जब पश्चिमाकाशमा अस्त हुने सूर्यले
रक्तिम लालीयुक्त पदचाप छोडेर विदा लिन्छ
शनै: शनै: उज्यालो निल्दै आउने
शुन्य रातको कालिमाको आभासमा
मेरो अशान्त मनको बेचैनी झनै बढछ
मनको अन्तर कुन्तर विरक्तिन्छ
एकोहोरो सुसाइरहेको खोला
झ्याउँकिरी र किराहरुको किरकिर
कतै रोईरहेको कुकुरको आसक्त आवाज
अनि आँगनमा खस्दै गरेको रातको कालिमा
मानौ यिनै निरर्थक कोलाहलले
जीवनको लय भंग भएको छ
बेसुर, बेमतलब र कुण्ठित
अनुभूति भरिन्छ मनभरी
जस्तो म कतै बाटो बिराएको थकित बटुवा,
वा गोसखानमा पालो कुर्दै गरेको कुनै जानवर
कुनै बिषाद नजरमा खस्न लागेको आँशु
वा निभ्न लागेको निश्तेज दियो,
एउटा अनाम संत्रासले गुम्सिएको छातीभित्रबाट
फुस्किन्छ एउटा थकित उच्छश्वास
मानौ त्यो अन्तिम सर्को श्वास हो
अब फर्कनेछैन मेरो फोक्सोमा फेरी त्यो
चल्न छोडनेछन मेरो मुटु र इन्द्रियहरु
म निष्प्राण बन्नेछु र मृत घोषित हुनेछु
म यथार्थ र कल्पनाको भुमरीमा अलमलिन्छु
सोच्छु, कस्तो विरक्ती हो यो?
कि जीवन प्रति मेरो संकिर्ण सोच?
या त जीवनको सुन्दरताप्रति अशोभनिय घृष्टता?
स्थिर जिन्दगीको अस्थिर मन आखिर
सकरात्मक र नकरात्मक सोच माझ पेण्डुलम बन्छ
मलाई यो तलाउको पानी झै स्थिर मन र जीवन
घरी घरी त हदै विरोधाभासपूर्ण लाग्छ
म आफ्नै कवितामा आफै अन्योलग्रस्त बन्छु
क्षणिक आवेगको निकृष्ट सोचमा
कोरिएको कवितामा जिन्दगी हुन्छ र?
के जिन्दगी कविता जस्तै हुन्छ र?