“हेर्नुहोस् त हजुर !मेरो पेट भित्र पसेको छ ।म भोकै छु ।केही खाएकी छैन ।” भोकै भएको प्रमाण पेश गर्दै एक अधबैँसे महिलाले भनिन् ।भान्सा उठिसकेको थियो ।अब आमाले के दिनुहुन्छ होला ।म सोच्दै थिए ।आमाले यताउताबाट खोजेर केही खाना ल्याएर दिनुभयो ।उनले एकै सासमा सकिन ।लाग्थ्यो उनको भोक अझै मेटिएको छैन । उनी आफ्नै सुरमा बोल्न लागिन ,”मेरो लोग्नेले मलाई माया गर्दैन।छोरासँग बोल्न पनि दिँदैन ।म त सौतालाई पनि माया गर्छु ।मलाई कसैले माया गर्दैनन् ।” परिचितले मात्र उनको भाषा बुझ्थे । मेरो उनीसँगको दोस्रो भेट थियो त्यसैले अलिअलि कुरा बुझेजस्तो लाग्यो ।उनको मानसिक सन्तुलन ठिक थिएन ।पूर्णरुपले गुमाएकी पनि थिइनन् ।परिवारले वास्ता नगरेकाले उपचार पाउन सकिनन् । नत्र खाइलाग्दो जवानी बोकेर घरदैलो कुर्नु पर्ने थिएन विचरीलाई !मैले छेउमै गएर सोधे ,”चाँचरी दिदी ! कहाँबाट आउनुभयो ?” मेरो प्रश्न झर्न नपाउँदै उनले उत्तर दिइन् “यो बैनीले मलाई चिनिन् । ए ! म खोलाबाट !हिजोराति एउटा मान्छेले मलाई खोलाको पुलमुनि लग्यो ।बिहान उठ्दा ऊ थिएन ।मैले खोज्दा खोज्दा गरेँ भेटिन अनि यहाँ आएँ ।हेर्नुहोस् त ! उसले यो पैसा छोडेर भागेछ ।”चाँचरी दिदी एक सय रुपियाँको नोट देखाउँदै हाँसिन् ।
373721 comments