‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने गरी उहाँले ‘राम राम’ भन्नुहुँदा गाउँको भेला नै बस्छ । त्यसैले झ्याल खोलेर माथि उदाइरहेको चन्द्रमा हेर्दै म मायाप्रीतिका कुराहरूलाई र अनुभवहरूलाई मुटुभित्र नै दबाउन खोजिरहेकी हुन्थे । मनको बह गाउँमा कसैसँग पनि पोख्न सकिँदैन थियो । आमा सधैँ धार्मिक कार्यमा व्यस्त हुनुहुन्छ, बुबा मेरो उमेर नचढ्दै मुगलान पस्नुभएको, फर्केको कुरा अहिलेसम्म कसैले सुनाएको थाहा छैन । घर जताततै टाल्दाटाल्दै काम नलाग्ने र भत्किन लागेको, जीर्ण भैसकेको थियो । तर मन त चन्द्रमा देखेर रमाउन खोजिरहेको थियो । अभावमा पनि रमाउन खोज्ने यो मन, जुनेली रातको शीतलतामा बहन खोज्ने यो मन, शान्त र स्निग्ध यो मन त्यसैत्यसै रोमाञ्चित भएको थियो ।
‘बिहे गर्नासाथ जीवन कहाँ खुशी हुन्छ र मन पनि त एउटै हुनुपर्छ नि ! तिमीलाई मैले मुटु दुख्ने गरेर माया गरेको छु । हाम्रा मनहरू एक हुनुपर्छ । छुट्टिने कुरा त मरेपछि पनि गर्नु हुँदैन ।सँगै जीवन बिताउने हाम्रो सङ्कल्पलाई तिमीले स्वीकारेकी छयौ नि, हैन ?’ मेरो अगाडि ऊ अर्थात् मलाई माया गर्न खोज्ने उसले शिखर चुरोट सल्काउँदै भन्यो । मैले अवाक् भएर उसलाई हेरिरहेँ कारण मसँग बोल्दाखेरि उसको शरीरभित्रका ढुकढुकीहरूलाई म नछोएरै महसुस गर्न सक्थेँ ।
‘मलाई बाहिरी कुरा मन पर्दैन । तर यहाँ विश्वासको कुरा भैरहेको बेला, मुटुले मुटुसम्म छोएर रूने र बाँच्ने कुरा भैरहेको बेला कसरी शरीरको कुरा गरिरहेका छौ ?’ मैले विस्मित तरिकाले उसलाई हेर्दै झ्यालको दक्षिणपट्टि फर्किएको रातो गुराँसको विरूवामा पानी हाल्दै यी कुराहरू बोले र उसकै छेउको सोफामा आएर उसले टेबलमा राखि छाडेको शिखर चुरोट सल्काउन थाले । त्यसो त म चुरोट खाने मान्छे हैन तर पनि यतिखेर, प्रेमले आकुलब्याकुल बनाएके यो अवस्थामा चुरोटले केही शान्ति दिन्छ भन्ने मैले सोचेकी छु । ‘ओहो ! हामी दुवैको हातमा चुराट सल्किरहेको छ, आखिर जीवन पनि यसरी नै चुरोटजस्तै सल्किँदै जाने त हो नि !’ मैले लामो सास फेरे ।
‘म यतिखेर विसर्जन हुन नसक्ने मायाको कुरा गरिरहेकी छु । माया चुरोटजस्तै सल्किनु हुँदैन । माया त जुनजस्तो हुनुपर्छ, अँध्यारोमा पनि उज्यालोको प्रतिक बन्ने जून–आस्थाको प्रतीक ।’ उसले लामै भाषण छाँट्यो र आफ्नो सफाइ दिन खोज्यो । ‘तर तिमी त मेरा त मेरा लागि आदर्शवादी छैनौ नि ! तिमीलाई म माया गर्न सक्दिन ?’ मैले हतार हतार भने । ‘बिहेभन्दा पनि माथि र धेरै उच्चस्थानमा रहेर हामी माया गर्न सक्छौँ नि, हैन र ? मुटुमा मुटु जोडेर आँसुहरू त साट्न सकिन्छ नि ! म माया त तिमीलाई नै गर्छु ।’ उसले शिखर चुरोटको तेस्रो बट्टा झिक्तै सल्काएर एकै सासमा बोल्यो । हाँसेको पनि कति नसुहाएको । मैले अडकल काटे र आकाशतिर हेरे । ‘आज यतै बस्ने कि ?’ मैले भित्र भान्छामा चिया पकाउने तरखर गर्दै भने ।‘एक रात मात्रै किन र ! यो पृथिवीको अन्न्त्य नभएसम्म, यी ताराहरू नबिलाएसम्म र जून उदाएर नअस्ताइसम्म मुटु मन र मस्तिक एक बनाउँदै माया गर्नुपर्छ हैन र ?’ फेरि उही पुरानो फिल्मको डायलग बोल्यो उसले ।
यतिखेर रात परिसकेको छ । हामीहरू एउटै समानान्तर दूरीमा छौँ । हामीबीचमा केही पनि अवरोधहरू छैनन् । अर्थात् निस्फिक्रीसँग खुल्ला र अलौकिक अवस्थामा हामी दुवै एउटा कहिल्यै नअस्ताउने ताराको कुरा गरिहरेका छौँ । कहिल्यै नसिद्धिने अनन्त आत्माको, मुटुको र स्पन्दनको कुरा गरिरहेका छौँ । यो क्षणका अन्त्य हुनु हुँदैन । यो अवस्था परिवर्तन हुनु हुँदैन । हामी दुवैको हातमा चुरोट छ । शिखर चुरोट सल्किरहेको छ र हामीहरू एक आत्मीय जस्तो भएर एकै ठाउँमा गोलबद्ध सल्किरहेको चुरोटलाई महसुस गरिरहेका छौँ । तर यतिखेर मैले के पनि सोचिरहेकी छु भने चुरोटजस्तै माया कुनै पनि हालतमा सल्किनु हुँदैन । चुरोट सकियो/माया सकियो, मोह सकियो । उफ सम्झँदा पनि म भक्कानिन्छ ।
‘बिहे नगर्ने ?’ उसको यो अकस्मात्को प्रश्नले म भसँग भएँ । ‘तिमीलाई मेरो यो प्रस्ताव कस्तो लाग्यो ? यदि थाहा भयो भने म तयसै अनुसार तयार गर्न सक्थेँ ।’ चिउरा, भुटेको मासु तरकारी र चियाको सुर्को तान्दै उसले प्रश्न गर्यो । “तर तिमी मेरो लोग्ने हुनै सक्तैनौ ।’ मैले उसलाई तुरून्तै अस्वीकार गरे । तर फेरि उसको गम्भीर अनुहारले मलाई शान्ति दिएन र भनेँ–‘तर बुझ्यौ, म तिमीलाई कत्ति माया गर्छु नि ! मेरो माया त अनन्त पो छ त ! एउटा यस्तो अनन्तताको कुरा म गरिरहेकी छु जहाँ सबै बाहिरी कुराहरू गौण हुन्छन् र हुनुपर्छ । आखिर सधैं अमर हुने कुरा नै माया त हो नि ! मेरो माया यो चुरोट जस्तो जतिबेला पनि सल्काएर सकिने हैन नि ? ’ ऊ हाँस्यो र भुटेको मासु चपाउँदै पूर्वपितर फर्केर मसँग साउती मार्यो । ‘थाहा छ, माया त त्यो जून छ नि, हो त्यस्तो पो हुनुपर्छ । जूनलाई हेर न, कति शान्त, स्थिर र पवित्र छ । माया त जूनजस्तै अमर बनाउने कुरा हो, यद्यपि हामो शरीर मारेर गए पनि माया अमर हुनुपर्छ र त्यो अमर बनाउने काम त हाम्रो हो ।’ उसले यति बोलिसकेर मैले उहिल्ल्यै दिएको सानो धर्के डायरी निकाल्यो र सानो मुक्तक भन्यो–‘जुन कति टल्किएकी भुसुक्क पर्यो तिम्रो जुनेली मायाले ।’ म हाँसे । उसको बालापनले मनलाई अँझ भावुक बनायो ।
बाहिर साँझ परिसकेको खुल्ला र सुन्दर वातारण भएर पनि होला मन्दमन्द चलेको सिर्सिरे हावाले मनलाई झन भावुक बनाइदिएको छ । हुन त उ, प्रेम गर्न र केटी फसाउन खप्पिस छ भन्ने बारेमा त मेरी साथी राधिकाले हिजोमात्रै टेलिफोनमा कुरा गर्दा भनेकी थिई । ‘मलाई त तिम्रो विश्वास छैन । हेर त, जून देख्नमा पो राम्रो हुन्छ तर त्यो कति टाढा छ, भेट्न सकिँदैन । पानी पर्नासाथ, बादल लाग्नासाथ आँखाबाट लोप हुने जूनको के विश्वास गर्नु ? सजिलै आँखालाई झुक्याउने त्यस्तो जूनसँग माया गर्न कहाँ सकिन्छ र ? तर मलाई पनि लागेको छ माया त जूनजस्तो धेरै टाढाबाट पनि नआत्तिईकन एकनासले पृथिवीलाई हेरिरहेको जस्तो पो हुनुपर्छ ।’ मैले आफ्नो कपाल मिलाउँदै र झ्याल बन्द गर्ने तरखर गर्दै भनेँ ।
‘पानी पर्यो भने वित्यास पर्छ कसरी घर जाने ?’ मेरो प्रश्न उसलाई पटक्कै मन परेन र उसले भन्यो–भर्खर मात्रैसँगै बस्ने प्रस्ताव तिमीले राखेकी थियौ र अहिले अकस्मात् म घर जाने कुरा पनि गरिरहेकी छ्यौं, किन आज म यहाँ बस्न मिल्दैन र ?’ उत्ताउलो पाराले कुनै धक नमानी उसले सोधेको यो प्रश्नले मेरो मुटुको ढुकढुकी सहन नसक्ने गरी बढेको मैले महसुस गरेकी छु । कति पीडा र कति आनन्द दिएको छ उसको यो प्रस्तावले । हुन त मेरो पनि भित्री इच्छा ऊ यो जुनेली रातमा ऊ बसोस् भन्ने नै थियो । रातभरि ऊसँग म आफूभित्र गुम्सिएका सबै मायाहरुलाई रित्याउन चाहन्थेँ र अनन्ततामा हराउन चाहन्थे । रातभर जूनेली रातलाई मुटुमा मुटु जोडेर कुरा गर्दा त त यो संसार नै बिर्सन सकिन्छ नि, हैन र ? मलाई झसँग बनाउँदै उसले कुनै पाको भइसकेको प्रेमिलाई जस्तो आफ्ना कुरालाई अगाडि राख्यो । म ऊतिर फर्किएर फिसिक्क हाँसे ।
“पानी तताइदेऊ न । नुहाएर म यतैबाट अफिस जान्छु । आज अफिसमा धेरै नै काम छ । कहिलेकाही त यो सबै छोडेर जोगी पो बनौ कि जस्तो लाग्छ” । उसले दिग्दारीका साथ यी कुरा बोल्यो । मैले तुरुन्तै प्रतिवाद गरे “काम गर्नुपर्छ भन्ने कुराले पनि तिमीलाई असीम सुख दिनुपर्ने हो । आफ्नो जीवनमा आउने हरेक कठिनाइहरु, हरेक संवेदनील संघर्षहरुलाई यदि तिमीले अगाडि बढ्दै काम गर्न सकेनौ भने कसरी तिमी स्वाभिमानका साथ अगाडि बढ्न सक्छौँ ? मैले अलिक झर्किएर बोलेका यी कुरालाई उसले मन पराएन । उसले भन्यो –“के तिमी यहीँ सोचिरहेकी छ्यौँ ? म तिम्रो विचारमा के सङ्गर्ष गरिरहेको छैन ? म आफ्नो जीवनलाई एक उच्च गहिराइ र उच्च सङ्गर्षमा आफ्ना हरेक आदर्श, मूल्य र मान्यताहरुको वर्चस्वका लागि अन्तहिन लडाइँ पो लडिरहेको छु त “। उसले हाँस्दै भन्यो र जुरुक्क उठ्यो ।
ऊ गयो, केही क्षणका लागि गएको भए पनि मलाई पीडा दिएर गयो । हुन त उसले मलाई पीडा दिएको भन्न मिल्दैन किनभने उसले एकविहानै भनिसकेको छ । उसको लक्ष्य मलाई पीडा दिनु पक्कै पनि छैन । उसले मलाई पीडा नदिए पनि मलाई भने कस्तो पीडाको अनुभव भैरहेको छ, सोच्न पनि नसक्ने बनाएर गयो । ऊ गएको मैले झ्यालबाट हेरिरहेँ । कति निष्ठुरी मान्छे । एक चोटि पनि मलाई फर्किएर नहेरी कसरी ऊ यो लमतन्नपरेको सडकमा हिँडिरहेको छ । केही क्षणअघि मात्रै मसँग हातमा हात मिलाएर जीवनको दुख सुख बाँडेको ऊ कसरी अहिले नचिनेको जस्तो भएर फटाफट हिँडिरहेको छ ।
“तिमीलाई थाहा छ ? हिजो राती मेरो अर्कै केटीसँग परिचय भयो, तिम्रा कुरा, तिम्रो ढुकढुकी र तिम्रो व्यवहारले भने मलाई यति धेरै सम्झना दियो कि मैले त्यो केटीमा पनि तिम्रै स्वरुप पाएको अनुभव गरे । अनुभवकै कुरा त हो नि, तिमी नै सम्झेर उससँग रातभर कुरा गरे । मलाई थाहा थियो, ऊ वेश्या हो तर तिमी नै सम्झेर नथाकुन्जेल कुरा गरिरहे । ऊ मलाई मन पर्यो तर ऊ मसँग हुन् सक्दिने किनभने उसको पेशा नै एक जनासँग मात्र हुनु हैन ऊ चुरोट जस्तै सल्किएर जाने सम्बन्ध बनाएर आई अनि चुरोट सल्कियो उसको र मेरो मित्रता सल्कियो । मलाई माफ गर त म भन्न सक्तिँन तर मेरो मन तिमी प्रति साँच्चै नै इमान्दार रहेछ” । उसले कुनै धक नमानी यी कुरा बोल्दा त मलाई सहन नसक्ने पीडा भयो । “अब तिमी मेरो साथी हुन् सक्छौ तर मेरो लोग्ने हुनै सक्तैनौ” । मैले पनि सहन नसक्ने पीडा र छटपटीका साथ यी कुरा गरे । त्यो घटना घटेको पनि धेरै भएको छैन ।
म यतिखेर के पनि सोचिरहेकी छु भने मेरो ऊसँग बिहे हुन् सक्दैन या ऊ मेरो लोग्ने हुनै सक्दैन । म झसँग भएर ऊ गएको, टाढा टाढा गएको हेरिरहेकी छु । लगातार पीडाका साथ र प्रतीक्षाका साथ झ्यालबाट एकहोरो अर्धपागलजस्तो ऊ गएको हेरिरहेकी छु । उसले मेरो प्रेम, मेरो समर्पणलाई यति हलुका ढङ्गले लिन सक्छ भन्ने सोचाइले मलाई झन्झन् व्यथित र पीडित बनाएको छ र म आफ्ना आँखाबाट झरिहेको आँसु रोक्न पनि सकिरहेकी छैन । अन्तमा हाम्रो सम्बन्ध चुरोट जस्तै सल्किएर अन्त भयो ।