१. ब्रम्हाण्ड पो हौं
के भनेर पुकारौं
आमा – जननी ।
२. दया कि खानी
परिवार कि दासी
मायालु आमा ।
३. पीडा सहने
आमा हुन खातिर
हाम्री जननी ।
४. मृत्यु सहने
सन्तानका लागि
आँशु पिउदै ।
५. थकित ज्यान
भारी माथिको बच्चा
मृत्युको भय ।
६. रित्तो छ पेट
श्रीमानको कहर
अनिदो रात ।
७. भालेको डांको
नानी सुम्सुम्यायदै
नाम्लो थाप्लोमा ।
८. यन्त्र हो ज्यान
परिवार धान्नु छ
तीनै प्रहर
९. फाटेको चोली
उत्पिडनको टालो
कुरीति बढ्दो ।
१०. देखिन्छ भान्सा
खोई कसले खायो
बुहारी ब्रत
११. भोकले रोयो
थाल छ आधा खाली
सस्नेही आमा ।
१२. बिष सरह
बुहार्तन सासूको
पचाउनु पर्ने ।
१३. रोपियो भाला
समाजको नियम
रगत बग्यो ।
१४. नारीको ज्यान
ओछ्यानमा रे साथी
श्रीश्रीको आश ।
१५. प्यारी श्रीमती
छोराछोरीको साथ
बिर्सियो आमा
१६. जननी जन्म
स्वर्ग झैं हुन भूमि
मुखाग्र मात्रै ।
१७. आमाको प्राण
यमराजको ढोका
प्रसति व्यथा ।
१८. मधुरो दृष्टि
डांडापारि सन्तान
आमाको माया ।
१९. आमाको माया
सजाउने साधन
खुब कमायो ।
२०. खोज्दै सन्तान
गहभरि छ आँशु
खडेरी लाग्यो ।
२१. बगेन आँशु
लाशमाथि आमाको
बेअर्थ कोरा
२२. दानको खाट
जीवन भर आमा
चिसो भुइँंमा ।
२३. आमाको मुख
थार मरुभूमि भो
पितृ तर्पण ।
२४. छेउको हलो
जोत्दै जान्दा कुनामा
पालो आफैको ।
२५. आमाको व्यथा
लेखेर के सकिन्थ्यो
क्रमश आमा ….. ।
केशबलोचन शर्मा
चौतारा, सिन्धुपाल्चोक
१० बैशाख, २०७७