शोभा शर्मा काठमाडौ

‘दमिनी भीर’ उपन्यासमा एउटा मम पसलको पनि कथा छ।
त्यो मम पसल काठमाडौँको भृकुटीमण्डपमा पर्छ, सार्वजनिक पुस्तकालयको छेउछाउ।
‘त्यतै बसेर गफ गरौं,’ ‘दमिनी भिर’का स्रष्टा राजन मुकारुङले भने।
बधाई दिनेहरूको घन्टी मोबाइलमा थामिनसक्नु छ, राजनलाई एकछिन फुर्सद छैन।
‘दमिनी भीरले मदन पुरस्कार पायो बधाई छ ।’
उनी अनुहारभरि मुजा पारेर मुस्काए। उनी त्यसै गद्गद् थिए।
अघिल्लो दिन उनी भृकुटीमण्डप छिरिरहँदा साहित्यकार कृष्ण अविरल त्यहाँबाट बाहिरिँदै थिए।
मुकारुङले सुनाए, ‘उनी तिनै साहित्यकार अविरल हुन् जसले दमिनी भीर बजारमा आएको अलि दिनपछि यसैलाई व्यंग्य गरेर सामाजिक सञ्जालमा लेखेका थिए। पछि जनजातिहरूले उनको चर्को विरोध गरे। ज्यानै लिन्छौँ भन्ने टाइपका! अनि उनले स्टाटस डिलिट गरे।’
तिनै अविरलले शनिबार भने, ‘ओहो! कविजी बधाई छ, दमिनी भीरले मदन पुरस्कार पायो ।’
मुकारुङले पत्याएनन्। ‘यो किताबलाई उनले त्यसरी उडाएका थिए, के साँचो बोले होला र भन्ने भएर पत्याइन।’
अविरलले साँचो भनेका रहेछन्। केही बेरदेखि त उनलाई बधाईको ओइरो लाग्न थालिहाल्यो।
मम पसलअगाडिको चौरमा बसेर मुकारुङ सुनाउँदै थिए, ‘दमिनी भीर’ लेख्दाको कहानी।
यसैबीच एउटा फोन आयो। उनले भने, ‘त्यस्तै हुँदो रैछ, राईले फोन गर्दा राईले मदन पुरस्कार पायो है भन्दा रैछन्, जनजातिले फोन गरे, लौ जनजातिले पायो है भन्छन्, पूर्वेलीले फोन गरे पूर्वेलीले पायौ है भन्छन्, गाउँलेले फोन गरे गाउँलेले पायो है भन्दा रैछन्, एउटै पुरस्कार हो है भाइ।’ अनि उनि खितित्त हाँसे।
‘अहिलेसम्म म लेखकका रुपमा बिग्रेको छैन, मदन पुरस्कारले बिगार्छ कि क्या हो!’ उनको आवाजमा ठट्टा मिसिएको थियो।
उनले यो पुरस्कार त्यसका पात्रहरूले पाएको बताइसकेका छन्।
भोजपुरको दिल्पानागी गाविस– २ मा पर्ने ‘दमिनी भीर’ माथिको गाउँमा उनी ३९ वर्षअघि जन्मेका हुन्। उमेर सोध्दा उनले राई पारामै भने, ‘बुढो भैयो नि बैनी हो …।’
उनले स्कुल गाउँमै पढे, आइए भोजपुर सदरमुकाम र बीए पढ्न काठमाडौँ झरे। कवि त उनी स्कुल पढ्दै भइसकेका थिए। ‘स्कुल क्याम्पसका प्रतियोगितामा म जहिल्लै फस्ट भएर पुरस्कार पाउँथे,’ उनले आफ्नो कवितायात्रा सम्झिए।
तीन वर्षअघि उनी आफ्नो पहिलो उपन्यास हेत्छाकुप्पाको दोस्रो भाग लेख्ने सुरमा थिए। जब उनको प्रमुख पात्र ‘दमिनी भीर’ पुग्यो, शीर्षक नै बदलियो। शीर्षकमात्र होइन, विषय र पात्र नै फेरिए, उपन्यास अर्कै भयो– ‘दमिनी भीर ।’
‘यो उपन्यासका पात्रहरू सबै रियल हुन्’ भृकुटीमण्डप पछाडिको चौरमा बसेर उनले भने, ‘ऊ त्यहाँ हामीले मम खाने गरेको ठाउँ छ, त्यो उपन्यासमा पनि छ, त्यसले पनि पुरस्कार पायो ।’
तपाईंलाई केले लेखौँ लेखाँै बनाउँछ?
‘पात्रले !’ उनले भने, ‘प्रत्येक मान्छेसँग आफ्नै आफ्नै आख्यान हुन्छ, तर भेटमा जुन पात्रको प्रस्तुतिले ट्याक्कै मन छुन्छ, त्यसको पछि म लागिहाल्छु।’
उनका उपन्यासमा सवाल्र्टनका कथा हुन्छन्, जातीय र सांस्कृतिक चेतका कुरा उनले आफ्ना कथामा बुन्छन्। सायद उनलाई तिनैले छुन्छन्।
‘दमिनी भीर’कि पात्र हाङ्दिमाको रियल कथाले मन छोएपछि राजन तीन महिनासम्म ती पात्रको पछि लागेका रैछन् । ‘तीन महिनासम्म म उनलाई प्रेम गर्छु नै भनेर पछि लागेको थिएँ,’ उनी जोस्सिए।
त्यसपछि त ती पात्रले उनलाई डायरी नै लेखेर दिइन्। ‘उनी कलाकार हुन्, भए पनि उनका पनि आफ्नै कथा छन् नि होइन?’ मुकारुङले ‘दमिनी भीर’की प्रमुख पात्रलाई सम्झे, ‘मैले भेट्ने बेलातिर उनी अभिनय गर्नै नसक्ने, केही काम नै गर्न नसक्ने।’
उनको त्यो अवस्थाले मुकारुङको कवि हृदय छोइहाल्यो। लेखक पात्रका पछि लागे। ‘दमिनी भीर’ को कथा बुन्दै गए।
रियल पात्रबारे सोध्दा उनले भने, ‘धौले कान्छो र लक्ष्मी मेरा छिमेकी हुन्।’
पैसा नभएर उधारोमा खाएको होटलकी साहुनीलाई समेतलाई उनले पात्र बनाइदिएका छन्। कथाले जो उनको मन छोएको थियो।
२०५६ सालतिर राजन मुकारुङ, उपेन्द्र लिम्बु र अर्का हांगयुग अज्ञात भन्ने साथीहरूसँगै बरालिन्थे, पढ्थे, गफ मार्थे र रक्सिन्थे सँगै।
मनभरि केही गर्ने हुटहुटी थियो। त्यही हुटहुटीले सिर्जना गरेको थियो–सिर्जनशील अराजकता। यो आन्दोलन यी तीनजना जवान जनजातिहरूले हाँकेका थिए।
आन्दोलनले के गर्छ त?
उनीहरूले सल्लाह गरे, ‘एउटा कविता लेख्दा कम्तीमा एउटा मिथक र सांस्कृतिक चेत बोकेको एउटा कथाबारे लेख्ने।’ आफ्नो जाति र समुदाय सीमान्तकृतहरूको उत्खनन् गर्दै कविता लेख्न थाले।
उनीहरूको लडाइँ राज्यसँग थियो। उनीहरू राजतन्त्र र कुलीनतन्त्र विरुद्ध लड्थे । आन्दोलनको धुनमा उनीहरूले सबै सरकारी पुरस्कार र पत्रपत्रिकासमेत बहिस्कार गरे ।
उनीहरूलाई लाग्थ्यो, ‘तत्कालीन समयमा नेपाली साहित्यको दर्शन र सौन्दर्यचिन्तन एउटै थियो– खस! ‘अहिलेको साहित्य खस साहित्य हो।’ उनीहरु भन्थे, ‘सबै जातसँग मिथकहरू छन् र तिनमा आफ्नै सभ्यता हुन्छन्।’
यो आन्दोलनपछि उनीहरूलाई जातीयतावादी भनेर दुरदुर गर्नेहरूको कमी रहेन। उनीहरु पछि हट्ने कुरै भएन।
उनीहरूको सिको गर्दै अरुले पनि आफ्ना कृतिहरूमा सांस्कृतिक लहरै आयो। पछि राजनीति गर्नेहरूले नै उनीहरूका मुद्दा उठाउन थाले। अब त यो आन्दोलनका कुरा उनैका कृतिहरूले बोल्छन्।
‘सीर्जनशील अराजकता त्यत्ति हिट त भएन तर त्यसका लेखकहरू भने भयौँ,’ मदन पुरस्कार पाएर दङ्ग परेका राजनले भने, ‘हाम्रा कुरा पहिले त कसैलाई चित्त बुझ्दैनथ्यो, समय आउँछ, आत्तिनु हुँदैन, हाम्रा मुद्दा पनि त पछि समाजले डाइजेस्ट गर्दै गयो।’
ऋाफूलाई पहिले कम्युनिष्ट भन्न रुचाउने मुकारुङ अहिले माक्र्सवादी मात्र भन्न रुचाउँछन्।
दोस्रो जनआन्दोलनका बेला उनी खुब हिँडे आन्दोलनमा। एकदिन पुलिसले समात्यो, कुन पार्टीको भनेर सोध्यो। ‘आफ्नो पार्टीको नाम भनौँ भने पुलिसले झन कुट्ला भन्ने डर थियो, कवि हुँ भनेँ, म कवि पनि त हुँ नि,’ उनले सम्झिए।
तपाईँको पार्टी कुन थियो?
‘माओवादी।’ अहिले उनी माओवादी होइनन्, संघीय समाजवादी हुन् रे।
‘कम्युनिष्ट बन्न खोजियो भने आफ्नो भाषा, संस्कृति र पहिचान बिर्सिँदो रैछ,’ उनले भने, ‘२ वर्षयता मैले आफूलाई कम्युनिष्ट नभनेर माक्र्सवादी भन्न थालेको छु।’
उनलाई सानैमा एउटा चिनियाँ क्रान्तिबारे लेखिएको ‘चम्किलो रातो तारा’ भन्ने उपन्यास औधी मन परेको थियो। ‘त्यो पढेपछि मलाई पनि त्यही उपन्यासको नायकजस्तै बन्छु भन्ने थियो, पछि खै के के भैयो,’ राजनले भने।
राजन अहिले होलटाइमर लेखक हुन्।
जीवन त ठिकठिकै चल्छ। लेखेरै त के पुग्दो हो र खान उनलाई! उनका समुदायले निकै सजिलो बनाइदिन्छन् बाँच्न।
उनले लेखेका किताब देशभित्र र बाहिर भएको समुदायले झ्याप्पै किनिदिन्छन् एकमुस्ट!
उनले लेखेको ‘किराँत संस्कार’ भन्ने किताबको मूल्य सय रुपैयाँ थियो। किराँत संस्कारको कहानी भन्दै उनी मुस्काए, ‘त्यसले ४ वर्ष खुवायो, मूल्य सय थियो, मान्छेहरूले हजार दिन्थे, पढ्थे कि पढ्थेनन्, थाहा छैन तर आफ्नो संस्कृति जोगाउनुपर्छ भन्नेमा हाम्रा मान्छे एकमत छन् ।’

– See more at: http://setopati.com/kala/4137/#sthash.l64VIkMh.dpuf

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *