सम्झना
२३ सेप्टेम्बर १९७३ मा चिलीका विश्वविख्यात लेखक पाब्लो नेरुदाको ‘निधन’ भयो । आजसम्म संसारलाई उनको निधनका कारण बताइएको थियो– प्रोस्टेटको क्यान्सर । तर, संसार त्यतिवेला आश्यर्चचकित बन्यो जब नेरुदाका अंगरक्षक म्यानुयल अरायोले आठ वर्षअघि नेरुदाको हत्या भएको दाबी गरे । नेरुदाको अन्तिम घडीसम्म उनको निकट रहेका अरायाले तत्कालीन अगस्टो पिनोचे तानाशाही शासनले नेरुदालाई विषालु सुई दिएर हत्या गरेको ‘रहस्योद्घाटन’ गरे ।
सन् १९७३ सेप्टेम्बर ११ अर्थात् नेरुदाको निधन हुनु बाह्र दिनअघि चिलीमा तात्कालीन प्रगतिशील राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकार अपदस्थ गरी संरा अमेरिकी गुप्तचर विभाग सिआइएको सहयोगमा सैनिक जनरल अगस्टो पिनोचेले सैनिक विद्रोह गरेका थिए । त्यसताका नेरुदा नोबेल पुरस्कार विजेता कविका साथै एलेन्डे सरकारका खम्बा थिए । एलेन्डेको कम्युनिस्ट पार्टीका नेरुदा सदस्य थिए । सन् १९७० को राष्ट्रपति निर्वाचनका एकजना सम्भावित उम्मेदवार थिए उनी । पछि उनले ऐलेन्डेलाई समर्थन गरे र एलेन्डे राष्ट्रपति बने । त्यसताका उनले विभिन्न देशमा राजदूतका रूपमा पनि योगदान गरे ।
अगस्टो पिनोेचेको तानाशाही शासनका लागि नेरुदाका प्रगतिशील विचार सह्य हुने कुरै भएन । त्यसमाथि नेरुदाको धारिलो कमलबाट जन्मिने साहित्य पनि पिनोचे शासन ढाल्न पुग्थ्यो । त्यसैले अरायाका अनुसार सैनिक विद्रोहपछि मेक्सिकोमा स्वनिर्वासित हुने तयारीमा रहेका नेरुदालाई पिनोचेका केही चिकित्सकले विषालु सुई दिएर मारेका थिए ।
नेरुदाको निधनबारे मुद्दा परेपछि सन् २०११ जुनमा चिलीका एक न्यायाधीशले सो विषयमा अनुसन्धान थाल्न आदेश दिए । त्यही वर्षको डिसेम्बर महिनामा चिलीको कम्युनिस्ट पार्टीले न्यायाधीश मारियो कारोजालाई नेरुदाको चिहान उत्खनन गरी अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । त्यही अनुसन्धानको सिलसिलामा सन् २०१३ मा चिहान खन्ने काम सुरु भएको थियो ।
आरायाको बयान
चिलीका लागि तात्कालीन मेक्सिकाली राजदूत गोञ्जालो मार्टिनेज कोर्बालाले नेरुदालाई मेक्सिको पठाउने बन्दोबस्त मिलाएका थिए । नेरुदाले मेक्सिको जान आफ्नो निवासस्थान इस्ला निग्राबाट केही लुगाफाटा, किताब, पैसा र आफ्नो आत्मवृत्तान्तको पाण्डुलिपि लिन अरायालाई पठाएका थिए । एक दिन अघि अस्पतालमा नेरुदालाई भेटेका राजदूत मार्टिनेजले पनि उनको अवस्था ठिकठाक पाएका थिए ।
सेप्टेम्बर २३ का दिन राजदूतले अरू एक सय निर्वासन जानेहरूसँग नेरुदालाई पनि पठाउन डिसी–८ विमानको बन्दोबस्त गरेका थिए । तर, अन्तिम समयमा आएर नेरुदाले अर्काे दिन मात्र जाने निर्णय गरे । नेरुदाले आइतबार (२३ सेप्टेम्बर) बिहान ४ बजे अरायालाई फोन गरे र तुरुन्त अस्पतालमा आउन भने । फोनमै उनले आफूलाई चिकित्सकहरूले सुई दिएको र असाध्यै पीडा भइरहेको बताएका थिए ।
नर्सले ‘सर्गियो ड्रापर’ नामका चिकित्सकले जोरो कम गर्न डिपिरोन सुई दिएको बताइन् । तर, सुई दिने चिकित्सक को हो यकिन हुन सकेको थिएन । मात्र यति थाहा भयो– उनको हातमा खोपेको नामको थर भने ‘प्राइस’ थियो । चिलीका अनुसन्धान प्रहरीले त्यतिवेलाका चिकित्सकहरूको नामावली अध्ययन गर्दा ‘प्राइस’ थरका कोही पनि भेटाउन सकेनन् ।
अराया नेरुदालाई औषधि किन्न अस्पताल बाहिर जाँदा उनलाई चारजना पुरुषले समातेर कुटपिट गरेका थिए । उनको खुट्टामा गोली हानी घाइते बनाएका थिए । त्यसपछि उनलाई चिलीको राष्ट्रिय रंगशाला पुर्याइएको थियो, जहाँ तानाशाही शासनकालमा धेरै वामपन्थीलाई यातना दिने र मार्ने काम भएको थियो मानवअधिकारकर्मी राउल सिल्भा हेनरिकको पहलमा पछि अरायालाई मुक्त गरियो र उनी निर्वासित भए । ‘नेरुदाले अर्काे दिन मात्र जाने आग्रहले नै उनको हत्या भयो,’ अराया बताउँछन् ।
‘सत्य’बाट झुटसम्म
समयान्तरमा भएको अनुसन्धानले नेरुदालाई विषालु सुई दिएर हत्या गरिएको प्रमाणित भयो । इतिहासमा स्थापित एउटा ‘सत्य’ झुटा प्रमाणित भयो । चिली सरकारले नेरुदाको पोस्टेट क्यान्सर रोगबाट निधन भएको प्रचार गरेको थियो । सन् २०१७ मा विभिन्न देशका १६ जना विज्ञ वैज्ञानिकको टोलीले गरेको अनुसन्धानको निष्कर्षमा नेरुदाको निधन कुनै पनि हालतमा पोस्टेट क्यान्सरबाट नभएको प्रतिवेदन सार्वजनिक गरेका थिए । नेरुदाको मृत शरीरका अंग डेनमार्क र क्यानाडाका फोरेन्सिक जेनेटिक ल्याबमा प्रयोगको लागि पठाइएको थियो । यसअघि सन् २०१५ मा चिली सरकारले आधिकारिक रूपमै नेरुदाको निधनमा कुनै ‘तेस्रो पक्ष’ जिम्मेवार भएको हुनसक्ने बताएको थियो ।
समयान्तरमा भएको अनुसन्धानले नेरुदालाई विषालु सुई दिएर हत्या गरिएको प्रमाणित भयो । इतिहासमा स्थापित एउटा ‘सत्य’ झुटा प्रमाणित भयो ।
क्यानाडाको मेकमास्टर विश्वविद्यालयका प्राध्यापक देवी पोनियरले नेरुदाको शरीरमा माटोमा पाइने ब्याकटेरिया भेटिएको र तीमध्ये केही व्याकटेरिया विषालु समेत भएको बताए । नेरुदाको मृत्यु प्रमाणपत्रमा उल्लेख भएजस्तै उनको निधन कुनै क्यान्सर रोगबाट नभएको ती विज्ञ वैज्ञानिकहरूले पुष्टि गरे । नेरुदाको हत्या हुँदा उनी बसेको कोठामा सँगै थिए चिलीका पूर्व राष्ट्रपति इडुआर्डो फ्रेइ मोन्ताल्भा ।
उनी पनि पिनोचेको तानाशाही सरकारका विरोधी थिए । तर, उनको निधन पिनोचे सरकारको उत्कर्ष सन् १९८२ मा भएको थियो । त्यत्तिबेला नेरुदाको हत्याबारे उनले पनि केही बोल्न सक्ने अवस्था थिएन । मोन्ताल्भाको निधन हर्नियाको शल्यक्रियाको क्रममा भएको प्रचार गरियो । तर, उनको पनि हत्या भएको अभियोगमा सन् २००९ मा चिली प्रहरी प्रशासनले छ जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
यसअघि साल्भाडोर एलेण्डेको मृत्युबारे यस्तै रहस्योद्घाटन भएको थियो । सन् १९७३ को सैनिक विद्रोहमा एलेण्डेको हत्या भएको भनी संसारभर एउटा ‘स्थापित सत्य’ त्यतिबेला असत्य प्रमाणित भयो जब उनको लासको वैज्ञानिक अनुसन्धान उनी आफैले आफैँलाई गोली हानी आत्महत्या गरेको निष्कर्ष निकाल्यो ।त्यस्तै घटना प्लोस्टाइनी नेता यासेर अराफातको निधनको सन्दर्भमा पनि भएको थियो । अराफातलाई फ्रान्सको अस्पतालमा उपचार गराइँदा विष प्रयोग भएको कालान्तरमा प्रमाणित भयो ।
एलेन्डे शासनमा चिलीमा तीनजना जनप्रिय व्यक्ति थिए, एक एलेन्डे स्वयं जो सैनिक विद्रोहकै दिन मरे, दोस्रो थिए– गायक भिक्टर जारा, उनी पनि घटनाको केही दिनपछि नै मारिए । बाँकी थिए पाब्लो नेरुदा । यी तृतीय चर्चित व्यक्तिलाई पनि निमिट्यान्न पार्न पिनोचे शासन लागेको हुन सक्ने अनुमानमा मात्र आधारित छैन । नेरुदाको मुद्दा हेरिरहेका चिलीका कानुन व्यवसायी भन्छन्, ‘एलेन्डेको बिरासत सम्हाल्न सक्ने एकै जना बाँकी व्यक्ति नेरुदालाई मारिएकोमा म विश्वस्त छु ।’
नेरुदा निर्वासित भएर मेक्सिकोमा पुग्दा उनलाई मेक्सिकाली राष्ट्रपतिले विशिष्ट अतिथिका रूपमा सत्कार गर्ने तयारी थियो ।
कम्युनिस्ट विचारप्रति बलियो अडान, राजदूतका रूपमा विभिन्न देशमा काम गरिसकेको छवि र विश्वव्यापी ख्यातिका कारण उनले निर्वासित सरकार बनाउन सक्ने सम्भावनाबाट पिनोचे डराएको हुनुपर्ने विश्लेषकहरूको मत छ । चिलीको राजधानी सान्टियागोस्थित अस्पतालमा नेरुदाको लास तुरुन्तै सैनिक विद्रोहपछि साता दिनमै मारिएका एलेन्डेका सहयोगीहरूको नामावलीमा चढाइएको थियो ।
पिनोचे शासनकालमा चिलीमा नेरुदाका सम्पूर्ण साहित्य प्रतिबन्धित थिए । तानाशाही केसम्म गर्न सक्दा रहेछन् भन्ने कुराको एउटा ज्वलन्त दृष्टान्त बनेको छ नेरुदाबारेको यो रहस्योद्घाटन । जनताका प्रिय मानिसलाई सफाया गर्न तानाशाहीहरू कतिसम्म निकृष्ट व्यवहार गर्छन् भन्ने कुराको उदाहरणमा यो रहस्योद्घाटनले अर्काे आयाम थपेको छ ।
अन्ततः सन् १९९० को दशकमा पिनोचे शासन अन्त्य भयो । जनतबाट अन्त्यहीन घृणा र बदनामीको भारी बोकेर पिनोचेको टिठलाग्दो मृत्यु भयो । आज पनि चिलीका जनता पिनोचेको नवउदारवादी शासनसत्ताको पछिल्लो संस्करणले जनतामाथि थोपरेका जनविरोधी कानुनविरुद्ध महिनौँ लडिरहेका छन् । चिलीमा प्रगतिशील व्यवस्थाका पक्षधर जनताले पिनोचेकाललाई कालरात्रिको संज्ञा दिन्छन् । पिनोचेले नेरुदा र अन्य हजारौँ कम्युनिस्टलाई सखाप पारेर आफूले अमरत्व पाउने सपना देखेका थिए, तर मारिएको ४० वर्ष पछि नेरुदा चिहानबाट उठेर न्याय खोज्दै छन् ।