-विधान आचार्य

आफ्नो जिउ पनि आफैले फर्काउन नसक्ने आमा बिछौनामा कराउँदै थिइन् । उता छोरा बुहारीलाई हतार र चटारो थियो ।

बुहारीले नेतृत्व गरेको सेवा संस्थाले त्यसै दिन सहरदेखि सुदूर बस्तीका महिलाका लागि लुगा कपडा बाड्न जाने कार्यक्रम थियो । ढिलो होला भन्ने चिन्ता थियो उनलाई । श्रीमान त उहिल्यै तयार थिए । ‘ए लौन चाडो गर न ।’ श्रीमतीकी प्रतिस्पर्धीलाई सङ्केत गर्दै उनले थपे – ‘फेरि अर्की केन्द्रीय सदस्य तिमीभन्दा पैले पुग्लिन् र भोलिका अखवार र टिभीमा सप्पै उनको मात्रै फोटो आउला ।’ उनले सही थापिन् – ‘हो त, मौका हेरेर बस्छन्, अनि आफ्नो चतुरपना पनि खुस्काइन् …. ‘तर बुझ्नु भो, उनीहरूलाई बारह बजे बोला’को छ, हामी एघारै बजे पुगेर कार्यक्रम गर्ने हो नि !’

दुवै दम्पती निस्के । सामान त अरू कसैले बोकेर गाउँसम्म लगेकै थियो । उनीहरू गाडीमा सर्र गए । पहिले नै लाम लगाएर राखिएका गरिबलाई उनका हातले लुगा कपडा बाँडियो । थाहा नपाएझैं उनले सोधिन् – ‘खै त, दाल चामल ?’ सहकर्मी स्वयंसेवकबाट रेडिमेड उत्तर आयो – ‘म्याम, त्यो अर्को साता ….।’

पत्रकारतिर फर्केर उनले भनिन् – ‘बुझ्नु भो, हामी अर्को साता पनि सेवा गर्दै छौं ।’

उनीहरू घर फर्कनुभन्दा पैले नै सेवाका समाचार रेडियो र टिभीमा व्याप्त थिए । फोटोसहित छापामा आउन भने भोलि बिहान लाग्थ्यो ।

गाउँमा हिड्दा जुत्तामा लागेको हिलो सफा गर्न नोकर्नीलाई अराउदै उनीहरू भित्र पसे | छोराले बाहिरैबाट सोध्यो – ‘आमालाई कस्तो छ ?’ नोकर्नीले जवाफ दिई, ‘खै कराउनुभा’ छैन, निदाउनुभा’ होला ।’

आमा साँच्चै कहिल्यै नउठ्ने गरी निदाई सकेकी थिइन् ।

श्रोत : लघुकथा कुनो

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *