-विधान आचार्य
राति बाह्र बजेतिर होला, मोबाइलमा लगातार टङ्ग्य्राङ् टुङ्ग्रुङ् टङ्ग्य्राङ् टुङ्ग्रुङ् आवाज आएपछि ऊ बिउंझियो। प्राय राति सुत्दा मोबाइलको वाइफ़ाइ बन्द गर्थ्यो, त्यस दिन बिर्सेछ। हेरेको, उसका दुई तीन वर्षदेखिका सयौँ पोस्टहरूमा केही एकजनाले रिठ्ठो नबिराई लाइक गरिरहेको देखियो। एकदुईमा टिप्पणी पनि थिए।
यति छिटो लाइक आइरहेका थिए कि उसका लामालामा पोस्ट र विचारहरू पढेर लाइक गरिएको पक्का होइन भन्ने निश्चित थियो। सानो देखिने अनुहारमा ठम्याउन गारो भयो, टिक्क पारेर प्रोफाइल हेरेपछि बल्ल चिन्यो। पाँच दिनअघि गत शनिवारको कार्यक्रममा भेट भएको थियो। उसका विचारबाट उनी प्रभावित भएका थिए ।
प्रमुख अतिथि भएर आएका पार्टीका नेताका पछिपछि आएका भीडमा उनी पनि थिए। प्रमुख अतिथि वरिष्ठ नेताजीले पनि उसको प्रशंसा गरेका थिए, पछि लागेर आएका ती र धेरैले सामाजिक सञ्जालमा साथी बन्न आग्रह गरेका थिए, नभ्याएर त्यतिबेलै सुत्नुपहिले तिनीहरूलाई स्वीकार गरेको थियो। ती तिनैमध्येका एक रहेछन् । नेताजीसितै गुटुटु उनीहरूको समूह नै गएको थियो।
मोबाइलमा वाइफ़ाइ अफ गरेर ऊ सुत्यो। भोलिपल्ट शुक्रवार पनि एक कार्यक्रममा उसलाई भाग लिनुपर्ने थियो। यस कार्यक्रममा भने उसको एक कार्यपत्र नै थियो। पार्टीभित्रका केही अनौपचारिक समूहबारे ऊ आलोचनात्मक देखियो। संयोगवश प्रमुख अतिथि भएर उनै नेता आएका थिए। एउटा गुटका प्रणेता उनी थिए, हिजोरातिका लाइक पात्र पनि फेरि दर्शकदीर्घामा थिए।
प्रमुख अतिथि नेता उसको प्रस्तुतिबाट खासै खुसी देखिएनन्। जाने बेलामा पनि व्यङ्ग्य गर्दै उनी गए। तर त्यस कार्यक्रमको उसको प्रस्तुतिले सञ्चारमाध्यममा निकै कभरेज पायो। रेडियो, टिभी र अनलाइन मिडियामा पनि। बेलुका थाकेर आयो। अबेरसम्म प्रशंसा गर्नेहरूको फोन आइराख्यो।
फेरि वाइफ़ाइ बन्द गरेर सुत्यो। शनिवार बिहान उठेर समाचारसितै ककसका कस्ता टिप्पणी आएका रहेछन् भनेर भित्तोमा हेर्दै पनि गयो।
नेताजीका साथमा आएका कसैको पनि हिजोको प्रस्तुतिको पोस्टमा कमेन्ट वा लाइक केही थिएन। र, अर्को ताज्जुब के थियो भने हिजो राति मात्र लाइक गरिएका कारण माथि सतहमा उत्रेका पुराना पोस्टचाहिं जस्ताको तस्तै थिए; तर तिनका सबै लाइक र कमेन्ट हटाइएको थियो।
*
सातदोबाटो, ललितपुर।
श्रोत : लघुकथा कुनो