– उध्दव अविदित
गञ्जी लगाई लखर लखर हिँडिरहने भोलालाई चोकको त्यो पुलिसले निक्कै याद गरिरहेको रहेछ । लकडाउनको बेलामा कहिले यता आइरा देखिने ! कैले उता गैरा देखिने ! ! पुलिस नै वाक्क दिक्क इरिटेड ! ! !
अति गरेपछि आखिरमा भोला समातियो पुलिसबाट । कोरोनाको डरले घरघरमा गुम्सिएर बसेका छिमेकी पनि कोहि निस्केनन विचरा ती सोझा भोलालाई बचाउन । अब भ्यानमा राखी चौकी लैजाने भएपछि भोलाकै घरको ढोका मुखमा २ जना पुलिस अहिले उसलाई घेरेर उभिएका थिए ।
‘नगर्नु गल्ती गरिहालेँ हल्दारसाप, चौकीमै लानुहुन्छ भने यो गञ्जीमाथि एउटा बुसर्ट भिर्न दिनुस है,’– रुलाँ जस्तो गरेर अनुनय गर्यो भोलाले ।
‘भाग्न खोज्या तँ ?’ – आँखा पल्टाएर सोध्यो पुलिसले ।
‘हैन सुत्त गएर फुत्त आइहाल्छु म हल्दारसाप’ – निरिह मनुवाले बोल्यो यहाँनिर ।
‘भ्यान आउन लागिसक्यो, लौ चाँडो गएर आइहाल’– हवल्दारको मनमा फुत्त दया उम्रियो ।
अनि त भोला दौडीहाल्यो भित्रतिर ।
लौ एकैछिनमा भ्यान पनि आइहाल्यो, इन्सपेक्टरसाप आफैपनि आ रैछन उल्लघंनकर्तालाई पक्राउ गर्न । उनीहरु सबै कुरिरहे, तर भोला निस्केन भित्रबाट । त्यसबेलासम्ममा त्यहाँ रामरमिता जमिसकेको थियो ।
‘ढकढक….. ढकढक….. ढकढक….. ए बाहिर निस्की’ केहि सिप नलागेपछि प्रहरीहरु उसको घरको ढोका ढकढक्याउँदै, चिच्याउँदै थिए ।
‘कसरी निस्किनु हल्दारसाप ? बाहिर लकडाउन छ’– निकै बेरपछि भित्रबाट त्यो भोला चिच्याएको सुनियो ।
विचरा प्रहरीहरु चिल्लै !
श्रोत : रातोपाटि डट कम