लघुकथा :गल्ती
रचना शर्मा
गुरु विवेकानन्द भनेपछि नामै काफी थियो। कलेजमा हामीलाई नेपाली विषय पढाउनु हुन्थ्यो। ह्रस्व , दीर्घ , मात्रा , इकार , विस्मयादिबोधक , पूर्णविराम आदि धेरै कुरामा अलिकति बिग्रिएपनि गल्ती पक्रीइहाल्नुहुन्थ्यो। सहि उत्तर लेखें भनेर नम्बरको आशा गर्नु बेकार थियो।
एकदिन गुरुले कक्षामा पढाउँदा पढाउँदै कसैले जरुरी कामले बोलाएर एकछिनको लागि बाहिरिनु भयो। हामीलाई “पढ्दै गर, म आईहाल्छु” भनेर जानुभएको थियो । आफ्नो नोटकापी र हाजिरी रजिस्टर पनि त्यहीँ थियो। म फेरि के के नै जान्ने पल्टिएर गुरु आउन ढिलो होला भन्ने सोंची सबै साथीहरुको हाजिरी लिएँ। त्यति गर्दा पनि गुरु नआएपछि गुरुको नोटकापी अर्थात् डायरी त्यहीँ थियो , त्यसैले यसो हेरेको त आज पढाउने पाठको बारेमा केही लेख्नुभएको रहेछ। मैले हुबहु आफ्नो कापीमा छिटो छिटो सारें।
गुरु एकछिनमै आईहाल्नु भयो। मैले हाजिरी लिइसकेकोले गाली खाने होकी ! भन्दै टाउको निहुराई बसेकी थिएँ ।” यो काम तिमीले बाहेक अरुले पक्कै गरेका होईनन् धन्यवाद! ” भन्दै उल्टै स्याबासी दिनुभयो। त्यसपछि अलिकति पढाएर गृहकार्य दिनुभयो जसको उत्तर मैले पहिले नै गुरुको डायरीबाट सारेकी थिएँ ।
भोलिपल्ट सबैको गृहकार्य गुरुले चेक गर्नु भयो । ” बल्ल आज एउटा पनि गल्ती देखाउन पाउनुहुन्न” भन्ने सोंची म ढुक्क भएर बसेकी थिएँ। अचानक मलाई अगाडि बोलाउनु भयो र भन्नु भयो -” के गरेको यस्तो ? अरु दिनमा भन्दा पनि आज झन् बढी बिगारेकी? किन यस्तो लापरबाही हो व्याकरणमा हँ ?”
source:FB