काठमाडौ
मुक्तक नं-१
पुष र माघको जाडोले झापड हान्छ काठमाण्डौमा!
चिसोलेनै मनको घाम सापट लिन्छ काठमाण्डौमा!!
अवसरको खोजीमा यहां हरदम रमाउनु त छंदैछ!
पैसाले बेलिरहंदा मन पापड बन्छ काठमाण्डौमा!
मुक्तक नं-२
आशा गरौं लोकतन्त्रले लोकको हित गर्छ होला!
शासन सत्ता पक्कै पनि गाउँ गाउँमा सर्छ होला!
केन्द्रमा बसेर रिमोट कन्ट्रोल चलाउने जमाना जाँदै गर्दा!
यन्त्रिक मुटु पनि पग्लिएर अब अांखा बाट झर्छ होला!!
मुक्तक नं-३
मार्कोनी स्वर्गको एक कुनामा बसेर रेडियोको धुन सुन्दै होलान् !
रफी नन्दनवनभित्र पसेर शास्त्रीय संगीतको माला उन्दै होलान् !
रेडियो युगका यस्ता महानायकहरुलाई संझेर भन्न मन लाग्छ!
नारायण गोपाल गोलोकमा पलेटी कसेर नेपाली संगीतको जाल बुन्दै होलान!!
मुक्तक नं-४
मलाई नसोध यो दिलको वागमा तिमी कति डुलिसक्यौ!
चाहानाहरु छर्दै यो मनको चिरागमा तिमी कति भुलीसक्यौ!!
तिम्रो सुर अनि तालले यो पर्यावरण सुन्दर बनिरहेको बेला!
बताईरहनु परेन यो प्रेमिल रागमा तिमी कति खुलिसक्यौ!!
मुक्तक नं-५
आउ हेर्न तमासा यहाँ अहिले टोल टोलमा बिकास छ!
किन अप्ठ्यारो मान्नु यहाँ झोल झोलमा निकास छ!!
ऋणको भारी बोकेर तिमीलाई सांघुरीको भन्ज्याङ्मा पर्खौला!
भोलिको चिन्ता छोड, आजको मोल तोलमा जिन्दगी झकास छ!!
मुक्तक नं-६
खै के के रैछ उनीहरुको मनमा भित्र भित्रै पाकेका रहेछन् !
एक अर्कालाई सिध्याउने खेलमा आफै संग थाकेका रहेछन् !!
पाखुरा सुर्किने रोग लागे पछि गरिबी खुर्किन मन लाग्दैन र त!
मै खाउं मै लाउं भन्दै देउ, देउतालाई भाकेका रहेछन् !!
मुक्तक नं-७
अनवरत सिंघौरी खेल्न अभ्यस्त भएकाहरु कहिल्यै थाक्दैनन!
ठेट्ना भावनाहरुमा संधै रमाउनेहरु कहिल्यै पाक्दैनन!!
पिडाहरु थिग्रिएर मनको गहिराईमा गएर दुखिरहंदा पनि!
आफ्नै मनलाई लात मार्नेहरु उसको लाज कहिल्यै राख्दैनन् !!
मुक्तक नं-८
ब्याथाहरु समेटेर हिंड्ने ती खोलाहरु पनि बोलेनन् !
मान्छे बनेर यत्रतत्र जन्मिने ती चोलाहरु पनि बोलेनन् !!
जसले आशा जगाउंछ, प्रेरणा दिन्छ उहीँ नबोल्दा दुख लाग्छ!
ज्ञानका पुस्तकहरु सर्वत्र बांड्ने
ती झोलाहरु पनि बोलेनन् !!
मुक्तक नं-९
कल कल बग्ने चुवां खोलामा झरझर झरना झरिरहेको देखें!
हाङपाङको हिटीमा उभिएर कसैले गाग्राहरु भरिरहेको देखें!!
यो नोस्टाल्जियाले गाउँको मायालाई कहाँ कहाँ बाट ल्याउंछ!
इन्द्रेनी माला सजिंदा तारे बनमा सिमसिम पानी परिरहेको देखें!!
मुक्तक नं-१०
बाना फेर्न जान्नेले छाना फेर्न जान्दछ!
गाना फेर्न जान्नेले पाना फेर्न जान्दछ!!
परिवर्तन संसारको नियम हो भनेर बुझ्नु !
दाना फेर्न जान्नेले खाना फेर्न जान्दछ!!
मुक्तक नं-११
सौन्दर्य अांखामा ल्याउनेले मन अंध्यारो पारिदियो!
पहराको भाकामा गाउनेले अनयास आंशु झारिदियो!
अस्थिर/अनित्य संसारमा स्थिरता खोज्ने चेष्टा नगर्नु!
आफ्नै खाकामा रमाउनेले मनको बगैंचानै सारिदियो!!
मुक्तक नं-१२
अनेकौं आशा, निराशाको खेल खेल्दा खेल्दै एकदिन त सबैले मर्नु पर्छ!
रुखको लाखौं माया पाएर पनि फलहरुले लाचारभै भुइँमा झर्नु पर्छ!!
मान्छे मरेपछि पनि संभावनाका खेलहरू चलिरहन्छन् निरन्तर र त!
स्वर्ग पुग्नका खातिर कठिन परीक्षा पास गर्न उसले बैतरणी नदी तर्नु पर्छ!!
मुक्तक नं-१३
दन्त बझान छ नेताहरुको लाग्छ उनीहरुमा भीषण शक्ति आएको छ!
बलशाली नेताहरुलाई रिझाउन कार्यकर्तामा अनौठो भक्ति आएको छ!!
एक अर्कालाई सिध्याउन खर्चेका सब्दहरु सुन्दा दिक्क लागेर आउँछ!
सकुनीको कपटपूर्ण खेल संगसंगै इमान्दारलाई सिध्याउने जुक्ति आएको छ!!
मुक्तक नं-१४
साधुलाई शुली र चोरलाई चौतारी भएपछि कुरा बिग्रियो!
नक्कली तान्त्रिकहरु औतारी भएपछि कुरा बिग्रियो!!
यो नालायक वर्तमानको नौटंकीले नकारात्मक उर्जा छरिदिंदा!
लपक्क टांसिएर कोखामा दांत उमार्ने दौतरी भएपछि कुरा बिग्रियो!!
मुक्तक नं-१५
जुलुस बढेर दिनका दिन यो महंगीमा जिउने सवालहरु गिर्दै गए!
उदास सुर्य देख्दा लाग्छ यिनलाई राहु, केतुले पिर्दै गए!
लगानी गर्दा ब्याज नउठेपछी, संगै बस्न मन नजुटेपछी!
खरानी धसेर नयाँ जोगीहरु रासनका महलतिर छिर्दै गए!!