हिउँदको एक दिन

हिउँदयामको बुढो घाम दिनभर अल्झी बस्छ, घरमुन्तिरको बाँसझ्याङमा । बेफुर्सदिलो किसानका औँलाहरूमा झुन्डिएर दिन घरी वल्लो खेत घरी पल्लो खेत ओहोरदोहोर गरिरहन्छ । गाउँभरि प्रायः सबैले मंसिरे धान थन्(क्याउने काम सकिसकेका छन् । सबैलाई चटारो छ, हिउँदेबालीका लागि खेत जोत्न । कोही बाँझो चिरिसकेका गह्राहरूमा मल ओसारिरहेछन् । कोही डल्ला फुटाइरहेछन् । गाउँ बस्नुको मज्जा नै बेग्लै.., साँच्चै पृथ्वी घुमिरहेको अनुभूति हुन्छ । 

बिहान प्रायः नुन–मरिच मिसिएको तातो चिया पिइसकेर निस्कन्छु हलो जोत्न । पोहोर साल मात्र बिष्ट गाउँबाट किनेर ल्याएको जवान हलगोरु । आफैँ मेलो खेदिरहने साह्रै सुबानी । बाँझो चिर्दाको सकस चास काट्न थालेपछि त्यसैत्यसै हराई जान्छ । लाग्छ, म एउटा लामो पैदलयात्रामा कतै हिँडिरहेछु । सोच्छु, हलो जोत्दा उचालेका मेरा पाइलाहरूलाई जोड्ने हो भने म यो पृथ्वीको कुन भूखण्डमा हिँडिरहेको हुन्थेँ होला यतिखेर । तर, पुग्नु कतै छैन, उही खेत उही छेउकुना । उही सपना र उही बाटाहरू । उही गाउँ र उही साथीहरू ।

मनभरि अनेक कुरा खेल्छन् । केही क्षण नमिठो गरी हिर्काउँछ पूर्वस्मृतिहरूले, तर फेरि आइपुग्छु उहीँ आफ्नै दैनिकीको आँगनछेउ ।

टाँडे घरको मुन्तिर गाईभैँसीको कँुडो पकाउने अगेनाछेउ आगो तापेर बसिरहनुभएको छ, बुढी हजुरआमा । आफैँ हिँड्न सक्नुहुन्न । कसैले सहारा दिएर हिँडाउनुपर्छ । घरीघरी टाढैबाट कराउनुहुन्छ, ‘पोहोर साल पनि मकै राम्ररी उम्रिएन, राँटाराँटी मर्नेगरी राम्ररी जोत है कान्छा !’ घरी उत्तरतिर फर्किएर नमस्कार गर्नुहुन्छ । तरक्क आँसु झार्नुहुन्छ र ढोग्नुहुन्छ पहाडलाई… मानौँ, पहाड भगवान् हो
उहाँका लागि ।

हरेक वर्ष हिउँद लाग्यो कि पहाड जाने भनेर जिद्दी गर्नुुहुन्छ, हजुरआमा । एकोहोरो उत्तरतिर फर्किएर भन्नुहुन्छ, ‘ए… ! कसैले त लैजाऊ न मलाई पहाड … आफू जन्मेको, हुर्केको ठाउँ एकपल्ट हेरेर मात्र मर्न चाहन्छु … मरे उतै गाड्नु मलाई ।’ तर, अफसोच चौरानब्बे वर्षको जीर्ण शरीर पहाड पुग्नु प्रायः असम्भव भइसकेको छ । आँगन नै परदेश, बुढेसकाल पनि यातनाहरूको उमेरजस्तो । प्रायः सधँै एक्लै धुमधुम्ती । सिरानीमा सधँै उमेरझैँ बांगिएको एउटा लौरो । 

‘कामले मरिँदैन बरु खानुले मरिन्छ, अहिलेको तिमेरको दुःख के दुःख … ! उहिले त्यो ओरालैओरालो दुई घन्टा हिँडेपछि पुगिने थुमथुमेको गैरी खेत । जाँदा डोकोभरि मल, आउँदा उकालैउकालो दाउराको भारी, कहिलेकाहीँ बाटोमै रात पथ्र्याे । चिनेको घरमा अगुल्टो माग्थेँ र अगुल्टो हल्लाउँदै राति घर आइपुग्थेँ । हिउँदबर्खै उकालोओरालो गरिरहनुपर्ने । भाततिहुन, सुँगुरचारो, गाईवस्तुलाई घाँसपात । जहिल्यै कामको धपेडी । सास फेर्नसम्म पनि फुर्सद नपाइने । अहिले सम्झन्छु, धन्न त्यस्तो दुःखमा पनि कसरी थामी ल्याएछु घरपरिवार । त्यो वेला पहाडमा गरेको दुःखले होला, अहिले मेरो यसरी हड्डी खिएर थला परेको … । हुन त अब मेरो दिन पनि पुगेको हो । औषधि उपचार पनि नगर्नु मलाई । तर एकपल्ट पहाड चै लैजा है कान्छा …!’ हजुरआमाले प्रायः दोहो¥याइरहने वाक्य हुन् यी । 

रुग्ण शरिर, केटाकेटीको जस्तो आनीबानी । आजभोलि खुब सुर्ता लाग्न थालेको छ हजुरआमाको । चाहेर पनि उहाँको पहाड पुग्ने सपना अब कहिल्यै पूरा हुनेछैन । बस ! स्मृतिमा मात्र बाँचिरहनेछ त्यो पहाड । 

चारखुट्टी जोतिसकेर थकाइ मार्छु एकछिन । तलतल हेरि पठाउँछु बकुल्लेखोल्सी । उहिले केटाकेटीमा कहिलेकाहीँ माछा मार्न हजुरआमासँग जान्थेँ त्यो खोल्सीमा । माछा पनि प्रशस्त पाइन्थ्यो । बकुल्लाले खाएर पनि कहिल्यै नसिद्घिने, तर चिप्लो माछा आफूले भनेजस्तो कहिल्यै पक्रन सक्दिनथेँ । पक्रिहाले पनि पैया, डेरियाजस्ता ससाना माछा मात्र पक्रन सक्थेँ । आजभोलि त्यो खोल्सीमा माछा छैन । बकुल्ला पनि छैन । त्यो ठाउँ सिमसार कम, मरुभूमि ज्यादा भइसकेको छ । कहाँ गए होलान् ती माछाहरू ? सम्झन्छु । कतै ती माछाहरू नै यो जुनीमा आएर मेरा सपनाहरू बनेका त होइनन् जसलाई जति समात्न खोजे पनि फुत्केर गइहाल्छ, मेरा यत्नहरूको हत्केलाबाट । तर, पनि हिँडिरहेछु, समयको अनौ समातेर आफ्ना सपनाहरूसम्म पुग्न ।

एक दिन आँगनमा घाम तापिरहेको वेला सोधेको थिएँ, हजुरआमालाई, ‘आजभोलि तपार्इं सपना कस्तो देख्नुहुन्छ ?’ बुढ्यौलीले थलिएका ओठहरू थर्थराउँदै भन्नुभाथ्यो, ‘कान्छा… ! मेरो त अब सपना देख्ने उमेर सकियो । अब तिमीहरूको पालो है । पहाड गएर मर्नुबाहेक अब कुनै सपना छैन मसँग ।’ उहाँको उत्तरले निकै स्तब्ध भएको थिएँ त्यसवेला । साँच्चै नै मान्छेको सपना देख्ने उमेर पनि सकिन्छ कि क्या हो ? म पनि यसरी नै बुढो हुनेछु एक दिन । धुमधुम्ती एक्लै खोक्दै बसिरहनेछु जीवनको आयु । 

केही छिन थकाइ मेटाएपछि जोत्न थाल्छु । फेरि मनभरि अनेक कुराहरू खेल्न थाल्छन् । उफ् ! यो समय पनि कति चाँडै बितिजाँदो रहेछ । हिँड्दाहिँड्दै बोल्दाबोल्दै थाहै नपाई कत्तिखेर कत्तिखेर बुढो भइसक्दो रहेछ मान्छे, तर  मान्छे बुढो भए पनि मान्छेका दुःखहरू कहिल्यै बुढो नहुँदा रहेछन् । लाग्छ, चन्द्रमादेखि पृथ्वीमा हेर्दा पनि देखिने त ग्रेटवाल र मान्छेका दुःखहरू मात्र होलान् । दुःखहरू छन् र त संघर्षले महान् बनेका छन् मान्छेहरू । दुःख नहुँदो हो त, कस्तो हुन्थ्यो होला यो संसार ! लाग्छ दुःखहरू नै चेतनाका आविष्कारक हुन् । 

०००

शनिबार छुट्टीको दिन आज । चौबाटो छेउको पीपलको रूखमुनि केटाकेटीहरू भेला भएर भाँडाकुटी खेलिरहेछन् । कक्षाकोठाको आयतनले थिचेका उनीहरूको आवाज आज बिहानैदेखि उन्मुक्त भएर विचरण गरिरहेछ खुला आकाशमा । न कुनै दुःख न कुनै चिन्ता । उडिरहेको हवाईजहाज देखेर उड्न खोज्छन् । चराहरू झैँ कराउन खोज्छन् । रूखका पातहरूलाई पैसा बनाएर कोही व्यापारी कोही ग्राहक बन्छन् र किन्छन् आफूलाई मन पर्ने चिजहरू । आहा… ! बालापन, लाग्छ मान्छेहरूले आफ्नो जीवनको सबैभन्दा सुन्दर क्षण बालापनमै भोगिसकेका हुन्छन् । 

कुनै समय थ्री नट थ्री राइफल बोकेका जनमिलिसियाहरू त्यही बाटो भएर ओहोरदोहोर गर्दा केही छिन थकाइ मार्थे त्यो रूखमुनि । थोरै मास्तिर जंगल भएको होला, आफूलाई निकै सुरक्षित महसुस गर्थे त्यहाँ । महिनौँदेखि निदाउन नपाएकाजस्ता देखिन्थे कतिका आँखाहरू । कति अनुहारहरू अबोध बालकको झँै लाग्थ्यो । कति अनुहार कतै देखे–देखेजस्तो, कतै चिने–चिनेजस्तो लाग्थ्यो । दुई–चारजना वरिपरि चनाखो भएर उभिन्थे । चाउचाउ, बिस्कुट खाजा खान्थे र फेरि लाग्थे आफ्नो गन्तव्यतिर । कतै सेनाहरूसँग दोहोरो भिडन्त पो भइहाल्ने हो कि ! भनेर निकै सन्त्रास छाउँथ्यो गाउँभरि । जे होस् जीवन थियो र पो देखेर, भोगेर आइयो यहाँसम्म । आजभोलि शान्त छ गाउँघर । साँझबिहान फेरि केटाकेटी खेल्ने ठाउँ भएको छ त्यो पीपलको फेद । 

हिजो हाटबाट फर्कँदै गर्दा अचानक बाटोमा भेट भयो, लगभग बिर्सिसकेको एउटा अनुहारसँग । मलाई राम्ररी नियाल्यो र एक्कासि चिच्यायो, ‘अरे… तँ सुन्दरे होइन … ! मेरो मामफुली चोरीखाने ? चिनिनस् क्या हो ? म रामे क्या रामेश्वर माझी !’ म अवाक् भएर एकछिन राम्ररी नियालेँ उसको अनुहार । गहिरो पीडाभाव बोकेका आँखाहरू । आफ्नै कुर्कुच्चाजस्तै पटपटती फुटेका ओठ । बगरमा फुलेका काँसहरूझैँ सेताम्य केश, आँखीभौँ, जुँगादाह्रीहरू । मेरो बाल्यकालको एउटा अविस्मरणीय पात्र जसलाई आज यतिका वर्षपछि भेट्दा कताकता मेरो बालापन दौडिएर आएझँै लागेथ्यो ।

सोच्छु, हलो जोत्दा उचालेका मेरा पाइलाहरूलाई जोड्ने हो भने म यो पृथ्वीको कुन भूखण्डमा हिँडिरहेको हुन्थेँ होला यतिखेर । तर, पुग्नु कतै छैन, उही खेत उही छेउकुना । उही सपना र उही बाटाहरू  

उसवेला हिउँद लाग्यो कि म हतारहतार स्कुलबाट घर फर्कन्थँे अनि बासी भातको डल्ला टोक्दै धानका पाँजोहरू उठाइसकेका खेतका गह्रागह्रा डुल्थेँ र धानसिला खोज्थेँ । हप्ताभरमा बल्लबल्ल एकढाकीजत्ति सिला पार्थँे । शनिबारको दिनचाहिँ निकै विशेष हुन्थ्यो मेरा लागि । किनकि त्यो दिन रामेश्वर माझी मामफुली बेच्न हाम्रो गाउँ आउँथ्यो । परिवार मधेसमै छाडेर लगभग हिउँदभरि मामफुली बेच्दै गाउँगाउँ हिँड्थ्यो । कतिपल्ट मैले उसको मामफुली चोरेर पनि खाएको छु । कहिलेकाहीचाहिँ माया गरेर बदामसम्म दिन्थ्यो । 

बाटैमा उभिएर निकैबेर भलाकुसारी ग¥यौँ । बिँडीको ठुटा सल्काएर एक सर्को तानेपछि मलिन अनुहार बनाउँदै उसले आफ्नो कुरा सुनायो, ‘जेठो छोरा र बुहारी बम्बैतिरै बस्छन्, उतै ड्राइभरको काम गर्छ भन्ने सुनेको छु । घर नआएको पनि ६ वर्ष भइसक्यो । कान्छो छोरो साउदी गएको तीन साल भयो । भेडा चराउने काम गर्छ अरे, केही अत्तोपत्तो छैन । अलिअलि भएको सम्पति छोरीको बिहे गर्दा सिद्धियो । घरमा जहान एक्लै । म यतातिर । निकै वर्ष छोडेथेँ यो व्यापार, तर दुःखले कहिल्यै छोडेन, र पाँच महिनाजत्ति भयो फेरि सुरु गरेको । अब आउने फागुनमा पैँसट्ठी वर्ष पुग्छु । धन्न कुनै दीर्घरोग लागेको छैन । जहानचाहिँ मुटुको बिरामी छे । दबाई खाइरहनुपर्छ ।’ गरिबीले क्लान्त उसको अनुहार पानीले भिजेको कागजजस्तो देखिन्थ्यो । 

नेपाली समाज वियोगान्तको दर्दनाक प्रतिविम्ब त हो नै । मधेसले भोग्नुपरेका जातीय, क्षेत्रीय उत्पीडन उसको अनुहारमा प्रस्टै रूपमा झल्किन्थ्यो । छुट्टिने वेलामा हजुरआमाबारे सोध्यो । अझैसम्म हुुनुहुन्छ हजुरआमा भन्दा ऊ छक्कै प¥यो । ‘तेरो हजुरआमा … ! मान्छे होइन, अब त भगवान् भइसक्नुभयो । दुई–चार दिनमा जरुर भेट्न आउनेछु । भोलि गाउँ जाने, आज अलिक हतारमा छु ।’ यति भनिराखेर ऊ बाटो लाग्यो । ओझेल नभइन्जेलसम्म हेरिरहेँ उसलाई ।

हलो जोत्दै आफैँभित्र हराउनु, आफैँसँग बात गर्दै हिँड्नु, टाढाजस्ता लाग्ने बाटोहरू भएर सधैँसधैँ आफूनजिक आइपुग्ने हलोका सियोहरूले जीवनको एकाग्रता उत्खनन गरेझँै लाग्छ । लु ! पर्सिसम्म त जसरी पनि चास काटिसक्नु छ । डल्लाहरू फुटाउनु छ । मलहरू छर्नु छ । माटो मिहिन बनाएर उमार्नु छ, हरियो जिन्दगी । 

यसो घडी हेरँे । ओहो ! झन्डै बाह्र बजिसकेछ । गाउँ न हो, दिन बितेको पत्तै हुँदैन । झल्याँस्स … ! बिहान जोत्न निस्कने वेलामा सानी छोरीले भनेको कुरा सम्झेँ, ‘पापा … ! आज बजार गएर मलाई रङपेन्सिल र ड्रोइङ पेपर ल्याइदिनुहोस् है । म तपार्इं र मेरो पुतलीको चित्र बनाउँछु ।’

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *