-मदन पराजुली
फ्रेण्ड रिक्वेस्ट ! महिला ! वयस्क तर नचिनेकी । कुनै मित्र संग मित्रतामा नजोडिएकी । निर्दोष अनुहार । मैले प्रोफाइल खोलेर हेरें । जम्मा चारवटा फोटो पोष्ट थिए । रातो साडी ब्लाउज , हरियो छड्के तिलहरीमा मोडल जस्तै गेटअपमा थिइन । क्याप्सन पनि देखिन्थ्यो ” म कस्ती देखिन्छु ?” प्रतेकमा तीनसय भन्दा बढी लाइक अनि साठी भन्दा बढी कमेण्ट , बढी जसो स्टिकर !! एकादुई चिनेका नाम पनि !
दिमागमा रातो बत्ति पिलिक्क बल्यो ! खतरा !! चिनेका साथी पनि हुनुहुन्छ भने यो खतरालाई नजिकबाट हेर्न के बिग्रन्छ ? एसेप्ट गरिदिएं । उनी अनलाइन नै रहिछन । पहिला लाइक आयो अनि कथा !!
” हेलो ! , नमस्कार ! , तपाईं कहाबाट हो नि ?” मीठो मेसेन्जर सन्देशहरु !
” म पोखराबाट ! , कहाँ बाट तपाई ? , कसरी रिक्वेस्ट पठाउनु भयो ? परिचय गरौं न ।”
” म ललितपुर , फ्रेण्ड सजेसनमा नाम आयो र पठाएको , नाम रोशनी श्रीमान कतार हुनुहुन्छ ।”
” भन्नोस न त हामी कस्तो साथी बन्ने ? काम लाग्ने , नलाग्ने ! नजिकको , टाढाको ! माया गर्ने , गफ गर्ने , कथा कबिता सुनाउने ! कस्तो ?”
” माया गर्ने साथी बन्ने नि ! “
“खतरा !” दिमागमा साइरन पनि बज्नथाल्यो ! एक उत्सुकता पलायो ! कति भोल्टको बिजुली हो ???
” म माया बाड्नेकाम गर्दिन , माया किन्ने गर्छु ! तपाइलाइ घाटा पर्न सक्छ । माया गर्नेले त पैसा तिर्दैन । मैले किन्ने मायाको कति मूल्य पर्छ । थाहा पाउं न ।”
” पाँच ! “
” त्यो पाँचको पछाडी कतिवटा सुन्ना छ ? डिस्काउण्ट गर्नोस ! मलाइ महगो पर्छ ।”
” तीन ! “
” जाते /आते , होटल खर्च समेत गर्दा त्यो महगो हो । सकिँदैन !”
” थोरै दिन पछि ,स्कुल खुल्छ । छोरी होस्टेल जान्छे । होटल खर्चबाट जोगिनु हुन्छ । “
” तेसो भएत मूल्य कम होला नि !”
” सेम रेट हो नि ।”
” रेट !” अर्थात यो अनलाइन बिजिनेस हो । पक्का थियो उनको त्यो नाम , ठेगाना , फेसबुक प्रोफायल झुटो थियो । मैले ढाट्नुको अर्थ थिएन , किनकी मेरो फेसबुक प्रोफायलमा सबैकुरा साचो थियो ।
श्रोत : लघुकथा कुनो