गाडी चालकले हात जोडेर बिन्ती बिसायो – ‘पछिल्लो सिटमा बसेकी मेरी आमा बिरामी हुनुहुन्छ, सास फेर्न गारो हुन्छ, छिटै अस्पताल लैजान जरूरी छ । घरमा अक्सिजन छैन । कृपया छोडिदिनुस ।’ कसैले भीडबाट भन्यो – ‘हेर्दा बिरामीजस्ती त लाग्दिनन, यो हाम्रो पार्टीको बन्दलाई असफल बनाउने छल मात्र हो जस्तो छ ।’ साथीको कुरा सुनेपछि उसलाई पनि ‘हो जस्तो’ लाग्यो । जुझारु कार्यकर्ताका हैसियतले उसले भन्यो – ‘बन्द थाहा हुँदा हुँदै किन गाडीमा ल्याएको त? एम्बुलेन्स बोलाउनु पर्थ्यो । यो हाम्रो बन्द असफल बनाउने षडयन्त्र हो ।’ उसले त्यति भन्नासाथ कसैले पछाडिबाट गाडीमा एक लात हान्यो । ‘हो, हो ठोक्!’ अर्को करायो, एक जनाले लौरोले पछाडिको सिसामा बजायो, चर्किएर सिसामा माकुराको जालो बन्यो ‘हाम्रो कुरा नमान्नेको यस्तै गति हुन्छ ।’ पछि बसेकी वृद्ध महिला यो सबै देखेर साच्चै आलस तालस भइन् । उनलाई सास फेर्न गारो भएजस्तो देखियो । लामो सास फेर्दै स्वाँस्वाँ गरिन् । एकछिनमा खै निक्कै गारो भएर हो कि, बसेकै सिटमा ढलिन ।बन्द सफल पार्न खटिएको पार्टीको जुझारु कार्यकर्ताको हैसियतले उसले गाडी छोड्ने त कुरै थिएन । बाटो हिड्ने कुनै अल्लि उमेर पाको मान्छेले ‘यस्तो बिरामीलाई पनि नछोड्ने तिमीहरु ?’ भनेर हकारेपछि अरू कार्यकर्ता भने अल्लि लोजाए । सबैको ध्यान ती बूढाको भनाइमा गयो । भीड न हो जता चर्को आवाज आयो उतै मान्छेहरू थुप्रिए । यस क्रममा कसो कसो गर्दा त्यो गाडी उम्किएर गयो । चालकले हुइक्याएर अस्पतालको दिशामा लग्यो ।’तपाइको कुराले हाम्रो बन्द बिथोलियो । तपाई बिरोधी पार्टीको हुनुपर्छ । तपाईजस्तालाई पख्नोस हामीले जानेका छौं | ए साथी हो, अब कसैलाई नछोड ।’ उसले मातहतका साथीहरूलाई निर्देशन दियो । साइकल पनि समात । हाम्रो चोक पूरै बन्द हुनुपर्छ । पार्टीले हाम्रो त्यै हिसाबले मूल्याङ्कन गर्छ ।’ उसले यति भन्दाभन्दै एउटा मोटरसाइकल पो सडकमा सुइकिएर आयो । ‘ए रोक !’ ऊ करायो । तीब्र गतिको बाइक रोक्न जान अरुले आँट गरेनन । ऊ आफै दौड्यो । चोक झन्डै काटिसकेको बाइकलाई पछिल्तिरको क्यारियरमा समातेर रोक्न खोज्यो, तर एक इन्ची मात्रैले होला उसको हातले बाइक छुन पाएन । बाइकवाला तीब्र गतिमा बेपत्ता भयो । एकदम दौडिएर आएकाले ऊ भने हुत्तिएर बिजुलीको खम्बामा ठोक्किन पुग्यो ।निधार खम्बामा बज्रियो । ठूलो आवाज पनि आयो । सारा साथीहरू ऊतिर दौडिए । निधारबाट रगत बहिरहेको थियो । ठूलो चोट लागेर खप्पर नै फुटेजस्तो देखिन्थ्यो । ऊ रक्ताम्म्य थियो, बेहोस, सडकमा लम्पसार । कसैले एम्बुलेन्स बोलाउन फोन गरेको त हो – तर बन्द भएकाले असुरक्षाका कारण आउन नसक्ने बताए । आएनन् । सबै के गर्ने कसो गर्ने अवस्थामा पुगे । बिरोधी पार्टीकै भएपनि एक जना डाक्टरको घर चोकसँगै थियो । कोही गएर डाक्टर बोलाएर ल्यायो । डाक्टरले उसलाई छामेर भने – ‘बन्दका कारण यिनको सास र धड्कन बन्द भयो । तपाईँहरूको बन्द सफल भयो ।’