका छन् नि । कुरो सोझो छ, मकहाँ भएपछि मैले तपाईंलाई लान
नमिल्ने कुरै होइन !’
बूढाले अनेक कुतर्क गरी लगेथे मलाई ।
त्यहाँ नि कुरो चल्दै थियो—‘उडुसले हैरान ग¥यो !’
सोलोडोलो मोटाएकी एउटी आइमाईले भनी—‘भुटानी शरणार्थीले उुडुस ल्याएका हुन् रे !’
गिलास समात्नेहरु प्रतिवाद र समर्थन गर्दै थिए ।
वास्तबमा उडुसको चर्चा र बखान आआफ्नै ढङगले त्यो भोजमा भइरहेथ्यो
। त्यसबेला सारा मेरील्याण्डमा त्यसको प्रकोप भएको धेरैका मुखबाट व्यक्तिन्थ्यो ।
अब उडुस आतङ्कबाट मुक्त भइयो र ढुक्कले सुत्न पाइयो भन्ने
उल्लासमा थिएँ म । त्यो कुरा धरै पटक भनेँ पनि ।
ओच्छ्यान सार्ने झन्झटबाट मुक्त हुने आशामा अपार्टमेन्ट पसे
ँम।