हिमालजस्तो स्वाभिमान भएकाे
बुद्धकाेजस्ताे विचार भएकाे
म एक वीर गाेर्खाली हुँ ।

अदम्य साहस बाेकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्ताे फराकिलाे छातीमा
आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि
हिँड्नु छ देश बनाउने अभियानमा ।

छाेडेर पर्देशमै हरियाे पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग ।

गाउँमा चर्किएका घरका भित्ताहरू
माटाेले टालेर सुन्दर बनाउनु छ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलाे बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो याे निश्चल आँखामा हिमाल हाँस्छ
डाँफे चरिका रङ्गिन प्वाँखजस्तै
रङ्ग्याउन बाँकी छ मेरो देशको सपना
र देशकाे खम्बा भएर बाँच्नु छ मलाई ।

लालुपातेजस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेकाे गुँरासजस्तो
सगरमाथा चढ्ने आराेहीका पैतालाजस्ताे
हामीले यो युगकाे गीत लेखाैँ ।

अब खनौँ आफ्नै बाटो – कोदाली भएर
अब जोडौँ हजार सपनाहरू – पुल भएर
फर्क युवा हाे फर्क
याे देशकाे ईतिहास हामी आफैँले लेख्नुपर्छ ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा रामेछाप सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियार प्रथम कविता ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *