हातमा नाङ्गो खुकुरी लिएको एउटा मानिस सडकको बीचबाट अगाडि बढ्दै थियो । ऊ छिटो-छिटो हिँड्दै थियो र उसका हरेक डेग राम्ररी भर परेर हिँड्दै थिए । पाइलाको प्रत्येक चालमा हातको चम्किलो सुकिलो खुकुरी सूर्यको चम्किलो प्रकाशले टलक्क टल्किन्थ्यो । ऊ एक सुरले अगाडि बढ्दै गयो, बढिरह्यो ।

पेटीमा हिँडिरहेका दुई जना भलादमी ठिङ्ग उभिएर उसलाई हेरे । दुवै जना आश्चर्यचकित भए ।

दुईमध्ये एउटाले भन्यो- “पक्का पनि यसले कसैलाई काट्छ ।”

अर्कोले भन्यो- “आँखा देख्नुभएन कस्तो डरलाग्दो थियो ? जोसुकै अगाडि परे पनि ‘हानिहाल्ला जस्तो ।”

“दाजुभाइको झगडा होला ” पहिलो भलादमीले अडकल काट्यो । नत्र जतिसुकै ठूलो से ठूलो शत्रुलाई पनि मानिस काटिहाल्न सक्तैन ।

‘हो नि त’ समर्थन गर्दै दोस्रोले शङ्का प्रकट गर्यो, “तर दाजुभाइको झगडा त घरभित्र पो हुन्छ । नछुट्टिंदैमा पो हुन्छ । यति टाढा गएर मार्ने त आवश्यकता पर्दैन, फेरि हत्या सोची-बिचारीकन हुँदैन । एउटा यस्तो क्षणमा मानिसले हत्या गर्दछ जब उसको मगज एकपलको निम्ति शून्य हुन्छ । यत्रो लामो बाटो हिँडेपछि हत्या गर्ने प्रवृत्ति सेलाएर जान्छ । हत्या गर्न नै सक्तैन ।”

दुवै अगाडि बढे ।

“त्यसो भए के होला त ?” – पहिलोले सोध्यो ।

अचेल झगडाको सानो बीउले एउटा राष्ट्रको अर्को राष्ट्रसँग लडाइँ हुन सक्तछ भने एउटा व्यक्तिगत झगडालाई केको ठूलो निहुँ चाहिन्छ र । एकछिनपछि उसले फेरि थप्यो – “साहूसँग किनमेल गर्दा नै झगडा भयो होला । अचेलका पसले पनि त उस्तै टिम्मुरिया हुन्छन् नि ! भन्छन्- ‘लिने भए ले नभए ला ।’ तपाईं-हामीजस्तो काँ झगडा गर्नु भनेर या त खुरुक्क किन्छौं अथवा सुरुक्क अगाडि हिँडिदिन्छौं । तर सबै त्यस्ता हुन्नन् । भन्छन् ‘यतिमा, तैंले दिनैपर्छ ।’ साहू त पानीमरुवा हुन्न भने किन्ने मानिस त किन भइरहन्थ्यो । बस के थियो, भनावैरी हुन्छ, झगडा बढ्छ । आमा, दिदी, बहिनी र यहाँसम्म कि आफ्ना-आफ्ना स्वास्नीसमेतलाई साछी राखेर फोहोर गाली गर्न लाग्दछन् । यसले भन्यो होला- ‘हेर साहू, धेरै बढेर बोलिस् भने झापड खालास् ।’ उसले भन्यो होला- ‘तँ जाबो लोफरलाई, दु:खजिलो गरी छिँडीमा बस्ने सिपाही के गरिहाल्छस् त !’ सिपाहीको भावुकतालाई चोट लाग्यो होला र घरबाट खुकुरी लिएर आयो होला ।”

एकछिन दुवै चुप्प लागे । दुवै यही घटनाको विषयमा बिचार्दै अगाडि बढे । दुवै सोचिरहेका थिए, त्यो नाङ्गो खुकुरी लिने साहूको पसलमा पुग्यो होला, साहू ग्राहकलाई जीरामरीच बेच्दै होला । त्यसले केहीबेरअगाडि सिपाहीसँग भएको झगडालाई बिर्सिएको होला । अर्को ग्राहकलाई उत्साहपूर्वक चामल नाप्दै ऊ भन्ठान्दो होला ‘आज त निकै बिक्री भो । सधैँ यत्तिकै बिक्री भो भने खिच्चा साहूजति धनी हुन कतिबेर लाग्छ ?’ त्यसै बेला ऊ अगाडि नाङ्गो खुकुरी लिएको मानिसलाई उभिएको देखेर तर्सियो होला, उसले भाग्ने प्रयत्न अवश्य गयो होला । तर भाग्नुभन्दा पहिले नै …

दुवै जना हिँड्दाहिँड्दै ठ्याक्क रुके, दुवैले एकैपल्ट भने- “हैन पुलिसलाई खबर गर्नु पर्दछ ।” अनि दुवै पुलिसअड्डातिर लागे ।

०० ०० ०० ००

पानको पसलमा दुई जना नवयुवकहरू नाङ्गो खुकुरी लिएर जाने मानिसलाई देखेर झस्किए । एउटा कहिलेकाहीँ कविता बनाउने गर्दथ्यो र अलिक भावुक थियो । उसले भन्यो- “त्यो कम्ती निर्दयी रहिछ, उसले यो प्रेमीको केवल हृदयको कदर गरिनछ, निर्मोही भएर चोट पुऱ्याइछ ।”

अर्को युवकले भन्यो- “यो सरासर अन्याय हो । मानिसलाई मानिसले मार्ने अधिकार छैन, यो हुन दिनु हुन्न ।”

पानपसलेले पान लगाउँदै अलि लापरबाहीसाथ भन्यो- “कहाँ हजुर, अचेलका आइमाई पनि त उस्तै हुन्छन् नि ! एउटालाई जालोमा फसाएर अर्कोलाई फकाउने कोसिस गर्दछन् । त्यस्तालाई यस्तै गर्नुपर्छ, त्यस्ताले यस्तै भोग्नुपर्छ ।”

“कहीं आफ्नो स्वास्नीसँग फसेको नाठोलाई पनि त काट्न हिँड्या होइन ?” दोस्रोचाहिँ युवकले भन्यो- “पक्का पनि त्यही हो । लोग्नेमान्छे स्वास्नीमान्छेलाई हत्त न पत्त काटिहाल्न सक्तैनन् ।”

दुई बिरा पान कविलाई दिएर अरू पान लगाउँदै पसलेले भन्यो- “हाम्रो मुलुकमा जार काट्ने चलन अस्तिसम्म पनि त थियो नि ! ऐन फेर्नासाथ मानिसको मन कहाँ फेरिन्छ र !”

कवि यो दृश्य देखेर भुलिएको थियो, उसको मगजमा नानाओली कुरा खेल्दै थियो, भन्यो- “झलमल्ल घाम लागेको बेला नाङ्गो खुकुरी नचाउँदै एउटा आर्कोलाई काट्न जाओस् र हाम्रो ऐनचाहिँ वाल्ल परेर मुख बाएर तमासा हेरिरहोस् । यो कदापि हुन दिनु हुन्न, यस्तो स्वतन्त्रता दियो भने भोलि तिनी हामीलाई काट्न हिँड्छन् ।”

कविले सोच्यो- ‘त्यो प्रेमीको सुकुमार मुटुमा प्रेमिकाले धोका दिएर ठूलो चोट दी होली ।’ कोही चोट खप्न सक्छ, कोही सक्तैन । कोही पागल हुन्छ, कोही जिन्दगीभर रोएर बस्छ, कोही आत्महत्या गर्छ, कोही हत्या गरेर बदला लिन्छ । तेस्रो नजर खोलेर हेर्यो भने ऐनले या त सबैलाई दण्ड दिनुपर्ने या त कसैलाई पनि नदिनुपर्ने । तर हाम्रो ऐन गलतलाई सजाय दिन सक्तैन, भन्छ बहुलाएछ । जिन्दगीभर रोएर बस्नेलाई सजाय दिन सक्तैन भन्छ, अभागी रहेछ । आत्महत्या गर्नेलाई सजाय दिन सक्तैन, भन्छ कठै बिचरा अपहत्ते गरेर मरेछ। तर हत्या गरेर बदला लिनेलाई ऊ सजाय गर्छ । पागल हुने रुने गर्छ । आत्महत्या गर्ने र हत्या गर्ने, सबैको कारण चाहिँ एउटै भए पनि सजायचाहिँ पाउँछ पहिलोले ।

उसले प्रकाशमा मित्रसँग सोध्यो – “भन त हाम्रो ऐनको कुन दफामा प्रेम नगर्नू भनेर लेखेको छ ? प्रेमको अन्त्य दुई किसिमको छ- वियोगान्त र संयोगान्त । संयोगान्त भयो भने त बेसै भयो, तर वियोगान्त भयो भने त ऊ पागल हुन्छ, या रोएर जिन्दगी बिताउँछ, या आत्महत्या गर्छ, या हत्या गरेर बदला लिन्छ । सबैले त ऐनको नजरले एकैनासको दण्ड पाउनुपर्ने । यसले मात्र किन दण्ड पाउनुपर्ने ? यसले मात्र किन दण्ड भोग्नु ? यसले हत्या गरेर बदला लिन सकेन भने यो पागल हुन्छ अथवा रोएर जिन्दगी बिताउँछ, या आत्महत्या गर्छ । हत्या गरेर बदला लियो भन्दैमा यसले के बिगार गयो ?”

कविका मित्रलाई पसलेले अर्को दुई बिरा पान दियो । उसको मुखमा पानको बुजो हुनाले अस्पष्ट आवाजले ‘हैन, हैन’ मात्रै भन्यो । दुवै युवक मनमा नाना किसिमका कुरा खेलाउँदै अगाडि बढे ।

दुवैले सोचे- ‘अब एकछिनमा ऊ आफ्नो प्रेमिकाको घरमा पुग्नेछ । प्रेमिका जवान होली, सुकुमार होली, राम्री होली । यसको आइपुग्ने समय नहुनाले ढुक्क परेर उसले आफ्नो छिमेकीलाई  झ्यालबाट इसारा गरेर बोलाई कोठामा राखेकी होली । दुवै हाँसी-हाँसी प्रेमका कुरा गर्दा होलान्, त्यसै बेला यो पुग्छ । प्रेमिका गिजिएर भन्ली- ‘तिमी मेरो मुटु, तिमी मेरो प्राण । ठुस्किएको अभिनय गर्दै ऊ भन्ला ‘मभन्दा ऊ धेरै असल छ, धेरै राम्रो छ, धेरै बाठो छ ।’ प्रेमीको काखमा टाउको राखेर प्रेमिकाले भन्ली – ‘उसलाई म माया गर्दिनँ । ऊ, बदमासले मलाई साह्रै दु:ख दियो, मलाई ठग्यो । ऊ खराब छ, नराम्रो छ, लाटो छ । बन्द ढोकामा उभिएर ऊ सुन्ला । क्रोधले लातले हानेर ढोका खोल्ला । हातको नाङ्गो खुकुरी…’

दुवै जना हिँड्दाहिँड्दै ठिङ्ग उभिए । कविको मन पनि फियो । दुवैले एकैपटक भने – “हैन पुलिसलाई खबर गर्नु पर्छ ।”

र दुवै पुलिसअड्डातिर लागे ।

चौरस्तामा उभिएको पुलिस हातमा नाङ्गो खुकुरी लिएर एकसुरले हिँडिरहेको मानिसलाई देखेर अकमक्क पर्यो । एक्लै गएर उसलाई समाती पुलिसअड्डामा लाने उसको हिम्मत परेन । उसले सोच्यो- ‘एक पलको पनि विलम्ब गर्यो भने एउटा निर्दोषीको प्राण जाने भो ।’ त्यसकारण मद्दत माग्न ऊ उत्तिखेरै पुलिसअड्डातिर दुगुर्यो ।

ऊ दुगुर्दै थियो र सोच्दै थियो कि कसलाई काट्न ऊ खुकुरी लिएर गएको होला ? एक घण्टाअगि डेराबाट ड्युटीमा आउँदा मदनेको घरमा उसले झगडाको कोलाहल सुनेको थियो । हल्ला सुनेर सडकभरि पनि मानिस भेला भएका थिए । ड्युटीलाई अबेर भएकोले उसले राम्ररी उभिएर कुरा बुझ्न पाएन । दिदी चकारेर फेरि पनि गाली गरिस् भने काट्नेछु, बुझिस् काट्नेछु- सम्म भित्रबाट आवाज आएको उसले सुनेको थियो । उसले भन्ठानेको थियो, ‘यस्तो झगडा त बराबर भैरहन्छ । तर त्यो झगडाको परिणाम यतिसम्म पुग्ला भन्ने उसले सोचेको पनि थिएन । अबेर भयो भने मदने काटिन्छ । उसले सोच्यो । ऊ झन् जोरसँग दगुर्यो ।

०० ०० ०० ००

नून किन्न भनी रातमाटेबाट आएका दुई जना ढाक्रे रित्तो डोको बोकेर घरको गरीबीको कुरा गर्दै लरलर आउँदै थिए । स्वास्नी, छोरा-छोरीलाई लुगाफाटा किन्न नून किनेर उब्जेको पैसाले पुग्छ-पुग्दैन भन्ने हिसाब गर्दै थिए । एकदम सामुन्ने नाङ्गो खुकुरी लिएर लम्किएर हिँडेको मानिसलाई आएको देखी तर्सिएर उनीहरू हत्तपत्त पेटीमा चढे । नाङ्गो खुकुरी लिएको मानिस लम्किँदै अगाडि बढ्यो । ढाक्रेहरूले पेटीबाट फर्किएर उसलाई क्वारक्वारती हेरे ।

“देखिस् लाटा,” एउटाले भन्यो- “पक्का पनि यसले कुन चाहिँको गर्धन छिनाल्छ।”

“रात्तै नेपालमा भलादमी छन्, भन्याँ त याँ पनि हाम्रा पहाडका जस्ता हुँदा रैचन् ।”

“जहाँका पनि मान्छे मान्छे नै त हुन् नि” पहिलो ढाक्रेले भन्यो- “ञाँका त झन् सफेदी घरमा बस्ने मानिस ढुङ्गाभन्दा सारा मुटुका हुन्छन्, झन् गरीबलाई भनेपछि त जाँचेर छाड्छन् । देखिनस् हिजो ब्यान टुँडिखेलमा ओइला चढेर भद्रयाक-भद्रयाक कुदेको । उसका पछाडि कतिका घोडा, कतिका नाङ्गले गाडी (साइकल) दुगुराउँदै थिए। ओइला चढ्नेले उसैलाई सलाम बजाउन दगुर्ने एउटा मानिस-बिचरा जसको खप्परबाट रगतको भल बगेको थियो उसलाई नै झन् भन्नु-नभन्नु भन्यो । त्यत्तिले पुगेन भनेर हातको सिर्कनाले पो त ठटाउन लाग्यो ए ।”

एकछिनपछि उसले थप्दै भन्यो- “ अनि तैं भन् न त्यो खप्पर फुट्नेलाई झोक नउठोस् ? यसलाई पनि त्यस्तै कुनै पीर पर्यो होला ? तैं त बुझ्दैनस्, यिनीहरू बाहिर देख्ता मात्रै नौनीका डल्लाजस्ता हुन्छन्, भित्र त …” दुवै ढाक्रे अगाडि बढे ।

अर्को चाहिँ ढाक्रे साथीको कुरा सुनी अचम्म मानी मनमा कुरा गुन्दै हिँड्दै थियो, एकछिनपछि भन्यो- “काट्ला त ।”

“किन नकाटोस् त ।” जान्नेसुन्ने गरी अर्को ढाक्रेले भन्यो- “हामी जस्ता पानीमरुवा हुन् त ? यी सदरिया हुन् सदरिया । यहाँका मान्छे हामी तैंले जिमुवालको अगाडि लुत्रे कान लाएर लत्रिया जस्तो लत्रिँदैनन् । नियाँ भनेपछि जर्नेल होस् कि कर्णेल होस् ।”

साथीलाई दोधारमा पारेर ऊ पनि त्यो खुकुरी लिएर जाने मानिसको विषयमा सोच्न लाग्यो ।

०० ०० ०० ००

पुलिसअड्डाअगाडि उभिएका तीनवटा रातो लरीमा भित्रबाट हतारिंदै बन्दुक बोकेका पुलिसहरू हत्तपत्त चढे । एउटा लरीमा चढ्ने इन्स्पेक्टरले कराएर अरू दुई लरीका पुलिसलाई अडर दियो- “एउटा लरी रानीपोखरी भएर दरबारस्कूलको पल्लापट्टिबाट भित्र पस्नू र अर्को दरबारस्कूल वल्लापट्टिबाट पस्नू, हामी सोझै जान्छौं ।”

तीनैवटा मोटरले एकै पटक धुवाँ फ्याँक्यो अनि एकैपटक तीनै वटा मोटर हूल गरेर चढेका पुलिसहरूलाई निकाल्दै आफ्नो-आफ्नो टुङ्गोतिर लागे ।

इन्स्पेक्टर चढेको लरीमा खबर दिन आउने चौरस्ताका पुलिस मान्छे चिनाउन भनी हिँडेको थियो । लरीको तेज गति र सडकको दशाले गर्दा चढेका सबै निफनिएर भए तापनि सबैको नजर भर्खर उम्किएको हरिण खोज्ने सिकारीका जस्तो टाढा सडकमा परेको थियो ।

“ऊ त्यै हो” – चौंरस्ताको पुलिसले टाढा जान लागेको नाङ्गो खुकुरी लिने मानिसतिर औंलाले देखाएर चिच्च्यायो । भित्री दृष्टिले इन्स्पेक्टरले हुटबाट हेर्दै अडर दियो – ‘टेन्शन’।

सबै पुलिस सतर्क भए । इन्स्पेक्टरले फेरि भन्यो- “पहिले टाढैबाट खुकुरी फ्याँक्नलाई भन्नुपर्छ । मानेन भने ब्लैङ फायर गर्ने अडर दिन्छु, त्यसमा पनि मानेन भने जख्मी पारेर समात्नुपर्छ । अडरबेगर तपाईं फायर नगर्नू ।”

तबसम्म तीनवटै लरी तीन कुनामा देखिए, नाङ्गो खुकुरी लिने हत्यारा बीचमा थियो । ऊ छिटो-छिटो हिंड्दै थियो र उसका हरेक डेग राम्ररी भर परेर हिँड्दै थिए । हरेक पाइलाको चालमा उसको हातको चम्किलो सुकिलो खुकुरी सूर्यको प्रकाशले टलक्क टल्किन्थ्यो । ऊ एकसुरले अगाडि बढ्दै थियो, बढिरह्यो । एकैछिनमा तीनवटै लरी हत्याराभन्दा ५०-५० गजको फासलामा रुक्यो । बन्दुक समाल्दै सबै लरीबाट फत्र्याकफुत्रुक पुलिसहरू उत्रिएर सहर जितेर कब्जा गर्न लागेका सिपाही जस्ता ठाउँ-ठाउँमा उभिए ।

हातमा नाङ्गो खुकुरी लिएको मानिस सरासर एउटा पसलभित्र पस्यो । उसले पसलेलाई भन्यो- “ए दाइ, यो खुकुरीलाई ठिक्क हुने सस्तो र बलियो दाप देखाऊ त ।’

‘खै हेरूँ’ भनेर पसलेले खुकुरी लिएर औँला नाप्यो । पसलभरि दापैदाप मात्र थिए । एउटा झुन्ड्याएको दापलाई निकालेर ग्राहकलाई दिंदै पसलेले भन्यो – “यसको दुई रुपयाँ/देशी छालाको हैन बिलायती चमडाको हो ।”

ऊ अकमकायो । ‘दाप त राम्रो छ, तर दुई रुपैयाँ म हाल्न सक्तैन । एक रुपैयाँ पर्ने दाप लिए पुगिहाल्यो नि । एउटा खुकुरी राख्नसम्म त हो नि, दाप नभएको खुकुरी केटाकेटीले चलाउँछन्, हातगोडा काट्लान् कि भनेर त दाप चाहिएको नि । बिलायती चमडा के काम चाहियो ? बरु एक रुपैयाँ बाँच्यो भने स्वास्नीलाई एक गज छिट लगिदिन्छु, एउटा चोलो हुन्छ ।’

बन्दुक लिएका पुलिसहरू हत्यारा उम्किन लाग्यो भनेर दुगुर्दै पसलतिर लागे ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *