ओ, साम्राज्ञी साहिबा !
हजुरको राइफलको नालवाट नदेखिने
मेरो एउटा अदेखा दुश्मन छ
मेरो छातीमा गोली ठोक्छ
म चाहीं उसलाई सलाम हान्छु
र उसको दुश्मनसंग
पटक-पटक युद्व लड्छु
अनि,
हजुरको बाहुलीबाट भिसीको तक्मा थाप्छु
र आफैसंग युद्ध हार्छु
ओ, महारानी साहिबा !
हजुरको दूरवीनभित्र नभेटिन
मेरो एउटा अदभूत शत्रु छ |
यही खुकुरी हो,
जसले जापानीको टाउको काट्यो
अंह, त्यो दुश्मन मेरो थिएन
यही राइफल हो,
जसले जर्मनी ढाल्यो
अंह, त्यो शत्रु पनि मेरो होइन
ओ, महारानी साहिबा !
मेरा पिताको रगतले धमिलिएको इरावती
अझै पनि आमाको आँखामा सङ्गलिएको छैन
मेरा पुर्खाको लाससंगै बगेको सिताङ्ग नदी
अझै पनि मेरो छातीमा रोकिएको छैन
लोग्नेको पर्खाइमा शान्तिमाया लिम्बूको तपस्या
अझै पनि गाउँको बाटो भएर फर्किएको छैन
कहाँ गए सन्त बहादुर लिम्बु ?
कहाँ हराए मकर ध्वज राई ?
हजुरको भोको सिपाही ऊ
भोक-भोकै बकिंघम दरवारको गार्ड गर्दैछ कि !
भोकसंग लड्न भोक हड़ताल गर्दैछ ?
कि मानव अधिकारको अदालतमा मुद्दा हार्दैछ ?
हजुरको सूर्य नअस्ताउने देशमा
हरेक दिन एउटा घाम झुल्किन्छ
र त्यही घामले मेरो अनुहार छेलिन्छ
र त्यही नयाँ दिनले मसँग पुरानो झेल गर्छ
ओ, साहिबा !
धातु पनि आफन्तको न्यानोले पगलिन्छ
ढुङ्गो पनि दुखीहरुको आँशुले गिलोगिलो हुन्छ ।
हजुरलाई थाहा छ ?
हजुरको दरवारको झिलिमिली वतीको प्रकाशमा
मेरा पुर्खाहरुको रगतको उज्यालो छ
हजुरको राजमहलका भित्ताहरुमा कुँदिएका
मेरी आमाका सपनाका बुट्टाहरु छन्
म मेरा पसिनाको रङ्ले
हजुरको राजमुकुटको हिरा-मोति चम्काउँछु
म मेरा रगतका थोपा-थोपाले
हजुरको युनियन ज्याक रङ्गगाउँ छु
अनि,
हजुर हरेक रात मस्त
मेरा पिताका हड्डीका पलंगमाथि
मेरी आमाको कलेजोको सिरानी हालेर सुत्नु हुन्छ
मेरा दुधे नानीहरुका नाङ्गा आङ्ग
र सपना देख्ने आँखाहरु ओछ्याएर निदाउनु हुन्छ
र मेरा बचेराहरुको भोकको आर्तनाद छल्न
हजुर बेस्कन घुर्नु हुन्छ
हजुर बेस्कन सर्दीले खोक्नु हुन्छ ।
हौ, त्यही दरवार अघि म
आकाश भएर आँखामा झर्छु
र हजुरलाई छातीमा छाम्छु
– हृदयमा खोज्छु,
ओ, साम्राज्ञी साहिबा !
हजुर अब मेरो हृदयको मालिक होइन
पत्थरको सालिक भइसक्नु भयो – सालिक !
सालिक !
जसको आँख छ, तर देख्दैन
जसको कान छ, तर सुन्दैन
जसको मुख छ, तर बोल्दैन
जसको छाती छ, तर मुटु छैन
जसको टाउको छ, तर चेत छैन
जसको भावना छैन र संवेदना पनि छैन
ओ, महारानी साहिबा !
हजुरको साम्राज्यको पर्खालले छेलिएको
मेरो पनि एउटा सानो देश छ,
अनि,
त्यो देशको एउटा अनागरिक
– सदियौं देखि म यहाँ छु !
हजुरकै नाखको अघि छु
हजुरकै स्वासले भेट्नेगरी छु
हजुरकै परेलाले छूनेगरी छु
तर आगोसरी छु
ज्वालामुखीसरी छु ।
ओ, महारानी साहिबा !
हजुरको आँखिझ्यालबाट नदेखिने
मेरो एउटा अज्ञात दुश्मन छ
मेरो एउटा अजात शत्रु छ ||
बेलायत/ वेल्सवाट |
Like
Comment
Share