उहिलेको कुरा, तराईको केटा पहाड कुम्ले बिहे गर्न गएका थिए । तरकारी भात खाँदै दिनभरि हिड्ने राती वास बस्ने गर्दै चार दिनमा पुगेका जन्ति गन्तव्यमा पुगे । सालाको बिहेमा भिनाजु पनि थिए ।केटीको बाबुले जन्तीलाई छुट्टै घरमा बस्ने व्यवस्था गरिदिए । सिरक, डसना, काम्लो र भान्से पनि दिए । यो सबै चलनचाँजो देखेर भिनाजुले सालालाई भने : ‘रे बौवा, तेरा ससुराली पहाडकाका धनीमानी हुनेखाने जमिन्दार रहेछन् । रबाफै अर्कै छ । आज चाहिँ राम्रो मेजमानी हुने भयो हाम्रो ।’सालो निकै कुलखान्दानमा बिहे गर्न लागेकोले मुसुमुसु हाँस्यो र भन्यो ठट्टा हो र भिनाजु, लरतरो ठाउँमा म ‘हुन्छ’ त कँहा भन्थे र। भान्सेले खाना बनायो । धोति फेरेर सात जना जन्ति घुम्ने पिर्कामा बसे । झर्के थालमा माथिबाट घिउ राखेको भात, काँसको कचौरामा तरकारीको झोल, भातको छेउमा शिशीमा खादेको अचार थियो । भात देखेर जन्तिले मुखामुख गरे र मनमनै भने ः बाटोभरि यहि त खाएर आएको । हे भगवान, अहिले पनि तरकारी को झोल र भात ! मन मिचेर खाना खाए । भोलिपल्ट फेरि उही । भोलिपल्ट बिहान भिनाजुले भान्सेलाई भने ः ‘आज म आफै पकाँउछु, तरकारी तिमी ठिक्क पारिदेऊ, आलुलाई मसिनो र लामो लामो पारेर यसरी काट ।’ भान्सेले आफुले भने जस्तो आलु काट्न नजानेपछि भिनाजुले आफैले काटेर आलुको भुजिया पकाउन थाले । अलि धेरै तेल राखेर सुकेको खुर्सानी, जिरा फुराएर आलु भुट्न थाले । आलु पाकिसकेको थियो अझ झुरुम झुरुम बनाउन मसिनो आँचमा छोडेर यसो के उता गएको बेलामा भान्सेले आएर तरकारी डढ्यो भनेर पानी हालिदियो । तराईका भिनाजु तरुवा–भरुवा, भुटेको ट्वाक भएको धेरै परिकार खाएर हुर्केका, पहाडे भान्सेले आलुको भुजियामा पानी हालिदिँदा झन्नै बेहोस भए । मननै अमिलो पारेर पहाडको बिहे सकेर पन्ध दिनमा घर फर्कँदा भिनाजुले आलुको भुजियाको कुरा झिक्दै भने ः ‘हाम्रो बौवाले लरतरो त के खोज्थ्यो ! “चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” भनेजस्तै झण्डै भयो ।