लघुकथा : माया
मदन पराजुली
” बुढा ! सारै भोक लाग्यो ! ” सन्तुले बिलखबन्द परेर भनी ।
बिहान भालेको डांको मै उनिहरु बाटो लागेका थिए सन्तु र सन्ते । उजेलो हुदा बाटो छेउको पसलमा पसलवाल्नीले दिउँसो बेच्नलाइ भट्ट भुट्दै गरेको फेला परेकी हुनाले खाजा होला भनेर एक मानो किनेर सन्तेले कोटको खल्तिमा हालेको थियो । सन्तुको पाइलो लत्रन लागे जस्तो मानेर आधा भन्दा बढी झिकेर पटुकाको फांचोमा हालिदिएको हो , एकेक भट्टगेडी टोक्दै सन्तेको पछि लागेकी सन्तुको भोक मेटिनु भन्दा झन बढेको थियो ।
” हल ! हल ! त्यां पर खोल्सामा पानी छ । पानी खाएर जे छ त्यही खाम्ला ! “
पानी खाइसके पछि सन्तेले गोजीका बांकी भट्ट निकालेर सन्तुको पटुकीमा हाली दियो ।
” तिमी पनि खाउन !” आधा झिकेर सन्तुले लोग्नेको गोजीमा राखिदिइ ।
“आत्तिन पर्दैन ! पर देबीटारमा घर छन । खान पाइन्छ ।”
पाइला केही चाडो चलाए दुवैले । देबीटार सुनसान थियो । भएका दुई घर टांटी ठोकेर बन्द गरिएका थिए । अलिपर भैंसी चराउदै गरेको गोठालोले जानकारी दियो – जुठो परेकाले दुवै घरका मान्छे हिजै गाउँ गए । उनिहरुको खाने बन्दोवस्त हुन सक्दैन । उपाय नलागे पछि गह्रुङ्गा पाइलाले दुवैजना बाटो लागे ।
खोल्साको ढुङ्गेधारा नेर आइपुग्दा आँसु खसालुला जस्तो गरेर सन्तुले सन्तेको मुखमा हेरी । सन्तेले निरास भएर कोटको खल्तीमा हात हाल्यो । भट्टको एउटा गेडो बांकी रैछ । हत्केलामा राखेर सन्तुलाइ दियो । सन्तुले फोरेर दिउल निकाली र आधा सन्तेलाइ दिएर आधा आफुले खाइ । दुवैले ढुङ्गेधाराको पानी पेटभरी खाए ।
सारै मायालाग्यो सन्तुको सन्तेलाइ । दायांबाया हेर्दा कोहि नदेखे पछि दुवै हात सन्तुको गालामा राखेर पालैपालो म्वाइं खायो । सन्तुले उजेलो मुखलाएर मुसुक्क हांसी । दुबै जोइपोइ एकअर्काको भर पर्दै हातेमालो गरेर उकालो लागे ।