ऊ अनि उनी! ६ बर्ष अघिदेखि एकअर्काको प्रेममा हराएका! काम र पढाईको सिलसिलाले ऊ दुई बर्ष अघि नै बिदेशिएको भएपनि दुई बर्षपछि आएर बाजा बजाई दुलही बनाएर भित्र्याउने वचन दिएको थियो। त्यही वचन सर्वोपरि ठानेर उनी पनि ढुक्क भई बसेकी थिइन्। बेला बेलामा माया साट्ने आधार मोबाईल थियो साहारा ।
दुई बर्ष चार महिना पुगेपछि ऊ आउने खबरले उनी धेरै खुशी भईन्। उसकै कल्पनामा डुबेर यता कहिले दूध उमाल्थिन् , कहिले रोटी डढाएर कालै पार्थिन् भने कहिले ग्यास बन्द गर्न भुलेर हिँड्थिन्। उसको प्रेममा उनी बेहोशिएकी थिइन्।
ऊ आईपुगेको खबरले भोलिपल्ट भेट्न भनि उनी हिँडिन् । सँधै जिस्किने उनको बानी , मास्क दिन्छु उपहार भन्ने सोंची राम्रो मास्क आफ्नो पकेटमा लिएर गएकी थिइन्। मनमा धेरै हर्ष लिएर उनी उसको घरभित्र पसिन्। त्यहाँ पुग्दा सबैको अनुहार धमिलिएको देखिन्।कसैसित केही सोध्ने हिम्मत आएन । सबै नुन खाएका कुखुरा सरि लल्याक् लुलुक भएका थिए।
त्यहीँ पल्लो घरको छिमेकीलाई हिम्मत जुटाएर उनले सोधिन् ।
उसको खबरले उनी त्यहीँ बेहोश् भइन् ।उनको सारा खुशी त्यहीँ सकियो। उसलाई हिजो आउनासाथै क्वारेनटाईनमा राखिएको रहेछ।