स्मृतिका पानाबाट
म जगदम्बा प्रेसमा प्रूप पढ्ने जागिरे थिएँ, २०२९ देखि २०३८ सम्म । यस बिचमा धेरै साहित्यिकहरुसँग चिनाजानी भयो । विशेष गरी लीलाध्वज थापा, पुष्कर लोहनी, साम्बभक्त सुवेदी, दाताराम शर्मा, शङ्कर लामिछाने, शङ्कर कोइराला, म त लाली गुराँस भएछु अर्थात् क्षेत्रप्रताप अधिकारी आदि आदि ।
पर पर कताकताबाट नाता पनि पथ्र्याे भानुभक्त पोखरेलसँग, म उहाँलाई भिनाजु भन्थें । यसरी नाता नै पर्ने भानुभक्त पोखरेलसँग ता बनारसदेखिकै र अझ पाँचथरदेखिकै चिनाजानी थियो । उहाँसँग परिचित हुन पुस्तकालय नै कुरिरहनै परेन । यो सम्झना उहाँकै केन्द्रमा रहेको छ ।
म थिएँ काम गर्ने र पढ्ने वा विद्यार्थीकम जागिरे । त्रिवि ममोआबक्या विराटनगरको जागिरे उहाँ । उहाँ पीएच डीका लागि बिदा स्वीकृत भएर काठमाडौंमै बसेर उक्त कार्य सम्पन्न गर्न जानु भएको र मेरै कोठामा बस्नु भएको थियो । माधव घिमिरेका कवितामा प्रकृतिप्रेम सायद यही विषय थियो पीएच डीको । विद्यावारिधिका शोध निर्देशक प्राडा वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । के कुतौजी परेर हो, उहाँले उक्त कार्य सकाउनु भएन । नसकेकै कारणले उहाँ आफूलाई ठाउँ ठाउँम पौने पस्एच डी भन्नु हुन्थ्यो । अरु धेरैले पनि उहाँले यसो भनेको ता सुनेकै हुनु पर्छ ।
उहाँका र मेरा विचका एक वर्षका सँगै बसाइका बारेमा कथा अलिकति छन् । केही मैले रमाइलोका हिसाबले लेखी पनि सकें केही बाँकीमध्येको यो पनि एक हो ।
जगदम्बा प्रेस भनेपछि मदनपुरस्कार पुस्तकालयकै सेरोफेरोको कुरा । मदनपुस्तकालय भनेपछि नेपाली भाषाका पुस्तकहरुको भण्डार, विद्यावारिधि गर्नेहरुको अध्ययन क्षेत्र । भानुभक्त भिनाजुले अध्ययनका लागि त्यहाँ जानु नै पथ्र्याे । अझ म त्यहाँ भएकोले उहाँलाई दोहोरो सुविधा जस्तै भएको थियो ।
सामनाथ पौडेल, नयनाथ पौडेल लयायत म प्रेसतिर थिएँ, उता पुस्तकालयमा तिन जना व्यक्तित्व काम गर्नुहुन्थ्यो गजेन्द्र रेग्मी, चिरञ्जीवी चालिसे र रामजी तिवारी । गफगाफ हुन्थ्यो, रमाइलो हुन्थ्यो, म ता उही बेलादेखि नै वासुदेव लुइँटेलका स्कुलका साथीहरु भैरव, बालमुकुन्द, श्याम गोतामेहरुको पिछा लागेको । ठट्टा र उट्पटाङ गर्ने बानी परेको । भानुभक्त भिनाजु पनि यस मानेमा कम हैन । मजाले ठट्टा रमाइलो गर्नुहुन्थ्यो । यो कुरा कुनै बेला गरुँला ।
उहाँले मनद पुस्तकालयका माथि भनिएका तिनजनाको चरित्रलाई बडो रमाइलो काव्यमय भाषामा उतार्ने काम गर्नु भएको थियो । कोठामै बसेको बेला लेखेर मलाई भन्नु भएको थियो—“ ए साले साहब यो उनीहरुलाई पर्तङ्गे हुने गरी पढेर सुनाइदिनु है ।”
भिनाजुले भनेबमोजिम मैले उहाँले लेखेको उक्त कविता तिनै जनालाई रामरी पाठ गरेर सुनाइदिएको थिएँ । मेरो ‘मर्माहत’ नामक कथासङ्ग्रह जो कमल बाबुबाट २०६२ माघ एक गते पोखरामा विमोचन भएको थियो त्यसै पुस्तकमा अलिक च्यातिने अवस्थामा तर बुझिने नै अवस्थामा अहिले पनि सुरक्षित नै रहेछ । त्यो कविता यस्तो छः —
शीर्षकm मदन पुरस्कार पुस्तकालयका तीन मनुवा
भानुभक्त पोखरेल
१
गजेन्द्रनाथ जो दाप्से भुँडीका रेग्मी बाहुन
रङ्गढङ्ग विना गर्छन् पुस्तकालय रक्षण ।
केके खाँखाँ सरी गर्छ तल्तली यिनको मन
सकेन झैं कतै भोज नभेट्ता भुँडी उक्सिनँ ।
झर्रा नेपाली झिल्के यी भालका लाल चन्दने
तरुनीसँग इत्रेर गीत गाउन स्वाउने ।
पुस्तकालयमा आए कसरी जागिरे हुन
हेर्दा लाग्छन् हिंडेजस्ता कतै केटी फकाउन ।।
२
अरु छन् दुइटा साथी सहयोगी गजेन्द्रका
एउटा हुन् चिरञ्जीवी चालिसे झुसिला ठिटा ।
विचरा चालिसे नानी ठुला मान्छेहरुतिर
फर्किएर कुरा गर्न खोज्छन् छैन हुती तर ।
यिनको मनमा खेल्छ एउटै गतिलो कुरो
काम ठग्न अरु जस्तै कसरी म बनूँ सुरो ।
म बिर्सन्न यिनीलाई ससृुराल हिंड्या दिन
बोकाई दहीको ठेकी कडकाल बनाउन ।।
३
हेर्दै नस्वाउने ग्याप्चा गुप्ते जस्ता तिवारीजी
विकामजी भन्नु जस्ता नाम चाहिं छ रामजी ।
सधैं गुथ्थ परेजस्तो मुख हाँस्दा नस्वाउने
बोली छ कलिलो तोते भुत्ला जम्मै फुले पनि ।
क्यै गल्ल्याँठा र भेक्कासे साउँ अक्षर उक्किन
नसक्ने यी बूढा टिप्छन् छामी पुस्तकका घुन ।।
बिर्सन्न म यी कोक्ल्याँटा बूढाको मुख माधुरी
कात्तिके भैँसीको थास लात्तीले कुल्चिए सरी ।।
अन्तमा
हुँदैन यी कुनैलाई भत्खरु चैं पठाउन
खर्लप्पै जन्तीको खाना पहिल्यै सक्छ सिद्धिन ।
कति पल्ट सुने मैले यिनका गफ छक् परी
कुनै साल परे हुन्थ्यो सोर श्राद्ध सधैं भरी ।।
समाप्त ।।
(अन्तमा ः माग्नु भएको हुँदा मैले यो कवितालाई फोटोकपी गरेर माथि एक नम्बरमा वर्णित श्री गजेन्द्रजीका हातमा दिएको थिएँ । कसो भो उहाँ नै जान्नु हुँदो हो ।)