यस पृथ्विको आदिम आदिवासी जनजाति हुँ म
साल नालसहितको मेरो पहिचानको जरा जोडिएको छ
आफ्ना पुर्खाहरूको नसलमा बग्ने रातो रगतसँग
जो सुतिरहेका छन् कोशौ दुर आफ्नै पुर्खाहरूको माटोमा
अलिकती आफ्नै रहर
परिस्थितिले कुबेला जन्माएको कहर
सजाएर सुनौलो भविष्यको सुन्दर सपना
म आईपुगेछु कुईरोले ढाकेको चिसो टापुमा
अहो ! म परदेश पसेको यती लामो समय पस्चात
मलाई किन याद आयो मेरो पुर्खाहरूले आर्जेको
मेरो अस्तित्व र पहिचानको आदिकालीन् यादहरू
तरपनी मैले त्यागेको छैन स्वाधिन देशको नागरिक अधिकार
र साटेको छैन नयाँ निलो चिल्लो पासपोर्टसँग आफ्नो पहिचान
यद्धपी म सहिदहरू जस्तो देशभक्त नेपाली होईन
जो देशको लागी एकपटक मरेर सहिद भए
तर बाँच्नेले यो बुझुन कि बाँच्ने त यहाँ पटक पटक सहिद हुनुपर्दोरहेछ
प्रवासी भएर बाँच्नु
समकालिन युगको नविन सँस्कृति भयो होला
जो कोहीलाई पनी अब आँखा च्यातेर हेर्न मन हुन्छ
समृद्धीको ऐनामा क्यापिटलिस्टहरूको कस्मेटिक अनुहार
त्यही सुन्दर कुरूप अनुहार भएजस्तो होला
मैले बेचेको मेरो श्रम र पसिना केवल बाँच्नको लागी मात्र थियो भनेत बाँच्नको लागी मैले आफुलाई किन बेच्थे र ?
बल्ल पो थाहा पाउदैछु कि हामीलाई त ईतिहासमै शासकहरूले बेचिदिएको पो रहेछ
ओ मेरो पुर्खेउली विर योद्धाहरू
किन कस्को लागी मर्न र मार्नु तम्सियौ ?
तिमी कसरी बुद्धी नभएको विर भयौ
नाथे विरताका प्रतिक आडम्बरी तक्माहरू
मिल्काईदेउ कृतिम थेम्स नदिको किनारमा
र बकिँगहम दरबार अगाडी उभिएर प्रश्न गर
ईतिहासमा हाम्रा पुर्खालाई कतिमा बेचियो र किन बेचियो ?
अब म साहस गर्दछु
मेरै श्रम र पसिनाले सिन्चित
आफ्नै गाउँको बन्जर भुमिमा
मेरा पुर्खाहरूको सपना फलाउछु
यद्धपी म अहिले हिडिरहेको छु उज्यालो सफा सडकछेउको
फराकिलो बाटोमा र फेरिरहेकोछु ताजा हावा
मेरो देशको साँघुरो बाटोमा म अटाईन
त्यसैले भासिंए भुईकुईरोको जंगलमा
म आफुलाई सुरक्षित यसकारण ठानुला
कि मसँग सुरक्षित सरकारी जागिर होला
र होला थप केही आरामदायक सुविधा
तर पनी मनमा एकभारी पिरहरूको पहाड बोकेर
म सम्झिरहेको छु मेरा पुर्खाहरूले आर्जेको नासो
म सम्झिरहेको छु मेरा पुर्खाहरूले आर्जेको खेतबारी
म सम्झिरहेको छु मेरा शिशुबातसल्यका शुलभ स्पर्श
म त भुईमान्छे अवस्य फर्किन्छु आफ्नै भुमी कुनैदिन
बेगले पखेटा फिजाएर दक्षिण दिशातर्फ कुनैदिन
किनभने मेरो पसिनाको गन्ध
मेरा आदिवासी पुर्खाको रगतसँग मिसिएको छ
अनी मेरो छालाको रँग जंगली फुलको गन्धसँग मिसिएको छ
यस पृथ्विको आदिम आदिवासी जनजाति हुँ म
साल नालसहितको मेरो पहिचानको जरा गाडिएको छ
आफ्ना पुर्खाहरूको माटोबाट बग्ने तातो बताससँग
अहो ! कोशौ दुर माटोभित्र दबिएको
मेरा पुर्खाहरूको आवाजले मलाई डाकिरहेछ
एकदिन म फर्किन्छु मेरो गाउँ
बनाउछु भुईचालोले भत्काएको पुर्खाहरूको घर
फेरी फलाउछु कोप्चे-बिमरे-आहले खेतमा सयमुरी धान
फेरी उमार्छु आफ्नै बारीमा जुनेलो-मकै-गहत-मसेँग र बदाम
फेरी रोप्छु डाँडा खण्डमा बर-पिपलको बिरूवा
फेरी छर्छु गैराबारीमा तिल-तोरी र फापरका बिउ
चिउरीको घिउमा पकाएर चाम्रे
सालको दुना-टपरीमा सजाएर आलुचना
जाँग्ली सुँगुर ढाल्छु र रक्सी पार्छु र गाउले डाक्छु
म गाँउ फर्केको उपलक्ष्यमा विशाल उत्सव मनाउछु
म त्यही मेरो पुरानो पुर्खाहरूको गाउँ सम्झिरहेको छु
मलाई याद छ बिम्रे खोलामा असला माछा मारेको
मलाई याद छ ढाडे खोलामा गडेला ढुँग्रोमा थापेको
मलाई याद छ माटोको देवलबाट उम्रेको चिचिम्रा
अघिल्लो रात भुटेर नाँग्लोभरी फिजाएको
र भोलीपल्ट छिप्पेको जाँडसित खाएर अघाएको
मलाई याद छ निभराको रूखमा चढेर सुसेली हालेको
मलाई याद छ जरूवाखोलाको चिसो पानीले प्यास मेटाएको
मलाई याद छ भोटेनी थाप्लाको ढुँगामा बसेर बस्तु चराएको
मलाई याद छ प्रथम प्रहर गोठ सारेको
अन्तिम प्रहर माली गाईले बाछो बिआएको
मेरो मुखमा माली गाईको बिलौतीको प्रथम स्वाद अझै छ
खेत जोत्ने एक हल बर्ने र कलुवा गोरूको याद अझै छ
धेरै यादहरूको दस्तावेजमा मलाई याद छ
मेरो जेठा दाई पृतमान जेस्पुचा
लामपाते खोला खरपाखा छेउमा कतै सुतिरहनु भएको छ
चिर निद्रामा…
धेरै यादहरूको दस्तावेजमा मलाई याद छ
मेरी माईली दिदी भिमा जेस्पुचा
कोप्चे खेतको डिलपाखा छेउमा कतै सुतिरहनु भएको छ
चिर निद्रामा…
एकदिन म फर्कन्छु मेरो पुर्खाहरूको गाउँ
लैजान्छु परदेशमा गाडेको मेरो बाउको चिहानबाट
एक थुप्रो माटो र लगेर गाड्छु मेरै पुर्खाहरूको माटोमा
खुपेन सुनुवार
हाल : वेलायत