नेपाली साहित्यका बहुआयामिक प्रत्तिभा सम्पन्न धरोहर, बुवा तिलमाधव देवकोटा र आमा अमरराज्य लक्ष्मी देवीको कोखबाट धोबिधारा, काठमाडौमा सन १९०९, १३ नोभेम्बरको दिन, लक्ष्मी पूजाको दिनमा जन्मेका थिए । केवल ५० वर्षमात्र बाँचेर सन् १९५९मा निधन भएका थिए । त्यसबेलाका महान लेखकहरू, लेखनाथ पौड्याल, बालकृष्ण सम, सुर्यप्रसाद ज्ञवाली, धरणीधर कोईराला र पारसमणि प्रधान साथै सिद्धिचरण श्रेष्ठहरूका तुलनामा उनको आयु लामो रहेन । केवल ५० वर्षको उमेरको निधनले नेपाली वाङमयलाई ठूलो क्षेती पुग्यो । अझ एक दशकजति बढि बाँचेको भए बहुआयामिक नेपाली साहित्यका सिर्जनाहरू उनीबाट धेरै जन्मन्थे भन्ने मलाई लागेको छ ।
उनको लेखनगति अभूतपूर्व थियो । यसको प्रमाण केवल तीनमहिनामा २४ अध्यायको शकुन्ताल महाकाव्य लेखेर सिध्याएकोले प्रमाणित गर्दछ । यतिमात्र होईन उनले दशदिनमा सुलोचना महाकाव्य, एकै रातमा कुन्जिनी खण्डकाव्य जस्ता सिर्जना, त्यैपनि छन्दोबद्ध गरी लेख्नु भनेको कविता विधामा विलक्षण प्रत्तिभा भएको मानिन्छ । उनी आँशुकवि थिए । घन्टाभरमा आफै कविता रच्दै लेख्न लगाउने महान कवि थिए । त्यसैले उनले महाकविको उपाधि प्राप्त गरेका हुन । यदि उनको जीवनको उत्तरचढावहरूको कारणले केहि अवरोधहरू नभईदिएको भए नेपाली साहित्यको भण्डारमा उनका अनगिन्ति थप सिर्जनाहरू भरिन्थ्यो । जति उनले आफ्नो बहुआयामिक प्रत्तिभाद्वारा नेपाली साहित्य भण्डारलाई कृतिहरू दिए ती कृतिहरूको स्पष्ट प्रभावले पछिल्लो समयमा नेपाली साहित्यले गति लिएको प्रत्तित हुन्छ । नेपाली साहित्य आकाशमा आफ्नै स्थान ओगटेर चम्किरहने उज्वल नक्षत्रलाई प्रत्येकवर्ष नेपाली साहित्य जगतले श्रद्धान्जली अर्पण गर्दछन । उनलाई सम्झने र श्रद्धान्जली अर्पण गर्ने परम्परा उनको लेखन प्रत्तिभा र नेपाली साहित्यलाई उनले दिएको योगदानको कारणले गर्दा नै हो । मान्छेले सिर्जना गरेका अमरत्वरुपी सिर्जनाका फूलहरूको युगयुगसम्म मगमगाईरहने वासनामयी अनुभूतिहरूले गर्दा नै मानिस अमर रहन्छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू नेपाली वाङ्मय जगतमा अमरमात्र नभई अजर रहेका छन् । यसैले हामी उनलाई सम्झन्छौ र हामीबिच उनी बाँचीरहेका छन् ।
आजभन्दा झण्डै ४७, ४८वर्ष अघि म शिलाँगमा स्नातक तहमा पढ्दा एकजना प्रोफेसर गोपीनारायण प्रधान सरले नेपाली साहित्य पढाउथे । महाकविको अन्तिम क्षणमा उनी काठमाडौँ आर्यघाटमा भेट्न आएको क्षणबारे मलाई उनले बताएका थिए । अहिले प्रोफेसर गोपीनारायण प्रधान बितेको पनि दशकौँ भयो । महाकविले आफ्नो अन्तिम समयमा मुनामदन बाहेक सबै उनका कृतिहरू जलाईदिनु भनेका थिए भन्ने शब्द पहिलोचोटी मैले उनबाट सुनेको थिएँ । स्व.प्रोफेसर गोपीनारायण सर भारतीयली नेपाली साहित्यका वरिष्ठ साहित्यकार तथा त्यस कालमा नेपाली साहित्यका एकजना अग्रपङ्तिका अभियान्ता थिए । हाम्रो लागि महाकविका सबै कृतिहरू मुनमदनमात्र नभई सबै नेपाली साहित्यको धरोहर बनेका छन् ।
लक्ष्मीप्रसाद देवकोटालाई जब जब तिहारको याम आउँछ सम्पूर्ण नेपाली साहित्य जगतले सम्झने गर्छन । नेपाली साहित्यलाई लगभग एक शताब्दि अघि नेपाली साहित्यको जग निर्माण गर्ने अवस्थामा उनको अभूतपूर्व योगदान रहेको थियो । नेपाली साहित्यको प्रेरणाको श्रोत देवकोटाको साहित्य सिर्जनाहरू पढ्दै साहित्यमा कलम चलाउने सर्जकहरू अहिले नेपालका विभिन्न साहित्यिक फाँटहरूमा कलम दौडाएर नेपाली साहित्यलाई विश्व साहित्यको संघारसम्म पु¥याएका छन् । नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा ल्याउने प्रभावकारी काम शुरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनका समकक्षी साहित्यकारहरूले नै गरेका हुन ।
उनलाई प्रायः साहित्यमा अभिरुची राख्ने प्रत्येक नेपाली मनले विशेष स्थान दिएको हुन्छ । उनको व्यक्तित्व, कृतित्व र जीवनीले नेपाली साहित्यमा पारेको प्रभावबारे सबैलाई महशुस भएको छ । उनको बारेमा र उनका कृतिहरूमा धेरैले रिसर्च गरिसकेका छन् । उनका बारेमा गरेका अनुसन्धानहरूबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वको बारेमा भन्नुपर्दा उनी एउटै व्यक्तिभित्र अनेक व्यक्तित्वहरू समेटिएका विशिष्ट विलक्षण प्रत्तिभा सम्पन्न, धेरै भाषाहरूको ज्ञाता, सर्वगुणले व्यप्त, धनीहुनु र गरिबहुनुको अनुभूतिलाई आफै भोगेर अनुभव गरिसकेका सर्जक जसले मानव चोलाबारे ज्ञान हासिल गरेर मानव संवेदनालाई चीरफार गरी आफ्नो सिर्जनामा घोल्न सक्ने क्षमतावान व्यक्ति थिए । उनी सबै वर्ग र क्षेत्रका विषयमा पोख्त एकजना दार्शनिक सरह आदर्श व्यक्ति थिए । भाषाको ज्ञान राम्रो भएको हुनाले सबैसंग घुलमिल गर्नसक्ने क्षमता भएको र आफ्नो बोल्ने शैलीबाट सहजै अरुलाई प्रभावमा पार्न सक्ने व्यक्ति थिए । उनी संंस्कृत, नेपाली, नेवारी, हिन्दि, उर्दु, अंग्रेजी (अंग्रेजीमा त उनले एम.ए. गरेका थिए), फ्रेन्च र जर्मनी भाषामा कविता लेख्थे ।
धेरै प्रसंगहरू र उनको अल्पायुमा मृत्यु हुनुको कारण उनले आफ्नो स्वास्थ्यप्रति ध्यान नदिने तर, एकहोरो आफ्नो सिर्जनामा फोकस दिनेखालका व्यक्ति थिए । हुन त उनलाई सन् ३०को दशकताका युवाअवस्थामा नै मानसिक रोगको कारण उपचारको लागि भारतको राँची जो अहिल्ये झारखण्ड राज्यमा पर्छ, लगेको थियो जहाँ उनको कलमबाट प्रसिद्ध कविता “पागल” सिर्जित भएको थियो । चुरोट धेरै पिउने अम्मली थिए । जुन चु्रोटको कारणले गर्दा क्यान्सर जस्ता घातक रोगले ग्रस्त भएर अल्पायुमा नै मृत्यु वरण गर्नु परेको थियो । उनी आफ्नो स्वास्थ्यको बारेमा वेपरवाह थिए । तर, परोपकार र अरुको अनुभूतिलाई तत्काल महशुस गरी सहयोग गर्ने उनको आचरण थियो ।
उनको सिर्जनाको द्रुतगति र क्षमतालाई विचार्दा उनी अल्पायुमा दिवंगत नभएको भए नेपाली साहित्यले अझ थप कृतिहरूको भण्डारण गर्न पाईन्थ्यो । समग्रमा उनको कृतित्वको बारेमा भन्नुपर्दा उनले जीवनको छोटो समयमा अर्जेका महाकवि मात्र नभई अव्वल गीतकार, पत्रकार, समालोचक, निबन्धकार, नाटककार, उपन्यासकार, कथाकार, अनुवादक, बालसाहित्यकार आदि साहित्यका सबै विधामा सिर्जना गर्न सक्ने बहुप्रत्तिभा सम्पन्न महान सर्जक थिए । त्यतिमात्र कहाँ हो र लेखक, वकिल, प्राधानध्यापक, सरकारी सल्लाहकार, अकादमी सदस्यदेखि मन्त्रिसम्म बनेर देशलाई सेवा गरे । यसैले गर्दा उनी अन्य लेखकहरूभन्दा भिन्न भएकै कारण उनको प्रभाव नेपाली वाङमयमा बेग्लै अनी पुज्यनीय छ ।
उनले मानवीयताको अनुभूतिलाई मध्यबिन्दु बनाएर आफ्नो चिन्तनलाई गहिरो रुपमा सम्बोधन गरी सबै मानिस एकैहुन र हामीले सदा धनीगरिब, सानाठूला सबैलाई समान दृष्टिले देख्नुपर्छ भनेर मानवताको अनुभूतिलाई चिरफार गरेर आफ्नो चिन्तनलाई शक्तिशाली बनाएको देखिन्छ । यहि नै देवकोटाको शक्ति थियो जसको प्रभाव नेपाली वाङ्मयमा प्रष्ट छ । साँच्चै भन्ने हो भने अहिले डायस्पोरिक साहित्यमा जतिको चर्चा महाकवि लक्ष्मीप्रसाद देवकोटाको छ त्यति अन्य साहित्यकारहरुको भएको पाईदैन । उनको देनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सन् २०१३मा प्रकाशित गरेको अनेक डायस्पोरामा देवकोटा पुस्तकले पुष्टि गर्दछ ।
म बेलायत आउनुपूर्व देवकोटा जयन्तीको कार्यक्रमहरूमा अनवरत् सहभागि हँुदै आएको थिएँ । बेलायतको बसाईमा पनि निरन्तर अनेसास बेलायत च्याप्टरद्वारा देवकोटा जयन्ती मनाउँदै आएको छ र प्रत्येकवर्ष सहभागिता जनाउँदै आएकोछु। महाकवि लक्ष्मीसाद देवकोटाले नेपाली वाङमायलाई प्रदान गरेका महान योगदानलाई कदर गर्दै हामी प्रत्येक वर्ष देवकोटा जयन्ती मनाउँछौ र श्रद्धान्जली अर्पण गर्छौ । केहि थान नेपाली साहित्यका कृतिहरू बढाउन हामी सबै सहभागिहरूले आफैले सिर्जना गरेर वाचन गर्दा सन्तुष्टि मिल्दछ । देवकोटा जयन्तीको दिनकै बहानामा हामीमा सिर्जना शक्ति आउनु भनेको नै महाकविले कतै प्रेरित गरिरहेको जस्तो लाग्छ । संसारभरी ३०, ३५वटा राष्ट्रहरूमा अनेसासको सन्जाल छ, त्यस्तै विश्व साहित्य महासंघ लगायत विश्वभरी नै अनेकौँ नेपाली साहित्यका संस्थाहरू छन् । ती सबै साहित्यिक संस्थाहरु र शैक्षिक संस्थानहरूमा प्रत्येक वर्ष देशभित्र र बाहिर देवकोटा जयन्ती मनाईने गरिन्छ त्यो नै देवकोटाको सशक्त साहित्यिक देनको प्रभाविकारिता हो भनेर बुझ्नु पर्दछ ।
कुनै न कुनै विषय वा व्यक्तिविशेषबाट महान व्यक्तिहरू प्रभावित हुने गर्छन । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि विश्वका महान कविहरू, लेखकहरूबाट प्रभावित थिए । उनी अंग्रजी साहित्यका महान कविहरू विशेषतगरी विलियम वर्डसवोर्थ, पिवि शेली, जोन किट्सहरूसंग प्रभावित थिए । उनका सिर्जनाहरूमा ती सर्जकहरूको छनक पाईन्छ । त्यस्तै उनको प्रसिद्ध कविता, “कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो”ले मलाई पहिलोचोटी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने भारतीय (१९१३) विजेता रविन्द्रनाथ टैगोरको गितान्जली कवितासंग्रहको एउटा कविताको झलक मलाई महशुस हुन्छ; “द्वार बन्द गरेर तिमी कुन भगवानको पूजामा मग्न छौ, आँखा खोलेर हेर, तिम्रो भगवान मन्दिरभित्र छैन” । अंग्रेजी भाषाको ज्ञाता, संस्कृतभाषामा पोख्त भएकै कारण उनले विश्वका महानतम् कृतिहरूको अध्ययन गरे र ती साहित्यहरूको प्रभावबाट नेपाली वाङ्मयमा धेरै सिर्जनाहरू गर्न सफल भए । उदहारणका लागि उनले सिर्जित महाकाव्यहरू क्रमशः ग्रिक माइथोलजीका पात्र प्रमिथस, संस्कृतबाट अभिप्रेरित शाकुन्तल, सुलोचना, राजस्थानका राजा महाराणाप्रताप, पृथ्विराज चौहान, शेक्सपियरका म्यकबेथको अनुवाद जस्ता कृतिहरू जन्माउन सफल रहे । उनका महाकाव्य, खण्डकाव्यहरु, कथाहरू, कविताहरू, गीतहरू, निबन्ध संग्रहहरू, उपन्यास, नाटक आदि गरेर झण्डै चार दर्जनकृतिहरूको हाराहारीमा अहिलेसम्म प्रकाशित भएको देखिन्छ । उनका कैयन कृतिहरू उनको देहवासन पश्चात प्रकाशित भएका पाउँछौ । उनको नेपाली भाषाको साहित्यिक योगदानमात्र नभई अंग्रेजी भाषामा पनि कृतिहरू छन् । यस्ता महान सर्जक नेपाली साहित्यले पाउनुपनि हामी सबैको अहोभाग्य हो भनेर बुझ्नु पर्दछ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा बुखारेष्टमा सन् १९५३मा आयोजित विश्व युवा सम्मेलनमा पूर्णबहादुर एम.ए.ले नेतृत्व गरेको १०जनाको समुहमा भागलिन गएको बेला उनले रुसको पहिलो भ्रमण गरेका थिए । त्यसपछि सन् १९५८सालमा दोश्रो पटक ताशकन्दमा आयोजित अफ्रो–एसियाली लेखक सम्मेलनमा भाग लिन रुस गएका थिए । देवकोटाले नेपाली साहित्यको बारेमा अंग्रेजीमा प्रस्तुत गरेको दस्तावेज रुसी भाषामा पनि अनुवाद भएको थियो । यहि दस्तावेजबाट नै पहिलोचोटी विश्वले नेपाली साहित्यकारहरू र साहित्यको बारेमा जानकारी प्राप्त भएको बुझिन्छ । उसरी यसभन्दा पहिले रुसी बौद्धिक व्यक्तित्व ईभान मिनाएभले नेपालको बारेमा रुसीभाषामा लेखेर १९औँ शताब्दिको उत्तरार्धतिर केहि प्रकाशनमा ल्याएका थिए ।
उनको पहिलो पटकको रुस भ्रमणदेखि पछिसम्मका साहित्यिक यात्राका समयहरूमा उनले दिलोज्यानले नेपाली साहित्यलाई विश्वको दाँजोमा पु¥याउने महान कार्य सम्पन्न गरिसकेका थिए । रुसी कृतिहरूलाई नेपाली भाषामा अनुवाद र नेपाली साहित्यका सिर्जनाहरू रुसी भाषामा अनुवाद गरी प्रकाशन गर्ने कार्य भईसकेको थियो. । यसको श्रेय महाकवि लक्ष्मीप्रसाद देवकोटा र त्यसबेलाका उनका समकक्षी साहित्यकारहरूलाई जान्छ । रुसी भाषामा सबैभन्दा बढी लक्ष्मीप्रसाद देवकोटाका १८वटा सिर्जनाहरू अनुवाद गरेर प्रकाशनमा ल्याईसकेका छन् । नेपाली साहित्यकारहरूमा सबैभन्दा बढि उनका कृतिहरू विश्वका धेरै भाषामा अनुवाद भईसकेको छ ।
आजभन्दा पाँचवर्ष अघि वरिष्ठ साहित्यकार गोभिन्द भट्टराईले नेपाली साहित्यको पुस्तकहरूमा सबैभन्दा बढि विश्वका लाईब्रेरीहरूमा राखिएका पुस्तकहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका छन भनेका थिए । यी महान लेखकबारे किम्बदन्ती नै बनेको छ । उनलाई मानसिक रोगको उपचार गर्ने चिकित्सक ले.कर्नेल डा. वर्कले हिलले, “महाकवि नेपालमा जन्मिनु भनेको भौगोलिक भुल अर्थात जेओग्राफिकल एरर” भनेका थिए । प्रसिद्ध नाट्यकार, बालकृष्ण समले उनको मृत्यु पश्चात “देवकोटा तीनपटक जन्मे, मुनामदन सित, शाकुन्तलसित र पागलसित” भनेर उद्धृत गरेका थिए । प्रसिद्ध समालोचक कृष्णचन्द्र प्रधानले, “देवकोटाको मृत्यु सरकारको बेथिति र गलत रवैयाको कारणले गर्दा भएको हो” भनेका थिए । उनको बारेमा भन्नु र लेख्नु भनेको उनको योगदान र नेपाली साहित्यमा उनले छोडेको सिर्जनाहरुको प्रमावले गर्दानै हुन ।
अन्तमा देवकोटाको लेगेसीलाई अनवरत् संरक्षण गर्दै नेपाली भाषासाहित्यलाई विकाश गर्ने अहिलेको पुस्ताको पालो हो । उनको बारेमा जतिभनेपनि कम्ति नै हुन्छ । उनको बारेमा अझ व्यापक अनुसन्धान गरी नेपाली वाङमयलाई आगडि बढाउनु पर्छ र उनका कृतिहरूको अनुवाद विश्वभरीका अन्य भाषाहरूमा मात्र नभई नेपालमा बेलीने अन्य भाषाहरूमा समेत अनुवाद गरिनुपर्छ भन्ने मेरो हार्दिक अनुरोध छ ।
उहाँ वरिष्ठ साहित्यकार तथा समाजसेवी र डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको
संंस्थापक अध्यक्ष तथा संरक्षक हुनुह्नुन्छ ।