शर्मिला खड्का दाहाल नयाँ वर्षको २०७८ हार्दिक मङ्गलमय शुभकामना छ। बहुप्रतिभाशाली, लगनशील, साहित्य साधक र सबैका प्रिय व्यक्तित्व केदार सड्केतज्युलाई लेखिएको पत्र यहाँहरूमा पनि सम्प्रेषण गरेकी छु । प्रिय भाइ केदार सड्केत, तपाईँको ‘अफगानी रणमैदान’को शब्दहरूसँग कुस्ती खेल्दै छु । तपाईँका रहस्यमयजस्ता लाग्ने वाक्यहरू एकान्तमा बसेर पढ्दै छु । कहिले छोटाछोटा मीठालाग्ने वाक्यहरू अग्यार्निक खुराकहरू भान्साकोठाको पकवानकलामा मिसाएर पढ्दै छु । कहिले बम र वारुदसँग खेल्दा खेल्दै फूलको सौन्दर्यमा लट्ठिएको मन लिएर फूलसँग संवाद गर्दै पढ्दै छु । आहा ! आहा ! कति सुन्दर हुन्थ्यो फूलको सौन्दर्यले यी वम र गोला वारुदको आतंकलाई मेटाउन सकेको भए । कति आनन्द हुन्थ्यो ! फूलको सुवासले संसारमा खेलिने फोहरी राजनीतिको डंगुरलाई गन्धहीन पार्न सकेको भए । यस्तै कुराले मनलाई भट्टयाक भट्टयाक पार्दै पाठकलाई हुरुक्क पार्ने तपाईँको कलालाई हृदयदेखि नै नमन गरेँ । धेरै धेरै शुभार्षीवाद छ । अनि त्यो कलमको तेजलाई जसले रणमैदानमा बसेर मानिसभित्रको सबै खालको भावनालाई उजागार गर्ने अखण्ड दीप प्रज्ज्वलन गर्न उर्जा पैदा गरी रह्यो । मृत्युको खेल खेलिरहदा पनि कहिले थकाइ लाग्न दिएन, कहिले निराशा र हतोत्साही बनाएन । कोमल कवि हृदयलाई एउटा शासक बन्न दिएन । एउटा जीतको गीत लेख्न कम्मर कसिरह्यो, तन, मन, धन सुम्पिएर । यति लामो समयको प्रसव पीडा पछि जन्मेको यो सिर्जना युद्धमैदानमा आफैँले भोगेर लेखिने कृतिमा एउटा मानक कृति मानेँ मैले । तपाईँको एथेन्सको झरीले रुझाएको रुझाएझैँ यो कृतिले पनि मलाई आफूभित्र लगेर भिजाएको भिजायै गर्यो । विभिन्न विधाको झल्को दिने यो पुस्तकलाई खै के नाम दिऊँ ? दोमन भएकी छु । सबैको ककटेल मिसिएर एउटा नयाँ विधा पो भएको छ कि ? पुनः यस्तै उत्कृष्ट रचनाको लागि हार्दिक हार्दिक शुभकामना दिँदै विदा हुन चाहन्छु । तपाईँको लेखनी, व्यवहार, निष्ठा र साधानालाई अति माया गर्ने अनि साथमा सम्मान गर्ने दिदी शर्मिला /