सानैमा बाबु बिते । आमा छब्बीस वर्षकी युवती थिईन त्यसताका । तीन सन्तान धर्तीमा आइसकेका थिए । उमेरमै विधुवा बन्नु परेको पीडाभन्दा पनि पोइ टोकुवाको भारी गाह्रो भो उनलाई , उन्तीसको हाराहारीमा ५ वर्षको सानो छोरा सहित तीन सन्तान अघोषित रूपमा देवरानीलाई जिम्मा लगाएर दोस्रो विवाह गरीन्।
रमा, आज एक्काईस पुगेकी छ । दुई भाइ अठार र बीसका । ठूलो मलेसिया छ, सानो एकमहिना पहिले एक्कासी हरायो । खोजिनीधि गर्दा नेपाल पुगेछ । अब जीवन एक्लो भो । सौतेनी मामाघरमा बसेर दुई भाइ हुर्काएको त्यो विगत र आज भाईहरु बिनाको एक्लोपना ।
” किन सधैं मसँगै अजिव घटनाहरु घटीरहन्छन् हँ” ? रमा उत्तर खोज्ने जमर्को गर्दिन । “आफ्नो जन्मको सार सकिएको नै हो त । ” अर्थ मात्र खोज्दछे ।
पतझड़को समय छ । गाउँपारीको एकान्त वनमा रुखमा एउटा पनि पात बाँकी छैन । रमा निकैबेर रुखलाई तलदेखि माथिसम्म हेर्छे। रुख नाङ्गो छ तर जिवितै । बोक्राका खालहरु हरियै छन् । रुख नयाँ आउने ऋतुसँगै जीवन फर्किने आशमा ठिङ्ग उभिएको छ, उ जस्तै । सरर एक झोक्का हावासंगै सुकेका पातहरु उडेर परपर पुग्छन् । दुईचार पात उसको नजिकैबाट छुट्टिन्छन । उ आफ्नाहरुलाई पातहरुसँग तुलना गर्छे ।
हातमा बन्चरो बोकेको एउटा दाउरे रुखहरु नियाल्दैछ । आफू मुन्तिर बसेको रुखको एउटा हाँगो उसको नजरमा पर्छ ।
” बन्चरोको बीँड भाँचिएर हैरान पारेको छ । खै, खै नानी ! यो हाँगो राम्रो र´छ । “
रमा त्यहाँबाट उठेर पर जान्छे। ” यी रुखहरुको पुनर्जीवन संझेर जीवन अर्थ्याउन खोजेकी थिएँ । तर यसरी हाँगाहरु पनि काटिदै गए भने —- ।
आफ्नो परिवेश, पतझड मौसम, खुईलिएको रुख, सोझो हाँगा, दाउरे अनि बन्चरोको बीँड— र नारीको जीवन । ” रमा रुख झैं प्रतिक्रिया विहिन ठिङ्ग उभिरहन्छे ।
source: laghukatha kuno