लघुकथा: भाग्यमानी
सुधिर कुमार “सुमन”
मेरो छोरी जन्मिदा ताका केशब मलाई सुनाइरहन्थे।
“म जस्तो भाग्यमानी को होला।सुरु मा नै छोरो जन्मियो।”
मलाई उनको भाग्य देखेर जलन हुन्थ्यो।
मेरो दोश्रो पटक छोरै जन्मिदा पनि केशब मलाई सुनाउँथे।
“म जस्तो भाग्यमानी को होला।दुई दुई ओटा छोरा भए। गाम्ले ले बोक्नै नपर्ने ।मेरै छोराहरु ले अगाडि पछाडी काँध हालेर घाट पुर्याउने भए।”
म फेरि उनको भाग्य देखेर जलेँ।बलेको आगो मा घिउ थपे जस्तो।
मेरो छोरो गाउँ मा नै मास्टरी गर्ने भयो।छोरी को पल्ला गाउँ मा बिहेवारि भयो।
केशब बेला बेला मेरो कुटी मा आउँथे।अनि सुनाउँथे।
“म जस्तो भाग्यमानी को होला।एउटा छोरो इङ्ग्ल्यान्ड अर्को अस्ट्रेलिया पुगेको छ।नाति नातिना बुहारी पनि उतै छन।शहर मा दुई दुई ओटा घर छ।एउटा घर भाडा मा लगाएर अर्को घर मा आनन्द ले बसिएको छ।”
भर्भराउँदो कोइला ठोस ठास पारे जसरी म एक चोटि फेरि दन्किएँ।
“बिचरा मर्ने बेला मा सुन पानी पनि पाएनन बुढा ले।”
“जेठो त आउनै नपाउने भयो अरे।कान्छा आइपुग्न पनि दुई चार दिन अझै लाग्ला”।
म ढिस्का मा बसेर मलामी को गफ सुन्दै थिएँ।अनि चिता मा दन्किएको भाग्यमानी केशब को शरीर हेरिरहेको थिएँ।
source: FB